काठमाडौं । एउटा १०/१२ वर्षको बच्चालाई आमाले आँखा चिम्लेर काखमा कसेकी छन् । बच्चा जोडले चिच्याइरहेको छ । यता चिकित्सकले मजाले लुगा सिलाएजस्तै चुँडिन लागेको औंला सिलाइरहेका छन् । अब सम्झनूस् त यो क्षण कस्तो थियो होला ? एउटा बालकलाई कति पीडा भएको हुँदो हो ? बच्चा रोएर छट्पटाएको देख्दा आमाले कसरी आफूलाई सम्हालेकी थिइन् होला ?
आजभन्दा करिब १८ वर्ष पहिले दुर्गम पहाडी क्षेत्रको स्वास्थ्य अवस्था यस्तै थियो । कुनै अप्रेसन गर्नुपर्दा घाउमा बोरा सिलाएजस्तै गर्नुपर्थ्यो । जहाँ न कुनै अप्रेसन गर्ने मेसिनहरू थिए न त बिरामीलाई दुखाइ कम गर्ने औषधी नै । डा. सुशीलमोहन भट्टराईलाई अहिले त्यो दृश्य सम्झँदा सपना जस्तै लाग्छ ।
‘नाइलनको डोरी भकभक उम्लिरहेको पानीमा पकाएर लुगा सिलाए जस्तै सिलाउँदाको त्यो दृश्य अहिले सम्झँदा पनि डर लाग्छ,’ उनी भन्छन्, ‘मैले पहिलोपटक अप्रेसन यसरी नै गरें, त्यतिबेला बेला न राम्रो औषधी, थियो न उपकरण । जे छ त्यसमै प्रयास गर्नुको विकल्प थिएन ।’
अहिले दूरबिनबाट घाउ नबनाएरै शरीरको अंगअंगको अप्रेसन गरिरहेका भट्टराई आफूले १८ औं शताब्दीको तरिकाले उपचार गरेको अनुभव सुनाउँछन् । डा. सुशीलमोहन भट्टराई नेपालको चिकित्सा क्षेत्रका एक प्रतिष्ठित न्यूरो सर्जन हुन् । अहिले उनी वीर अस्पतालको न्यूरो सर्जरी विभागमा कन्सलटेन्ट सर्जनको रूपमा काम गरिरहेका छन् । यस क्षेत्रमा उनको अनुभव, समपर्ण र दक्षता प्रशंसनीय छ ।
ब्रेन ट्युमर, इस्पाइनल डिसअर्डर र न्यूरोलोजिकल जटिलताहरूको सजिर्कल उपचारमा गहिरो विशेषज्ञता हासिल भएका भट्टराई आजभन्दा १७ वर्ष पहिले विभिन्न ग्रामीण बस्ती पुग्दा गर्नुपर्ने उपचारको प्रक्रिया माथि उल्लेख गरिएअनुसार थियो । उनी चिकित्सा क्षेत्रमा प्रवेश गरेसँगै धादिङ, इलाम, धरान पुग्दा यसरी उपचार गर्नुपर्ने अवस्था थियो । जहाँ काम गर्दा उनले फरकफरक अनुभव सगाल्ने अवसर पाए ।
भन्छन्, ‘उपत्यका बाहिर काम गर्दा पाइलापाइलामा फरक अनुभव हुन्छ, प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भवती हुन आउने महिलालाई मैनबत्ती बालेर सुत्केरी गराउँदाको क्षण कस्तो दर्दनाक थियो, अहिले त नेपालको स्वास्थ्यले धेरै फड्को मारिसक्यो ।’
अवस्था उस्तै रहेन । अहिले सबै अंगप्रत्यंग सजिलै हेर्नसक्ने प्रविधि नेपाली स्वास्थ्य क्षेत्रमा उपलब्ध छन् । होसमै राखेर पीडा हुन नदिनेदेखि बेहोस पारेर हरेक अंगमा देखिएका विकार झिक्न सक्ने उपकरण छन् । यस्ता प्रविधिले उपचार गरिरहँदा कहिलेकाँही विगतका स्मरणले घोच्दा भट्टराईको मन चिसो हुन्छ । अहिले सहरमा मात्र होइन, हरेक वडामा स्वास्थ्य संस्था छन् । हरेक पालिकामा अस्पताल छन् । १८ वर्षमा पनि नेपालको स्वास्थ्य क्षेत्रले निकै ठूलो फड्को मारेको उनी बताउँछन् ।
गाउँलेले नपत्याएका डाक्टर
भट्टराईको बाल्यकाल पोखरामै बित्यो । कक्षा १० सम्म उनले पोखरामै पढाइ गरे । एसएलसीपछि उनी डाक्टर बन्ने सपनामा काठमाडौं पसे । जुन सपना बोकेर काठमाडौं पसेका थिए, यो सपना पूरा भएको १८ वर्ष भइसक्यो । उनले आइएस्सीपछि काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरे । एमबीबीएस सकेर लगत्तै चिकित्सा क्षेत्रमा प्रेवेश गरेका उनी उपत्यकाभन्दा बाहिर कामका लागि गए । ग्रामीण स्थानमा पुग्दा गाउँलेहरूले उनलाई पत्याएनन् ।
झट्ट हेर्दा भर्खरको २२–२३ वर्षको अल्लारे ठिटो । त्यो बेला गाउँलेहरूलाई उनी डाक्टर हो भन्ने विश्वास नै लाग्दैन्थ्यो । अस्पतालमा आउँदा उनलाई धेरैले सोध्नै चाहँदैनथिए । सोधिहाले पनि उनले प्रेस्क्रिप्सन गरेको औषधी पनि पत्याउँदैनथिए । भन्छन्, ‘ऊ राम्रो डाक्टर हो, भर्खर पढेर आएको भनेर गाउँलेलाई सम्झाउन अस्पतालका नर्स, ल्याब र औषधी पसलेहरूले धेरै मिहिनेत गर्नुपर्यो ।’
उपचार गर्न भारत जानेको लर्को देख्दा अचम्मित
भट्टराई जागिरको सिलसिलामा पूर्वी इलाममा पुग्दा अनौठो दृश्य देखे । जहाँ सामान्य बिरामी पर्दा पनि उपचारका लागि नेपालीहरू भारत जान्थे । टाउको दुख्दा होस् या पेट दुख्दा भारतको दार्जिलिङ र सिलगुढीका अस्पतालमा नेपालीको भीड लाग्थ्यो । नेपालमा उपचार हुन्छ, औषधी पाइन्छभन्दा पनि नागरिकहरूले पत्याउँदैन थिए । सामान्य उपचारका लागि भारत पुगेकाहरू फर्किँदा कार्टुनभरि औषधी बोकेर फर्कन्थे।
बिस्तारै भट्टराईले जनचेतना अभिवृद्धिका काममा लागे । नेपालमा हुनसक्ने उपचारका लागि भारत गइरहन पर्दैन भन्दै सबै नागरिकलाई सम्झाउन चेतनामूलक कार्यक्रमको आयोजना गरियो । नागरिकले पनि विस्तारै विश्वास गर्दै गए । अहिले त्यो क्षेत्रमा सामान्य उपचारका लागि भारत जाने संख्यामा निकै कमी आएको छ । भन्छन्, ‘यो स्वास्थ्य सेवामा भएको राम्रो प्रगति हो । नागरिक बुझ्न थाले, स्वास्थ्यप्रति ध्यान दिन थाले। यो खुसीको कुरा हो ।’
वीरमा काम गर्दाको अनुभव
कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएकोे छ । काठमाडौं बाहिर सामान्य सिटामोल नपाइने अवस्था थियो । अहिले विशेषज्ञ डाक्टर हरेक जिल्लाजिल्ला पुगिसकेको छन् भने सघन उपचार कक्ष (आइसीयु), भेन्टिलेटर सेवा, अप्रेसन आदिइत्यादि सेवा पनि पाइन्छ । भट्टराईले वीर अस्पताल काम गर्न थालेको ९ वर्ष भयो । अहिले उनले टाउकाको जटिल अप्रेसन पनि गर्छन् । यस्ता जटिल अप्रेशन गर्न अनुभव र एउटा टिमवर्क चाहिने बताउँछन् । ‘समूहमा काम गर्दा जटिलता धेरै कम हुन्छ,’ उनी भन्छन्, ‘यो बाहेक कतिपय अवस्थामा जटिलता आउँछन् र तिनीहरूको सही समयमा पहिचान र उपचार गर्दा व्यक्तिको ज्यान जोगाउन सफल भइन्छ ।’
यसका लागि प्रविधिले धेरै सजिलो बनाइदिएको छ । उनी विश्वस्तरिय प्रविधि प्रयोग गरेर उपचार गर्न पाउँदा कृतज्ञ बनेको बताउँछन् ।
भट्टराई कहिलेकाँही उपचारमा जटिलता आउनुलाई स्वभाविक ठान्छन् । भन्छन्, ‘संसारभरि उपचार गर्दा जटिलता नआउने भनेको हुँदैन । जुनसुकै चिकित्सकले गर्दा पनि यस्तो समस्या आउँछ । तर हरेक चिकित्सकले आफ्नो विशेषज्ञाता भित्र आफ्नो उपचारलाई सही सटिक र प्रभावकारी बनाउने हरेक प्रयास गरेको हुन्छ ।’
कहिलेकाँही विरामीको अवस्था देखेर आफन्तहरूले आस मारिसकेको अवस्थामा उपचारपछि बिरामी हिँडेर घर जाँदाको खुसी अर्कै हुन्छ ।
नसोचेको खुसी
केही समय पहिले एकजना महिलालाई प्रहरीले बोकेर अस्पताल ल्यायो । बेवारिसे अवस्थामा सडकमा भेटिएकी उनी अचेत थिइन् । इमरर्जेन्सीमा ल्याएर उनको सिटिस्क्यान गरियो । टाउकोमा ठूलो परिमाणमा रगत जमेको देखियो । ती महिलाको धड्कनमात्र बाँकी थियो । बाँच्ने आशा समेत कमै थियो । अस्पतालले सबै व्यवस्थापन गरेर उपचार गर्यो । भेन्टिलेटरमा राखेर उपचार गर्दा उनको बल्ल प्राण जोगियो । उपचार गरेको तेस्रो दिन बल्ल उनले आँखा खोलिन् भने चौथो दिन बोल्न थालिन्, पाँचौं दिन बुझिने गरी कुरा गर्न थालेपछि चिकित्सकहरूले सोधे ।
धेरै दिनसम्म उनी को हुन् भनेर पहिचान हुन सकेन । चिकित्सकले आईसीयूमै विभिन्न प्रश्न गरे । लामो प्रयासपछि उनलाई आफन्त कसैको नम्बर याद छ भनेर नम्बर सोध्न सुरु गरियो । उनले नम्बर भन्दै गइन्, चिकित्सकले नम्बर डायल गर्दै फोन गर्न थाले । तर नम्बर जहिल्यै गल्ती हुन्थ्यो । तर एक दिन उनले भनेको नम्बरमा फोन गर्दा फोन सम्पर्क हुन सक्यो । बल्ल सही नम्बर थाहा भयो । छोरीसँग कुरा हुनेबित्तिकै दुई घण्टाभित्र उनको परिवार आइपुग्यो । उनी उपत्यका बाहिरकी रहेछिन् ।
उनी कसरी काठमाडौं आइपुगिन् भन्ने समेत परिवारलाई थाहा थिएन । प्रहरीले अन्तिम अवस्थामा अस्पताल पुर्याएकी महिलालाई बचाएर परिवासँग मेल गरायो । भट्टराई यो सबैभन्दा खुसीको क्षण भएको बताउँछन् । उनका अनुसार अस्पतालमा यस्ता घटनाहरू प्रायः भइरहन्छन् ।
नेपालमै पढाइ नेपालमै काम
न्यूरो सर्जनका रूपमा काम गरिरहेका डा. सुशील नेपालमै पढेर विशेषज्ञता हासिल गरेका व्यक्ति हुन् । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मास्टर रेजिडेन्सटी गरे । विद्यावारिधी तहको एमसीएच न्यूरोसर्जरी तालिम वी अस्पतालबाट गरेका हुन् ।
हरेक व्यक्तिका रुचि, इच्छा र चाहना फरक हुन्छन् र ती सानैदेखि हुन्छन् । कसैलाई परिवारले गाइड गर्छन् । कोही सानै उमेरमा कसैलाई देखेर पनि सपना बुन्छन् । त्यही सपनालाई पच्छ्याउँदै जाँदा कतिपय सफल हुन्छन् त कोही असफल । कसैले अर्कै बाटो रोज्छन् जुनमा सफल हुन्छन् । यही क्रमम आफू चिकित्सक बनेको भट्टराई बताउँछन् ।
उनी डाक्टर बन्नुको पछाडि डा. उपेन्द्र देवकोटा र डा. भगवान कोइराला हुन् । उनीहरूलाई नदेखेर नचिनेर पनि उनले रोलमोडलको रूपमा देखे । उनीहरूका अन्तर्वार्ता टिभीमा आउँदा कहिल्यै नछुटाएर हेर्थे । उनले पढ्नेक्रममा थुप्रै चिकित्सकलाई भेट्ने चिन्ने अवसर पाए । त्यसपछि उनको मनमा झन् चिकित्सकप्रति सम्मान बढ्दै गयो ।
डाक्टर हुनु र बन्नुमा फरक
धेरैजसो अभिभावकको सपना आफ्ना बच्चाहरू डाक्टर बनून् भन्ने हुन्छ । विद्यार्थीहरूको इच्छा पनि यसैमा हुन्छ । तर डाक्टर बन्ने चाहना राख्नु र बन्नुमा धेरै फरक हुन्छ । अहिले नेपालमा शिक्षाको नाममा चरम व्यापारीकरण हुँदै गएको छ ।
डाक्टर बन्न खोज्नु र हुनुमा के फरक छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘शिक्षा किन्न सक्ने क्षमता छ भने डाक्टर हुन त्यति गाह्रो छैन । तर चिकित्सक बन्न एक तहको तपस्या, मिहिनेत गर्नैपर्छ । अहिले यो पेशामा लाग्ने अठोट सानै उमेरमा बनाइसक्नुभएको छ भने योसँग सम्बन्धित संघर्षलाई अगाल्ने अठोट गर्नुपर्छ ।’
‘यो पेशा भनेको यस्तो हो कि यसले प्रतिफल दिन्छ तर सधैं दिन्छ भन्ने हुँदैन । कहिलेकाँही तपाईंले गरेका संघर्षभन्दा ठूलो प्रतिफल दिन्छ, कहिले कम दिन्छ । कहिल्यै यो प्रतिउत्पादक पनि हुन सक्छ,’ उनले थपे ।