काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाख) सम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३६ करोडभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले सोमबार जारी गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले वैशाखसम्ममा १ करोड ३७ लाख २८ हजार ३४२ वटा बीमालेख बिक्री गरेर १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँको व्यापार गरेका हुन् ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरूको व्यवसाय १४.८४ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरूले १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।
जीवन बीमा कम्पनीहरूले वैशाख महिनामा मात्रै १२ लाख ३४ हजार ८८७ बीमालेख जारी गरेर १३ अर्ब ३१ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन्।
नेपाल लाइफको सर्वाधिक व्यापार

चालु आवको १० महिनामा सर्वाधिक व्यापार भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले वैशाखसम्ममा चालु आर्थिक वर्षको वैशाखसम्म ३६ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा नेपाल लाइफको व्यवसाय १३ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले ३२ अर्ब ३८ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
व्यवसाय वृद्धिदरको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा उक्त कम्पनीले आफ्नो व्यवसाय ५०.३६ प्रतिशतले बढाएको छ ।
वैशाखसम्ममा कम्पनीले ८ अर्ब ६७ करोड १५ लाख रुपैयाँको व्यवसाय गरेको छ । गत आवमा कम्पनीले ५ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको व्यवसाय आर्जन गरेको थियो ।
धेरै व्यवसाय भित्र्याउने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनल लाइफले १० महिनामा १७ अर्ब २० करोड रुपैयाँको व्यवसाय आर्जन गरेको छ । जुन गत आवको तुलनामा २०.०३ प्रतिशतले बढेको हो । गत आवको यही अवधिमा कम्पनीहरूले १४ अर्ब ३३ करोड १४ लाख रुपैयाँको व्यापार गरेको थियो ।
धेरै व्यवसाय आर्जन गर्ने तेस्रोमा लाइफ इन्स्याेरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले १० महिनामा १५ अर्ब ५७ करोड ४७ लाख रुपैयाँको व्यवसाय आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवसाय ९.४० प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरूले १४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
चालु आवको १० महिनामा हिमालयन लाइफले १३ अर्ब ७९ करोड ३९ लाख रुपैयाँ व्यवसाय गरेको छ । जुन गत आवको तुलनामा २.१० प्रतिशतले बढी हो । त्यस्तै, सूर्यज्योति लाइफले ८ अर्ब ५३ करोड ३ लाख रुपैयाँ, एसियन लाइफले ७ अर्ब १४ करोड ६ लाख रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ३३ करोड ७८ लाख, मेट लाइफले ४ अर्ब ९८ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा सूर्यज्योति लाइफले १७.२७, एसियन लाइफले ११.८०, सिटिजन्स लाइफले २०.८३, सानिमा रिलायन्सले १३.७१ र मेट लाइफले ९ प्रतिशतले व्यवसाय बढाएका छन् ।
वैशाखसम्ममा आइएमई लाइफले ४ अर्ब १९ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १३ अर्ब ७९ करोड ३९ लाख, प्रभु महालक्ष्मीले ४ अर्ब १० करोड २१ लाख, सन नेपाल लाइफले ३ अर्ब ४१ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा आईएमई लाइफको व्यापार १४.८० प्रतिशत, रिलायबल नेपाल लाइफको २३.९१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २०.०९ प्रतिशत र सन नेपाल लाइफको १०.७३ प्रतिशतले बढेको छ ।