सिवाकोटी प्रतिवेदन सार्वजनिक, नयाँ स्टक एक्सचेञ्ज आवश्यक (पूर्णपाठ)

काठमाडौं । नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता रहेको विषय सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गरिएको अध्ययन प्रतिवेदनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँगै नयाँ स्टकको आवश्यकता रहेको निष्कर्ष निकालेको हो ।

नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने÷नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन–२०८१ सार्वजनिक गरिएको छ । सिवाकोटीको संयोजकत्वमा गरिएको अध्ययन प्रतिवेदनमा नेपालको पुँजी बजार तथा धितोपत्र बजारको सुरुदेखि हालसम्मको विकास क्रम, विद्यमान अवस्था, समस्या र चुनौती लगायत विषय समावेश गरिएका छन् ।

साथै, नेप्सेको पुनर्संरचना गर्नुपर्ने र थप एउटा स्टक एक्सचेञ्जको आवश्यकता रहेको निष्कर्ष समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उक्त स्टक एक्सचेञ्जलाई निजी क्षेत्रको लगानीमा सञ्चालन गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

शक्ति सन्तुलन तथा नियमनको आधारभूत सिद्धान्तको आधारमा नियामक निकायकै स्वामित्व भएको संस्थाले बजार संचालन गर्दा स्वार्थ बाझिन गई प्रभावकारी नियमन हुन नसक्ने भएकोले नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ । नयाँ स्टकलाई लाइसेन्स दिँदा अपनाउनु पर्ने मापदण्ड समेत उल्लेख गरि समितिले प्रतिवेदन तयार पारेको छ ।

धितोपत्र कारोबारको आकार वृद्धि, लगानीकर्ताको सहभागितामा बढोत्तरी, रोजगारी सृजना र सरकारको राजश्व वृद्धिमा पुर्याएको योगदान लगायतको अध्ययनबाट उत्पादनशील क्षेत्रमा मध्यमकालीन तथा दीर्घकालीन पुँजी परिचालन गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउन प्रतिस्पर्धी धितोपत्र बजारको महत्वपूर्ण भूमिका रहने समितिको निष्कर्ष छ ।

Share News