काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । सोमबार नेप्से परिसूचक १.६० अंकले बढेर दुई हजार ६९४.६६ को विन्दुमा कायम भएको हो ।
आज ३१४ कम्पनीको दुई करोड २० लाख ३१ हजार ८८१ कित्ता सेयर ८३ हजार १६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
विकास बैंक ०.२९, वित्त ०.१८, होटल तथा पर्यटन २.३९, लगानी २.२८, जीवन बीमा ०.२३, म्युचुअल फन्ड ०.०१ र अन्य समूह ०.३६ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ ०.५९, जलविद्युत् ०.३५, उत्पादन तथा प्रशोधन ०.३८, लघुवित्त ०.१२, निर्जीवन बीमा ०.१६ र व्यापार ०.३५ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र पिअर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.४५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ८७ करोड ४७ लाख ३८ हजार बराबरको २२ लाख दुई हजार ६७७ कित्ता सेयर किनबेच भएको छ ।