मध्यम वर्गीय परिवारका राम एक निजी कम्पनीमा काम गर्दै आएका थिए । उनको परिवारमा उनकी श्रीमती सरिता, १० वर्षीय छोरा र ७ वर्षीया छोरी छन् । उनको आम्दानीले नै परिवार धानेको थियो । उनको आम्दानीले नै उनको घर खर्च, स्वास्थ्य उपचार, छोराछोरीको स्कुल लगायतका सम्पूर्ण खर्च चलेको थियो ।
तर एक दिन रामको अचानक दुर्घटनामा परेर मृत्यु भयो । परिवारमा एकाएक ठूलो संकटमा पर्यो । एकातिर परिवारले अभिभावक गुमायो भने अर्कातिर आर्थिक रूपमा पनि निकै नै संकटमा पर्न गयो । यस्तो अवस्थामा सरितालाई उनको घर सम्हाल्न निकै गाह्रो पर्नेवाला थियो । बच्चाहरूको पढाइ, घरको खर्च, ऋण- सबै कुरा एकैचोटि बोझ बने । निमेषभरमा रामको परिवारमा यति ठूलो विपत परेको थियो कि फेरि माथि उठ्न निकै मेहनत गर्नुपर्ने थियो ।
तर, रामले केही वर्षअघि नै आफ्नो भविष्य सोचेर जीवन बीमा गराएका थिए । उनले ५० लाखको जीवन बीमा योजना लिएका थिए । जसको नियमित प्रिमियम उनले समयमा तिर्दै आएका थिए । दुर्घटनामा उनको निधन भएपछि बीमा कम्पनीले सरितालाई सम्पूर्ण बीमांक रकम प्रदान गर्यो । क्षणभरमै रित्तिएको परिवारले रामलाई पाउने त अवस्था रहेन । तर आर्थिक रूपमा फेरि बलियो बन्ने अवस्था भने बीमाले दियो ।
बीमांक रकमबाट सरिताले सन्तानको शिक्षा तथा स्वास्थ्यमा खर्च गर्न पाइन् भने बाँकी बाँचेको रकमले ऋण पनि तिरिन् । त्यसपछि मासिक घरखर्च पनि व्यवस्थापन गरिन् । त्यसपछि उनले घरबाटै सानो व्यवसाय सुरु थालिन्, जसले उनलाई थप आर्थिक सुरक्षाको अनुभूति दियो ।
सम्भवतः जीवन बीमामा रामले लगानी नगरेको भए सरिता र उनको परिवार फेरि माथि उठ्न वर्षौं पर्खनुपर्ने थियो । यदि रामले जीवन बीमा नगरेका भए सरिताले आर्थिक संकटसँग संघर्ष गर्नुपर्थ्यो, बच्चाहरूको भविष्य अन्धकार हुन सक्थ्यो र ऋणको चपेटामा परिवारले कठिन समय बिताउनुपर्थ्यो । तर, जीवन बीमाको कारणले रामको अनुपस्थितिमा पनि उनको परिवार आर्थिक रूपमा सुरक्षित रह्यो ।
हामी धेरैजसो परिवार मध्यमस्तरको आर्थिक क्षमता भएका परिवार हौं । रामको परिवार झैं तपाईं हामीमध्ये धेरैको परिवारमा एक जनाले मात्रै कमाइ गर्दै आइरहेका छौं । यो धेरै नेपालीको वास्तविक अवस्थासमेत हो । तसर्थ यस्तो परिवारमा जीवन बीमाको अत्यन्तै धेरै आवश्यकता छ ।
भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम न्यूनीकरणका लागि जीवन बीमा एकदमै महत्वपूर्ण माध्यम हो । मानिसले आफ्नो जीवनकालभरी विभिन्न किसिमका दुर्घटना, पीडा वा क्षतिको सामना गर्नुपर्ने हुन्छ । जसमा आर्थिक अनिश्चितता प्रमुख चुनौतीको रूपमा रहने सम्भावना बढी हुन्छ । यस्तो जोखिमलाई व्यवस्थापन गर्नका लागि सहज र अनुशाषित माध्यम जीवन बीमा नै हो । जोखिमलाई न्यूनीकरण गर्ने मात्र नभई जीवन बीमाको माध्यमबाट बचत समेत गर्न मिल्ने भएकाले मध्यमस्तरको आर्थिक क्षमता भएका परिवारलाई आर्थिक रुपमा सबल, स्वतन्त्र र दवावमुक्त समेत हुन सम्भव हुन्छ ।
मध्यम आय भएका व्यक्तिलाई जीवन बीमाको महत्त्व
जीवन बीमाका लागि सानोसानो बचत भए हुन्छ । जस्तो कि आफ्नो भइरहेको खर्चलाई दिनदिनै सानो अंश कटौती गरेर बचतको बानी बसाल्दा सहजै जीवन बीमा गर्न सकिन्छ । त्यस्तो खर्च कटौती गरेर गरिएको जीवन बीमाले आफ्नो घर खर्च टार्ने मात्र नभई आकस्मिक परिस्थितिमा आर्थिक बोझ कम गर्न पहिलो विकल्प बनिदिन्छ।
परिवारका मुख्य सदस्य वा अन्य कसैमाथि केही आपत्ति भइहालेमा उसको परिवारका अन्य सदस्यलाई आर्थिक समस्या पर्छ । त्यस्तो आर्थिक समस्याबाट परिवारलाई बचाउनका लागि पनि परिवारको मुख्य मानिसको जीवन बीमा मुख्य विकल्प हुन्छ ।
जीवन बीमाका फाइदाहरू
जीवन बीमाले बीमितलाई दिने लाभ धेरै थरीका हुन्छन् । सबैभन्दा पहिले त जीवन बीमाले नियमित बचत गर्न समेत बानी पार्दछ । चिया खर्चजस्ता ससाना खर्च कटौती गरेर बचत गर्न बानी पार्ने एक मात्र माध्यम जीवन बीमा हो । बीमाको अवधि समाप्त भएपछि बीमाङ्क तथा बोनसको रकम फिर्ता पाइने हुँदा यसले बचत समेत गराउँछ ।
जीवन बीमामा लगानी गर्नु व्यक्तिका लागि अनिवार्य हो । बैंक वा लघुवित्त लगायतका क्षेत्रमा गरिएको बचत ऐच्छिक बचत हो । तर बीमामा गरिएको बचत आफ्नो लागि गरिएको अनिवार्य बचत हो । आफ्नो जीवनमाथि आइपर्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्नका लागि बीमा बाहेकको विकल्प नै छैन । आर्थिक जोखिम न्यूनीकरणका लागि बीमामा निरन्तर लगानी गर्दै जानुपर्छ । यदि लगानी रोकिएको खण्डमा जोखिम न्यूनीकरण गर्न सकिँदैन । त्यसकारण पनि यो अनिवार्य बचत हो ।
प्रायः मध्यम वर्गमा रहेका नागरिकलाई आर्थिक सुनिश्चितता दिइरहनका लागि जीवन बीमा अति नै आवश्यक रहन्छ । कुनै पनि व्यक्तिले चिया वा खाजा कटौती गरेर बचत गरेको रकमले नै उसको आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने एकमात्र विकल्प जीवन बीमा हो ।
जीवन बीमामा लगानीका साथसाथै सस्तो ब्याजदरमा कर्जा लिएर ऋण तिर्न पनि सकिन्छ । साथै अन्य ठूला ऋण पनि बीमा परिपक्व भएपछि आएको रकमले एकमुष्ट तिर्न सकिन्छ । थोरैथोरै बचतबाट नै यसरी ऋणबाट मुक्त पाउन सम्भव हुन्छ । यतिमात्र नभएर सरकारले बीमा गरेवापत कर छुटको व्यवस्था गरेको छ ।
यदि कुनै पनि नागरिक वा कर्मचारीले जीवन बीमा गरेको छ भने सो बीमामा तिरेको प्रिमियम रकमको उसले रु ४० हजारसम्मको कर छुट पाउँछ । यसले सानो आय भएका नागरिकलाई विभिन्न आर्थिक झमेलाबाट समेत मुक्ति मिलाउन जीवन बीमा उपयोगी रहन्छ । त्यसकारण पनि जीवन बीमा मध्यम आय भएका नागरिकका लागि अत्यन्तै उपयोगी रहन्छ ।