नेपाललाई शिक्षाको हब बनाउनुपर्छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशी विद्यार्थीका लागि नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका छन् । कांग्रेस शिक्षा विभागले सोमबार आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीलाई नेपालमा ल्याउनुपर्ने बताए । 

देउवाले  शिक्षा नै महत्वपूर्ण विषय भएकाले यसको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति निर्माण गर्न लागिपर्ने प्रतिबद्धता समेत जनाए । 

सभापति देउवाले सबै आमाबाबुको इच्छा छोरा छोरीलाई राम्रो शिक्षा दिने भएकाले त्यो पूरा गर्ने गरी व्यवस्था गरिनुपर्ने धारणा राखे । उनले शिक्षा सभ्यता पनि भएकाले यसले गाउँदेखि सहरसम्मका मानिसलाई शिक्षित भएर अघि बढाउने बताए ।

विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी नीति निर्माण गरिनुपर्ने आवश्यकता औँल्याए ।

Share News