बिहे घरमा झडप : बेहुला-बेहुली पक्षबीचको विवादमा पाँच जना घाइते

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–६ कदमहास्थित एक बिहे घरमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

शुक्रबार राति करिब ११ : ३० बजे विवाहको विधि चलिरहेको बेला डिजेमा नाचगान भइरहेका दौरान दुवै पक्षबीच विवाद सुरु भई झडपमा परिणत भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मदिरा सेवनपछि झगडा चर्किँदा दुवै पक्षबाट व्यक्तिहरू घाइते भएका छन् ।

घाइतेहरूमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी (बेहुली पक्ष), विराटनगर–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी (जन्ती पक्ष) रहेका छन् ।

प्रहरीका अनुसार झडपमा तीन जनाको टाउकोमा गम्भीर चोट लाग्दा टाँका लगाउनुपरेको छ । घाइते सबै जनालाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ।  उनीहरू सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Share News