नक्कली अकाउन्टले चिकित्सकको छवि बिगार्दै

काठमाडौं । ‘डाक्टरसाब तपाईंको फेसबुक अकाउन्टबाट पैसा माग्ने काम भइरहेको छ । मलाई यो काम तपाईंको होइन जस्तो लाग्यो र म्यासेज गरें,’ न्युरो सर्जन डा. प्रकाश काफ्लेलाई चिनेका साथीले केही दिनअघि म्यासेज गरे । काफ्ले साथीको यो म्यासेज देखेपछि झस्के । उनले तुरुन्तै कल गरे । त्यसपछि थाहा भयो– उनको नामबाट नक्कली अकाउण्ट बनाएर पैसा माग्ने काम भइरहेको रहेछ । 

प्रकाशलाई एकजना साथीले मात्र भनेनन् । थुप्रैले फेसबुक म्यासेन्जरमा साथी बनाउने त्यसपछि पैसाको बार्गेनिङ गर्ने गरेको पनि गुनासो गरे । आफूले गर्दै नगरेको काम साथीहरूले सुनाएपछि प्रकाशले अर्को फेसबुक अकाउन्ट कुन छ भनेर हेर्न खोजे । तर उनले भेटाएनन् । 

उनको नक्कली अकाउन्टबाट चिनेका करिब १२ जनालाई नै पैसा माग्नेदेखि अनेकन प्रलोभन देखाउने गरेको थाहा पाए । साथीहरूको कुरा सुनिसकेपछि उनले आफ्नो फेसबुकमा लामो स्टाटस नै लेखे । जहाँ उनले लेखेका छन्, ‘मेरो नामबाट नयाँ नक्कली फेसबुक अकाउन्ट खोलिएको जानकारी प्राप्त भएको छ, उक्त नक्कली अकाउन्टबाट  फेसबुक मेसेन्जरमा  पैसा माग्ने लगायत अनावश्यक कुरा गरिँदैछ । कृपया त्यो नक्कली अकाउन्टबाट आएको रिक्वेस्ट स्वीकार नगर्नुहोला र कुनै हालतमा पैसा नपठाउनुहोला ।’ 

प्रकाश काफ्ले विराटनगरको नोबेल मेडिकल कलेजको न्युरो सर्जरी विभाग प्रमुख हुन् । लामो समयदेखि न्युरो सर्जनको रूपमा काम गर्दै आएका उनी आफ्नै नामको नक्कली आइडीबाट आफन्त र चिनजानका साथीहरूलाई ठग्न खोज्नु साइबर अपराध भएको बताउँछन् । 

उनी भन्छन्, ‘मलाई त यो कुरा थाहै थिएन । चिनेकै साथीहरूलाई रिक्वेस्ट पठाएर पैसा माग्ने, अनावश्यक प्रलोभन देखाउने काम भइरहेको रहेछ, यो पक्कै पनि कुनै ठगको काम हुनुपर्छ ।’ 

प्रकाशले आफ्नै नामको दुई तीनवटा नक्कली आइडी बनाएर ठगी भइरहेको पाइएको बताए । 

नेपाली चिकित्सकहरू आफूलाई लक्षित गरी नक्कली अकाउण्ट बनाएर ठगी गर्ने प्रवृत्ति बढिरहेको बताउँछन् । चिकित्सकहरूको प्रोफाइल फोटो, नाम र काम गर्ने अस्पतालको विवरण प्रयोग गरेर नक्कली अकाउन्ट बनाउने गरिएको पाइन्छ । 

यस्ता अकाउन्टहरू विशेष गरी फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम जस्ता प्लेटफर्ममा सक्रिय हुन्छन् । कतिपयले आफ्ना नियमित सेवाग्राहीसँग पैसा मागेको पाइन्छ भने कतिपयले साथीभाइसँग मागेको पीडितहरू बताउँछन् । 

प्रकाशको नामबाट ठगी गर्ने ठगले हरेक व्यक्तिको मोबाइल नम्बरको कनेक्सन बैंक अकाउन्टसँग हुने भएकाले प्रायः सबैको मोबाइल नम्बर माग्ने गरेको छ । धेरैजसो व्यक्तिले प्रयोग गर्ने मोबाइल नम्बर सामाजिक सञ्जालदेखि बैंकसम्म जोडिएको पाइन्छ । ठगहरूले त्यही मौका पार्दै व्यक्तिहरूलाई ठगी रहेका छन् ।

 डाक्टर सम्झेर क्युआरमै पैसा पठाउँदा 

प्रकाशजस्तै अर्को चिकित्सकको नामबाट क्युआरमा धमाधम पैसा लिइरहेको पाइएको छ । वरिष्ठ प्रसूति तथा स्त्री रोग एवं टेष्ट ट्युव बेबी विशेषज्ञ डा. नुतन शर्माले आफ्नो नक्कली आईडी बनाएर आफ्नै पेसेन्टबाट क्युआरमै पैसा लिरहेको बताउँछिन् । 

अहिलेसम्म एक जनाले १० हजार र अर्को एकजनाले ७ हजार पैसा क्युआर गरी पठाएको गुनासो आफूकहाँ आइपुगेको उनले बताइन् । 

नुतनसँग धेरैजसो दम्पतीहरू फोन गरिरहन्छन् । महिनावारी नियमित नभएकादेखि सन्तान हुन नसकेका दम्पती कोही भेटेर त कोही फोनबाट, सामाजिक सञ्जालबाटै सल्लाह लिन्छन् । उनी सकेसम्म फोन सामाजिक सञ्जाल भन्दा भेटेर कुरा गर्न सल्लाह दिन्छिन् । 

करिब एक साताअघि उनको मोवाइलमा एक पेसेन्टको फोन आयो । उनले फोन उठाइन् । हत्तपत्त उताबाट एकजना महिलाले भनिन्, ‘डाक्टर खोइ त औषधी अहिलेसम्म पनि आएन । ’

उनको कुरा सुन्दा नुतन अलमलमा परिन् । के को औषधी ? पुरा शब्द सकिन नपाउँदै उतैबाट भनियो, ‘घरमै पठाइदिन्छु भन्दै पैसा पनि लिनुभयो अहिले के को औषधी भन्नुहुन्छ ?’ 

बुझ्दै जाँदा नुतनको अर्को आइडी बनाइ पेसेन्टलाई सात हजार पैसा लिएर औषधी पठाइदिन्छु भनेको रहेछ । यसबारेमा नुतनलाई थाहै थिएन । उनले ती व्यक्तिसँग भेटेरै कुरा गर्न भनिन् त्यसपछि ती दम्पती बिएण्डबी अस्पतालमै आएपछि आफूहरू ठगिएको थाहा पाए । 

दिनहुँ अस्पतालमै पैसा पठाइदिएको तर औषधी नपाएको गुनासो बढेपछि नुतनले सामाजिक सञ्जाल टिकटकमै एउटा भिडियो बनाएर पोष्ट गरेकी छिन् । सन्देशमा उनले भनेकी छिन्, ‘मेरो नामको अकाउन्टबाट मेरा पेसेन्टसँग कुरा गरेर क्युआर पठाएर पैसा लिएको गुनासो आएको छ, अनलाई पेमेन्टको कुरा वा औषधीको कुरा गरेर म्यासेजको भरमा पैसा नपठाउनुहोला ।’ 

उनले कसैले यसरी पैसा मागेमा आफ्नो नम्बरमा फोन गर्न भन्दै सन्देशमा आफ्नो नम्बर पनि दिएकी छन् ।

चिकित्सकको आग्रह

धेरैजसो सामाजिक सञ्जालका अकाउन्टहरू सक्कली, नक्कली कुन हुन् भन्ने छुट्याउन गाह्रो हुन्छ । त्यसमाथि चिकित्सकको फ्रेन्ड रिक्वेस्ट आएपछि धेरैजसोले हत्तपत्त स्वीकारी हाल्छन् । सामाजिक सञ्जालमा ठगी गर्नेहरू यतिसम्मको चतर हुन्छिन् कि उनीहरूले फेसबुकका साथी, र म्युचुअल फ्रेण्ड सबै सक्कलीको जस्तै देखाउन सक्छन् । यसले गर्दा पनि सर्वसाधारणलाई फेक आइडी छुट्याउन गाह्रो हुन्छ । 

चिकित्सक नुतन शर्मा कुनै पनि चिकित्सकसँग कुरा गर्न सामाजिक सञ्जालको प्रयोगभन्दा कि फोनमा कुरा गर्न र कि प्रत्यक्ष भेटेरैमात्र गर्न सल्लाह दिन्छिन् । भन्छिन्, ‘अहिले धेरै ठगीका घटनाहरू भइरहेका छन्, कसैले म डाक्टर हुँ भन्दै औषधी र काउन्सिलिङको कुरा गरेर आर्थिक लेनदेनको कुरा गर्न हुँदैन, कसैले यस्तो गर्छ भने कि एक पटक अस्पतालमै आएर भेट्दा ठगिने सम्भावना हुँदैन ।’ 

डा. प्रकाश पनि यस्तो ठगीबाट बच्न आग्रह गर्छन् । आजभोलि सामाजिक सञ्जालमा पाएको सूचनाले ठगहरूले सबै विवरण संकलन गर्नेसम्मको हैसियत राख्ने भएकाले सकेसम्म आफ्नो पुरै विवरण सामाजिक सञ्जालमा नराख्न सल्लाह दिन्छन् ।

१० महिनामा ७ हजार ठगीका उजुरी

चिकित्सकहरूको फोटो र विवरण राखेर ठग्ने क्रम भइरहे पनि चिकित्सककै नामबाट ठगिएको यकिन उजुरीको तथ्यांक भने छैन । नेपाल साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थी समग्र रूपमा ठगीका घटनाको दर निकै बढेको भएपनि चिकित्सकहरूबाटै ठगिएको भनेर छुट्टै उजुरीको तथ्यांक नरहेको बताए । 

उनी भन्छन्, ‘ठगीका घटना दिनहुँ बढिरहेका छन्, सामान्य किनमेलदेखि सेयरसम्मको ठगी भइरहेको हुन्छ तर, छुट्टै यो क्षेत्र, ऊ क्षेत्र भनेर छुट्याएको छैन ।’ 

सामाजिक सञ्जाल ह्याक गर्ने, नक्कली आइडी बनाएर आफन्तसँग पैसा माग्न, विदेशमा रहेका आफन्तहरूलाई पैसा माग्नेक्रम बढिरहेको पनि अवस्थीले बताए । 

चालु आर्थिक वर्षको १० महिनामा साइबर ब्यूरोमा साढे १६ हजार उजुरी परेका छन् । जसमा ठगीका मात्र ७ हजार बढी उजुरी रहेका छन् । अवस्थी करिब ४० प्रतिशत उजुरी ठगीका आउने गरेको बताउँछन् । 

चिकित्सकको नक्कली आइडी बनाएर अनलाइन काउन्सिलिङको नाममा पनि ठगी हुने गरेको पाइएको छ । 

Share News