काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय थप पेचिलो र रहस्यमयी बन्दै गएको छ । गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनेको दुई महिना पुग्नै लाग्दा पनि अहिलेसम्म एक पटक पनि समितिको बैठक बस्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा समितिको बैठक बस्न सकेको छैन ।
सोमबार धेरैले नयाँ गभर्नरको नियुक्ति हुन्छ भन्ने अपेक्षा गरेका थिए तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक नै स्थगित गरिदिए । नेपाली कांग्रेसले पनि सोमबार मन्त्रिपरिषद् बैठक बसेर यसअघि नै सहमति भइसकेका पात्र विश्व पौडेल गभर्नरमा नियुक्त हुन्छन् भन्ने अपेक्षा गरेको थियो । तर, ओलीले अन्तिम समयमा बैठक स्थगित गरेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा उनीसँग रुष्ट बनेको बुझिएको छ ।
ओलीले मन्त्रिपरिषद् बैठक नबोलाएपछि देउवालाई बालुवाटारमै भेट्न बोलाएको स्रोतको दाबी छ । तर, रुष्ट बनेका देउवाले गभर्नरको विषयमा यसअघि नै सहमति भइसकेकोले अब पटक-पटक भेट्न आवश्यक नभएको भन्दै बालुवाटार नगएको देउवाको सचिवालय स्रोतको दाबी छ ।
त्यसपछि दुई नेताबीच केही असन्तुष्टि पनि बढेको बुझिएको छ । देउवाले फोनवार्तामा केही आक्रामक शब्दहरु ओलीलाई भनेकोले ओलीले पनि त्यसको प्रतिवाद गर्दा दुई नेता एकअर्कामा रुष्ट बनेको दाबी गरिएको छ ।
दुई नेताबीच बेमेल बढेपछि गृहमन्त्री रमेश लेखक सोमबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको बताइएको छ । उनले ओली समक्ष मन्त्रिपरिषद् बैठक आह्वान गरेर कांग्रेसले नै अघि सारेको पात्रलाई गभर्नर बनाउन सुझाव दिएका थिए । तर, ओलीले पछिल्लो समय विश्व पौडेलको क्षमतामाथि प्रश्न उठिरहेको, संसदीय निर्वाचनमा पराजित पात्रलाई गभर्नर बनाउँदा सरकार नै आलोचित बन्ने तर्क लेखकसँग राखेको एमालेका एक नेताले बताए ।
ओलीले आफू बिरामी पनि भएकोले बैठक स्थगित गरेको लेखकसँग सुनाएको बुझिएको छ । तर, ओली सोमबार नै विभिन्न कार्यक्रममा सहभागी हुँदा तन्दुरुस्त देखिन्थे । मन्त्रिपरिषद् बैठककै समयमा बिरामी परे भन्ने विषयमा कांग्रेसले शंका गरेको छ ।
कांग्रेसले अघि सारेको पात्रलाई ओलीले बारम्बार विभिन्न बहाना बनाएर आफू निकट व्यक्तिलाई गभर्नरमा नियुक्त गर्न सक्ने सम्भावना रहेको कांग्रेसको शंका छ ।
यही शंकाका आधारमा कांग्रेसका केही शीर्ष नेताहरूले पनि आन्तरिक भेटवार्ता बढाएका छन् । ओलीलाई भेटेलगत्तै गृहमन्त्री लेखक पार्टी उपसभापति पूर्णबहादुर खड्काको निवासमा भेट्न पुगेका थिए । कांग्रेसका नेताहरूले भेटघाट गरेको खबर सुनेपछि ओलीले समेत एमालेका केही नेतालाई बालुवाटारमा भेटेर धारणा लिएको बुझिएको छ ।
उनले एमालेका नेताहरूसँग कांग्रेसले अघि सारेको पात्र विश्व पौडेलको विषयमा सर्वोच्च अदालतमा समेत रिट परेको बताउँदै पछि उनैलाई नियुक्त गर्दा एमाले नै विवादित बन्न सक्ने तर्क राखेका थिए ।
गभर्नर नियुक्तिको ढिलाइले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच बेमेल बढेको छ । गभर्नर नियुक्तिकै किचलोले दुई पटक गभर्नर सिफारिस समिति पुनर्गठन भइसकेको छ । यसअघिका समितिका सदस्य पूर्वगभर्नर विद्यानाथ भट्टराईले आफू रबरस्ट्याम्प नबन्ने भन्दै सदस्यबाट राजीनामा दिएका थिए ।
उनको ठाउँमा अहिले निवर्तमान गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै यसअघि सदस्य रहेका विश्व पौडेल आफू नै उम्मेदवार बन्नका लागि राजीनामा दिएका छन् । उनको ठाउँमा अहिले पोषराज पाण्डे सदस्य बनेका छन् ।
कांग्रेसले गभर्नरका लागि सुरुमा राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम अघि सारेको थियो । भट्टले कार्यकारी निर्देशकबाट दिएको राजीनामा कामु गभर्नर नीलम ढुंगानाले स्वीकृत नगर्दा उनको गभर्नर बन्ने बाटो बन्द भएको थियो । ढुङ्गाना पनि गभर्नर बन्ने दौडमै छिन् ।
भट्टको राजीनामा स्वीकृत नभएपछि ओलीले विकल्पमा अर्को नाम ल्याउन देउवालाई आग्रह गरेका थिए । सोही आधारमा देउवाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका विश्व पौडेलको नाम अघि सारेका थिए । ओली त्यसमा सहमत समेत भएका थिए । तर, अहिले फेरि ओलीले उनको योग्यतामाथि प्रश्न उठाइरहेका छन् ।
मन्त्रिपरिषदमा प्रस्ताव जानुअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा रहेको सिफारिस समितिले राष्ट्र बैंकका एक जना डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । ओलीको निर्देशनमा अहिलेसम्म समितिको बैठक एक पटक पनि नबस्दा र यति लामो समयसम्म गभर्नर नियुक्ति नहुँदा एमालेले भित्रैभित्र फरक रणनीति बनाएर काम गरिरहेको बुझाइ कांग्रेसको छ ।
सम्बन्धित सामग्री :
तत्काल गभर्नर नियुक्त गर्न नसक्ने तीन कारण, ओलीसँग एकपछि अर्को तुरूप
ओली-देउवाको सिकार बनेका काबिल थिंकट्याङ्क, गभर्नर नियुक्तिमा भद्दा मजाक
स्वायत्तताको हत्या, ओली र पौडेलको नाङ्गो नाच
पेण्डुलम बन्यो गभर्नर सिफारिस समिति, शीर्ष नेतृत्वबीच कुरा नमिल्दा बैठक पनि बस्न सकेन