सेबोन अध्यक्ष श्रेष्ठसँग लगानीकर्ताहरूको भेट, लगानीमैत्री बजारको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग तीनवटा लगानीकर्ता संघ संस्था सेयर लगानीकर्ता संघ, पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघले संयुक्त रूपमा भेट गरी पुँजी बजार सुधारका लागि ठोस पहल गर्न आग्रह गरेका छन् ।

तीनै संघका पदाधिकारीले अध्यक्ष श्रेष्ठबाट पुँजी बजारमा पारदर्शिता, नियमन सुदृढीकरण तथा लगानीमैत्री वातावरण निर्माणमा सुधार हुने विश्वास गरे ।

संघहरूका प्रतिनिधिहरू  सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेल, पुँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं, स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लीश्वर कार्की र नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले पुँजी बजारको दीर्घकालीन विकास र लगानीकर्ताको हितका लागि सेबोनले सुरु गरेका पहलहरूप्रति सकारात्मक प्रतिक्रिया दिँदै पूर्ण समर्थन जनाए  ।

उनीहरूले पुँजी बजारलाई देशको आर्थिक मेरुदण्डको रूपमा विकास गर्न सन्तुलित नीति, प्रविधिको प्रभावकारी प्रयोग र सुदृढ नियमन प्रणाली आवश्यक रहेको बताए ।

आईपीओ निष्कासन प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्नुपर्ने, कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूको प्राथमिक निष्कासन प्रस्ताव पुनरावलोकन गर्नुपर्ने, हाइड्रोपावरलगायत परियोजनामा संस्थापक सेयर बिक्रीको अनियन्त्रित प्रवृत्तिमा रोक लगाउनुपर्ने माग गरेको लगानीकर्ता रौनियारले बताए ।

सेयर बजारमा भइरहेको सूचनाको दुरुपयोग र अन्य अनैतिक क्रियाकलापमा कडाइ गर्नुपर्ने, निजी क्षेत्रको सहकार्यमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्दा नियमन र सुपरीवेक्षण प्रणाली मजबुत बनाउनुपर्ने सुझाव दिएको उनको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले लगानीकर्ताहरूको धारणापछि बोर्ड लगानीकर्ताको विश्वास जित्न सक्ने वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताए । उनले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनामार्फत पुँजी बजार सुधार र विस्तारमा काम अघि बढाइने जानकारी गराएका छन् ।

संघ-संस्थाहरूले सेबोनको नेतृत्वले नयाँ दिशा दिने विश्वास व्यक्त गर्दै आवश्यकताअनुसार नीति निर्माणमा समेत सहकार्य गर्न तयार रहेको पनि बताए ।

 

Share News