पुँजी बजारको तीव्र वृद्धिसँगै नियामकीय क्षमतामा सुधार गर्दैछौं : सेबोन अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पुँजी बजारको तीव्र विकाससँगै नियामक निकायको क्षमता अभिवृद्धि गर्नु अपरिहार्य रहेको बताएका छन् । धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सवका अवसरमा अध्यक्ष श्रेष्ठले बजार विस्तारको गतिसँगै संस्थागत विकास गर्न जरुरी रहेको बताए ।

बोर्डको संस्थागत क्षमता विकासमा चुनौती रहेको र त्यसअनुसार सुधारको प्रयास जारी रहेको उनको भनाइ छ । साथै बोर्ड बजारको माग र प्रवृत्तिअनुसार अनुकूल ढंगले काम गरिरहेको उनले बताए । 

गैर आवासीय नेपाली समुदायलाई पनि पुँजी बजारमा सहभागी गराउने योजनाअनुसार आवश्यक कार्य भइरहेको श्रेष्ठले उल्लेख गरे । लगानी प्रवर्द्धनका लागि बोर्डले अहिलेसम्म ५० अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन स्वीकृत गरिसकेको उनले जानकारी दिए ।

उनका अनुसार देशलाई ग्रे लिस्टबाट एक वर्षभित्र हटाउने प्रयासमा बोर्डले आफ्नो भूमिकाअनुसार योगदान गरिरहेको छ । भवन अभावका कारण भौतिक पूर्वाधार निर्माणमा केही ढिलाइ भए पनि बोर्डको भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ । 

धितोपत्र बजारमा हुने अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्न बोर्डले निरन्तर निगरानी र नियमन कार्य जारी राखेको अध्यक्ष श्रेष्ठले बताए ।

Share News