दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले जेठ १५ गतेदेखि घोषणा गरेको आन्दोलन जनविरोधी भएको टिप्पणी गरेका छन् । दाङमा आयोजित ४१औं नेत्रलाल पौडेल 'अभागी' स्मृति दिवसमा सम्बोधन गर्दै पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, 'गणतन्त्रले के दियो भन्दै भ्रम फैलाएर जेठ १५ देखि राजावादी आन्दोलन गर्ने तयारीमा छन् । तर त्यो कुनै दलका विरुद्ध होइन, नेपाली जनताकै विरुद्ध हो ।'
राजसंस्था कहिल्यै जनताको पक्षमा नरहेको दाबी गर्दै पोखरेलले जनतालाई निरंकुशताको जाँतोमुनी पिस्ने शोषणकारी व्यवस्था फर्काउने प्रयास भइरहेको बताए । उनले गणतन्त्र र जनताको सार्वभौम सत्ता विरुद्ध प्रहार भइरहेको भन्दै सचेत रहन आग्रह गरे ।
सम्बोधनको क्रममा पोखरेलले देश विकासको नाममा विदेश पलायन बढ्नु दुःखद रहेको बताए । 'देश छोडेर देश बनाउने कुरा गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ,' उनले भने, 'देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ ।'
उनले बाध्यताले होइन, रहरले पनि धेरै युवा विदेश जान थालेको उल्लेख गर्दै, युवा पलायन रोक्न एमालेले नेतृत्व गर्ने घोषणा गरे ।