एभरेष्ट, सानिमा र नेपाल बैंकले ब्याजदर बढाए, कुमारी, सिद्धार्थ र एनआईएमबिले घटाए

काठमाडौं । जेठ महिनाका लागि अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । जेठ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको ब्याजदर सूचीमा अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका हुन् ।

वैशाख महिनाको तुलनामा जेठमा वाणिज्य बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०२ प्रतिशत घटेर ५.९५ प्रतिशतमा झरेको छ । यस्तै, संस्थागततर्फ औसत ०.०१ प्रतिशत बढेर ४.३७ प्रतिशत पुगेको छ । 

विकासन्यूजलाई प्राप्त तथ्याङ्क अनुसार जेठ महिनाका लागि एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ब्याजदर परिवर्तन गरेका छन् । जसमा एभरेष्ट, नेपाल बैंक र सानिमा बैंकले ब्याजदर बढाएका छन् भने कुमारी, सिद्धार्थ बैंक र एनआईएमबिले ब्याजदर घटाएका छन् ।

एभरेष्टले मुद्दती निक्षेपमा ०.०३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ६.६४ प्रतिशत र संस्थागततर्फ ५.६४ प्रतिशत तोकेका छन् । 

यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत बढाएर ५.४५ प्रतिशत ब्याजदर तोकेको छ । तर, संस्थागतमा भने स्थिर राखेको छ । 

यस्तै, सानिमा बैंकले व्यक्तिगततर्फ ०.३८ प्रतिशत बढाएर ६.३३ प्रतिशत र संस्थागततर्फ ०.३० प्रतिशत बढाएर ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

जेठ महिनाका लागि कुमारीले ०.०१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

यस्तै, सिद्धार्थ बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ५.५ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । null

Share News