सिन्धुलीमा एभरेष्ट बैंकको १३२औँ शाखा, बागमतीमा शाखा संख्या ४७ पुग्यो

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारलाई जारी राख्दै सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा १३२औँ शाखा स्थापना गरेको छ । यस शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ ।

जेष्ठ ५ गते आयोजित समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा शाखाको उद्घाटन गरे । कार्यक्रममा वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो ।

उद्घाटन समारोहमा मेयर पोखरेलले बैंकको उपस्थितिले सिन्धुलीवासीका लागि गुणस्तरीय बैंकिङ सेवा सुनिश्चित हुने विश्वास व्यक्त गरे । अध्यक्ष डा. वैद्यले शाखा मार्फत सरल, सुरक्षित र आधुनिक सेवा प्रदान गर्दै स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले नयाँ शाखाबाट स्थानीय बासिन्दालाई अत्याधुनिक, सहज र सुलभ बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।

Share News