काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति जेठ ३० गते निर्धारण गरेको छ। कम्पनीले बिहीबार सूचना जारी गर्दै हकप्रद सेयर निष्कासन प्रयोजनार्थ सो मितिमा बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यसअनुसार जेठ २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डले गत जेठ ७ गते कम्पनीलाई १०ः४ अनुपातमा अर्थात् ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने स्वीकृति दिएको थियो ।
कम्पनीले कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । १०० रुपैयाँ अंकित दरअनुसार कम्पनीले ६५ लाख ७६ हजार ९३७।७६ इकाइ हकप्रद सेयर बिक्रीमा ल्याउनेछ ।
हाल नेपाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार ३०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यो २ अर्ब ५४ करोड ८५ लाख ७२ हजार ७६ रुपैयाँ पुग्नेछ ।
निर्जीवन बीमा कम्पनीहरूको लागि बीमा समितिले तोकेको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हो । हकप्रद बिक्रीपछि नेपाल इन्स्योरेन्सले उक्त मापदण्ड पूरा गर्नेछ ।
कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।