काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश र बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स, हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बरुण हाइड्रोपावरले भोलि जेठ २२ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् ।
त्यसैले आज जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले नेशनल र एनएलजीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्ने छन् भने बरुणको हकप्रद सेयर खरिद गर्न पाउने छन् ।
नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँको ५ प्रतिशतका दरले २६ करोड ६ लाख ६ हजार रुपैयाँ बोनस सेयर, १० प्रतिशतका दरले ५२ करोड १२ लाख १३ हजार रुपैयाँ नगद र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार रुपैयाँ गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले ३७ औँ वार्षिक साधारण सभा असार ५ गते काठमाडौंमा बिहान साढे १० बजे आह्वान गरेको छ ।
यस्तै, एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँको २.५० प्रतिशतका दरले ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशतका दरले ३२ लाख ९२ हजार रुपैयाँ नगद गरी कुल २.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न जेठ २९ गते काठमाडौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै, बरुण हाइड्रोपावर कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।