नाडाभित्र हाम्रा पीडा समेटिन नसक्दा नाइमा खोलेका हौं : रितुसिंह वैद्य

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट एण्ड म्यानुफ्क्चर्स एशोसिएसन (नाइमा) की अध्यक्ष रितुसिंह वैद्यले  अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा) मा आफ्ना पीडा तथा गुनासो नसुनेकाले नाइमाको जन्म भएको बताएकी छन् ।

नाडामा राजनीतिक गतिविधि बढ्दै गएको र नीतिगत तहमा प्रभावकारी लबिङ गर्न नसकेकाले नाइमा संस्था जन्मिएको व्यवसायीहरूले बताउँदै आएका छन् । यसै विषयसँग केन्द्रित रही हामीले अध्यक्ष वैद्यलाई ५ प्रश्न गरेका छौं : 

तपाईंहरूले नाइमा खोल्नुपर्ने अवस्था किन आइलाग्यो ?

नाइमा खोलिनुको मुख्य कारण नाडाभित्र धेरै सदस्य हुनु हो । त्यहाँ हाम्रा पीडा तथा गुनासोहरू कसैले सुनिदिएनन् । हामी आयातकर्ताहरूलाई आफ्नै एजेण्डा तथा आफ्नै पोलिसी चाहिएको थियो । पछिल्लो समय नीतिगत लबिङमा नाडा निकै कमजोर भयो अनि हाम्रा मुद्दा पनि उठाउन सकेन । त्यसकारण हामीले नाइमा खोल्न बाध्य भएका हौं ।  

सरकारले ल्याएको बजेटप्रति नाइमाको दृष्टिकोण कस्तो छ ?

सरकारले बजेट स्वागतयोग्य छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं । विद्युतीय सवारीसाधनमा कर बढाएको छैन, जसले गर्दा हामीलाई ठूलो राहत भएको छ । हामी एकदमै खुसी छौं । नाइमाको तर्फबाट सरकारलाई धन्यवाद दिन चाहन्छु। 

आवश्यकताभन्दा बढी ल्याएका ईभीले बजार पाउनेमा तपाईंहरू कत्तिको विश्वस्त हुनुहुन्छ ?

हाम्रा साथीहरूरुले आआफ्नो योजनाअनुसार नै बजेट आउनुभन्दा अगाडि भित्र्याउनुभएको हो । करको विषयलाई लिएर अहिले बजारमा आवश्यकताभन्दा बढी ईभी गाडी ल्याएको छ भन्नु हल्ला हो । यसमा उहाँहरूले आफ्नो तरिकाले बिक्री गर्नुहुन्छ होला, यसमा कुनै समस्या छैन । दुई-तीन महिनामै सबै बिक्री भइसक्छन् । बन्दरगाहमा एउटा पनि गाडी भेटिने छैन । 

नेपालको अटो क्षेत्रलाई सुधार गर्न नाइमाको भूमिका कस्तो रहनेछ ?

सबैभन्दा पहिले नाइमा खोलेको धेरै समय भएको छैन । यसको खास उद्देश्य नेपालको अटोमोबाइल क्षेत्रका समस्याहरू सरकारसमक्ष पुर्याउनु हो । हाम्रो  संरचना नै फरक किसिमको छ । नाइमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको मोबिलिटी क्षेत्रको सामूहिक आवाजलाई प्रतिनिधित्व गर्न, रणनीतिक सहकार्य, विकास र पैरवी गर्न एकीकृत मञ्चका रूपमा काम गर्नेछ ।

नाइमा र नाडा अब कसरी अगाडि बढ्नेछन् ? 

हामी नाडासँग सहकार्य गर्न तयार छौं । अहिले हामी नाइमा मोबिलिटी एक्स्पोको तयारीमा जुटिरहेका छौं । यदि नाडाले एक्स्पोमा सहकार्य गर्छ भने हामी तयार छौं । 

सरकारी निकायसँग सहकार्य गरेर अगाडि बढ्न कत्तिको चुनौती छ  ?

सरकारले निजी क्षेत्रलाई सधैं सकारात्मक रूपमा हेरिदिनुपर्छ । हामी सरकारसँग सहकार्य गरेरै जान्छौं । हाम्रा धेरै समस्या छन्, यी सबै समस्या सरकारले सम्बोधन गर्नेछ, यसमा हामी आशावादी छौं । नाइमाको आफ्नै योजना छ । हामीले खोलेको एक महिना पनि पुरा भएको छैन, जुन हामीले चाँडै पहिलो सिरिज सुरु गर्दैछौं । नाइमा मोबिलिटी एक्स्पो तपाईं साउन २१ गते देख्न सक्नुहुनेछ । हामी अटो क्षेत्रका समस्याहरूलाई लिएर अगाडि बढ्नेछौं ।

Share News