भृकुटीमण्डपलाई व्यवस्थित बनाउने सरकारको योजना दबाउने काम नहोस् : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । भृकुटीमण्डपमा आजदेखि १० औं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अन्तर्राष्ट्रिय व्यापार मेलाले नेपाली नेपाली उत्पादनको अन्तर्राष्ट्रिय व्यापारीकरण र मुलुकको अर्थतन्त्रमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए। 

उनले नेपाली वस्तुको गुणस्तर र ब्राण्डलाई विश्व बजारमा पुर्याइने जानकारी दिए । नेपाली वस्तुको विदेशी बजार माग धेरै आउने अपेक्षा रहेको उनको भनाइ छ ।

मेलाले विदेशी तथा स्वदेशी व्यवसायीहरूको सम्बन्धलाई अझ प्रगाढ बनाउने उनको विश्वास छ । उनले नेपाली उपात्दनको ब्राण्डिलाई विश्व बजारमा पु¥याउनु जरुरी रहेको पनि उल्लेख गरे । 

उपाध्यक्ष श्रेष्ठले भृकुटीमण्डपको अवस्था जीर्ण भएकाले तत्काल कदम चाल्न सरकारलाई अनुरोध गरे ।

उनले भने, ‘हाम्रो देशमा अन्तर्राष्ट्रियस्तरीय मेला महोत्सवको आयोजना गर्न निकै समस्या छ । भृकुटीमण्डपको अवस्था जीर्ण छ । हामीले सोंचेअनुसारको मेलालाई सभ्य र भव्य बनाउन सकिरहेका छैनौं । हाम्रा छिमेकी मुलुकमा अन्तर्राष्ट्रियस्तरीय प्रर्दशनी केन्द्र छन् । प्रदर्शनी केन्द्रको अभावले हाम्रो उत्पादन अनि हाम्रो ब्राण्डिङको अन्तर्राष्ट्रियकरण हुन सकेको छैन ।’

मेला प्रदर्शनीका लागि दीर्घकालीन समाधान खोजिनुपर्नेमा उनको जोड छ । 

आफूहरुले सरकारसँग बारम्बार माग गर्दै आए पनि यसको समाधान हुन नसकिएको उनको आक्रोश छ । 

उपाध्यक्ष श्रेष्ठले सरकारलाई उद्योगमन्त्रीमार्फत व्यवस्थित र सुविधा सम्पन्न प्रदर्शनीको व्यवस्था गरिदिन माग समेत गरे । 

उनले भने, ‘सरकारले आगामी नीति तथा कार्यक्रममा भृकुटीमण्डपलाई व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी तथा सभा, समारोह, गोष्ठी सेमिनारलगायत मनोरञ्जन पार्क बनाउने भनेको छ यसलाई दबाउने काम नहोस् ।’

उनले १० खर्बको निर्यात गर्न विश्व बैंकले डकुमेन्ट तयार गरिसकेको र त्यसमा धुलो लागिसकेको समेत उल्लेख गरे। 
 

Share News