काठमाडौं । पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) को सेकेन्ड ह्याण्ड मूल्य घटेको भन्ने चर्चा बजारमा व्यापक छ । तर अटो व्यवसायीहरूले भने यो हल्ला मात्र भएको दाबी गर्दै ईभी र इन्धन गाडी (आईसीई) दुवैको रिसेल भ्यालु उस्तै रहेको बताउँछन् ।
फोर्ड गाडीका आधिकारिक बिक्रेता जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार, कुनै पनि गाडी किनेपछि बेच्दा किनेको मूल्यभन्दा कम नै पाउने परम्परा छ । उनले भने, ‘रिसेल भ्यालु सबै गाडीमा उस्तै हो । जुन ईभीमा मात्रै मूल्य घट्छ भन्ने हल्ला छ, त्यसमा कुनै तथ्य छैन । एक महिनामै बेच्दा पनि २०/२५ प्रतिशतसम्म मूल्य घट्नु सामान्य हो । ईभी मात्र घट्छ भन्ने गलत हो ।’
हाल नेपाली बजारमा ईभीको उपस्थिति तीव्र गतिमा बढ्दै गएको छ । गोल्छाका अनुसार आईसीईभन्दा ईभीमा धेरै फिचर र सुविधाहरू हुन्छन् । ब्याट्री क्षमता, कम चार्जिङ खर्च, वातावरणमैत्री प्रविधि र आधुनिक डिजाइनका कारण उपभोक्ताको आकर्षण बढ्दै गएको उनले बताए ।
उनका अनुसार अहिले धेरै ग्राहकहरूले इन्धन र ईभी दुवै प्रकारका गाडी प्रयोग गरिरहेका छन् । बजारमा नयाँ प्रविधि आउँदा उपभोक्तामा स्वाभाविक रूपमा आकर्षण बढ्ने उनको तर्क छ । अहिले नेपालमा बिक्री हुने कुल सवारीसाधनमध्ये करिब ७० प्रतिशत विद्युतीय गाडी भएको गोल्छाले जानकारी दिए ।
बीवाईडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इन्ककी महाप्रबन्धक यमुना श्रेष्ठले पनि रिसेल भ्यालुमा समस्या ब्याट्रीको मूल्य घटबढका कारण आउने बताइन् । उनका अनुसार इन्धन र ईभी दुवै गाडीको सेकेन्ड ह्याण्ड मूल्य कम नै पर्छ । उनले भनिन्, ‘ईभी नयाँ प्रविधि भएकाले सेकेन्ड ह्याण्ड कस्तो होला भन्ने बुझाउन नसक्दा मूल्य घटेको हो । जस्तो मोबाइल दुई महिनामै बेच्दा मूल्य झर्छ, गाडी पनि त्यस्तै हो ।’
श्रेष्ठले ४० मा किनेको गाडी एक वर्षपछि बेच्दा रिसेल भ्यालु ३५ लाख पाएपछि गाडी बेचेको सुनाइन् । उनले रिसेल भ्यालु राम्रो पाएको भन्दै खुसी भएको समेत बताइन् । अहिले बजारमा १०/१२ लाखदेखि ४/५ करोडसम्मका ईभी पाइने उनको भनाइ छ । मर्मतसम्भारको आवश्यकता समेत ईभीमा कम हुने उनी बताउँछिन् ।
महाप्रबन्धक श्रेष्ठले भनिन्, ‘अन्य सवारीसाधनहरुमा इन्धन हालिराख्नुपर्छ । मर्मत गरिराख्नुपर्छ । इन्जिन फेरिराख्नुपर्छ । ईभीमा न त तेल फेर्नुपर्ने झन्झट छ, न त इन्जिन बिग्रने चिन्ता । डर केवल सहज र कुशल यात्राको हुन्छ ।’
‘हाल संसार प्रविधिमैत्री बन्दै गइरहेको छ । ईभीमा आकर्षित हुनु राम्रो पक्ष हो । ईभी वातावरणमैत्री हुनुले पनि सबैको रोजाइमा परिरहेको हो,’उनले थपिन् ।
श्रेष्ठले हाल नेपालमा ५० भन्दा बढी ब्राण्डका ईभी चलिरहेका बताइन् । उनका अनुसार राजधानीमा सबैभन्दा धेरै ईभी गुडिरहेका छन् । २०१७ मा ५० हजार डलर पर्ने ईभी अहिले उस्तै प्रविधियुक्त २५ हजार डलरमै उपलब्ध रहेको पनि उनले जानकारी दिइन् ।
लक्ष्मी ई मोबिलिटीका प्रबन्धक दीपक थपलिया पनि ईभी र आईसीई दुवैको रिसेल भ्यालु उस्तै रहेको बताउँछन् । बजारमा फैलिएको हल्लामा विश्वास नगर्न उनले आग्रह गरे । ‘बजारमा आएका हल्लामात्र हुन् । दुवैको रिसेल भ्यालु उस्तै हो । एकै दिनमा पनि रिसेल भ्यालु फरक हुन्छ,’ उनले भने ।
यता एचबी मोटर्सका प्रबन्ध निर्देशक दीपेश हुमागाईं सेकेन्ड ह्याण्ड ईभी बिक्री गर्न समस्या भइरहेको बताउँछन्।
उनले भने, ‘सेकेन्ड ह्याण्डमा ईभी गाडी बेच्न गाह्रो छ । अधिकांश सेकेन्ड ह्याण्ड ईभी किन्न रुचाउँदैनन् । हामीले ५० लाखमा किनेको ईभीलाई छ महिनापछि बेच्दा ३०/३२ लाखसम्ममा बिक्री गर्नुपर्ने हुन्छ ।’ नेपालमा ईभी गाडीको आयात भर्खरै मात्र तीव्र रूपमा अघि बढेको हुनाले ईभी रिकन्डिसन बजारमा एकदमै कम आउने गरेको उनी बताउँछन् ।
उनका अनुसार नेपालको सेकेन्ड ह्याण्ड बजारमा ५ प्रतिशत मात्र ईभी बिक्रीका लागि आउने गरेका छन् ।ईभी गाडीको प्रयोग र आयात बर्सेनि तीव्र गतिमा बढ्दै गएको छ । नेपालका सडकमा विभिन्न ब्राण्डका विद्युतीय सवारीसाधनहरूको उपस्थिति दिनदिनै विस्तार भैरहेको छ । सरकारले पनि कर छुट, अनुदान र प्रोत्साहन नीति मार्फत ईभीलाई प्रोत्साहन गरिरहेको छ । तर यसरी नयाँ ईभीको माग उच्च हुँदै जाँदा समेत त्यसअनुसार सेकेन्ड ह्याण्ड बजार भने अपेक्षित रूपमा विकास हुन सकेको छैन ।
उपभोक्ता नयाँ प्रविधि, ब्याट्रीको दीर्घकालीन क्षमता र मर्मतसम्भारमा अनिश्चितता जस्ता कारणले पुराना ईभी किन्न अझै हिच्किचाइरहेका छन् । यसले गर्दा ईभीको रिसेल भ्यालु अझै कमजोर देखिएको विज्ञहरूको भनाइ छ।
आगामी दिनमा प्रविधि अझ परिस्कृत हुँदै जाँदा र उपभोक्तामा विश्वास बढ्दै जाँदा मात्र सेकेन्ड ह्याण्ड बजार पनि क्रमशः सबल हुँदै जाने उनीहरूको अनुमान छ ।