काठमाडाै । नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालनमा ल्याएको छ । प्राधिकरणले बिहीबारदेखि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा इजलास सञ्चालनमा ल्याएको हो ।
प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षताको पहिलो प्राधिकरण सञ्चालक समितिको बैठकबाट सामान्य अदालतमा झैं प्राधिकरणमा पनि मुद्दाको सुनुवाइ प्रक्रिया लगायतलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो । वैशाख २ गतेदेखि सञ्चालनमा आउने भएपनि विविध कारणले थोरै ढिला हुन पुगेको प्राधिकरणले जनाएको छ ।
अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका सञ्चालक समितिका सदस्यहरू मानबहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजलास बसेको छ ।
प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजुरीमाथि इजलासमा पक्ष तथा विपक्षका कानुन व्यवसायीहरूबाट बहस भएको थियो ।