काठमाडौं । केही वर्ष अगाडि नेपालीका धेरै अस्पतालमा विशिष्टिकृत उपचार पाउन सक्ने अवस्था थिएन । पैसा हुनेहरू छिमेकी देश भारत लगायत सुविधा सम्पन्न देशहरूमा उपचार गराउँथे । तर, अहिले अवस्था फेरिएको छ।
एउटा व्यक्तिको अङ्ग झिकेर अर्को व्यक्तिमा जोड्ने प्रत्यारोपणको काम नेपाली चिकित्सक र स्वास्थ्य संस्थाले गरिरहेका छन् । पछिल्लो समय नेपालका सरकारी अस्पतालदेखि निजी अस्पतालले मिर्गौला, कलेजो लगायतका अङ्ग प्रत्यारोपणमा मात्र नभइ समग्र स्वास्थ्य सेवामा राम्रो फड्को मारिरहेका छन् ।
अझ निजी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरका सेवा पनि उपलब्ध गराउँदा विदेशीहरू पनि उपचारका लागि नेपाल आउने गरेका छन् ।
कलेजो प्रत्यारोपणमा मेडिसिटी
नेपालीहरूको कलेजो खराब हुने क्रम अहिले रफ्तारमा बढेको छ । पछिल्ला दिनहरूमा मोटोपन, बदलिँदो जीवनशैलीका कारण पनि कलेजो खराब हुँदै गइरहेको चिकित्सकहरू बताउँछन् । करिब एक दशक अगाडिको नेपालको स्वास्थ्यलाई हेर्ने हो भने कलेजो खराब हुँदा पनि फेर्न नेपालीहरूले भारत आइपुग्नुपर्थ्याे । नेपालमा सम्भव थिएन । अझ पैसा भएकाहरू ठूला ठूला देशसम्म पुग्थे । अहिले नेपालमै सरकारीदेखि निजी अस्पतालले कलेजो प्रत्यारोपण गरिरहेका छन् ।
नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा दिइरहेको नेपाल मेडिसिटी अस्पतालले ६ वर्षको प्रयासपछि कलेजो सफल प्रत्यारोपण गरेको छ । ललितपुरको भैंसेपाटीमा अवस्थित यो अस्पतालले ६ वर्ष पहिले स्वास्थ्य सेवा विभागमा अनुमति माग गरेको अस्पतालले एक वर्षपछि मान्यता पाएको थियो । त्यसपछिको प्रयासका बाबजुद जेठ ८ गते सफल कलेजो प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका हेपाटोसर्जन डा. रामबाबु शाह, हेपाटोलोजिष्ट डा. उमिद श्रेष्ठ सहितको टोलीले पोखराका ५६ वर्षका ईश्वर कार्कीको सफल प्रत्यारोपण गरेको हो । कार्कीलाई उनका २६ वर्षका छोरा आयुष कार्कीले कलेजो दान गरेका थिए ।
पहिलो पटक कलेजो प्रत्यारोपण सफल गरेको अस्पतालले यो कार्यलाई निरन्तरता दिने बताएको छ । अस्पतालका अध्यक्ष उपेन्द्र महतोले नेपाललाई स्वास्थ्यको हब बनाउने घोषणा गर्दै विदेशी नागरिकलाई पनि स्वदेशमा उपचार गर्न आउने अवस्था निर्माणका लागि लागेको बताए ।
‘हामी नेपालीलाई मात्र होइन, विदेशी नागरिकलाई पनि नेपालमा उपचार गर्न आउने वातावरण सिर्जनाका लागि लागिरहेका छौं, नेपालको प्रकृति, वातावरण नै उत्कृष्ट छ यही उत्कृष्टतालाई आधार बनाएर नेपाललाई स्वास्थ्यको हब बनाउन सकिन्छ,’ उनले भने । उनका अनुसार अहिले मेडिसिटीमा विदेशीहरू पनि उपचार गर्न नेपाल आउने गरेका छन् ।
लिंग परिवर्तनमा शिक्षणको सफलता
नेपालमै पहिलो पटक लिंग परिवर्तनको शल्यक्रिया पनि भर्खरै सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले लिंग परिवर्तन शल्यक्रिया सफल गरेको हो । अस्पतालले गत जेठ १३ गते ६ घण्टा लगाएर शल्यक्रिया सफल गरेको जानकारी गराएको थियो ।
जनकपुरका २५ वर्षका ट्रान्सजेन्डर पुरुषको यौनाङ्गलाई महिलाको यौनाङ्गमा सफल रूपमा परिवर्तन गर्न अस्पताल सफल भएको हो । जेठ १२ गतेदेखि १५ गतेसम्म चार दिन लगाए जेण्डर एफर्मिङ सर्जरी अर्थात् स्तन वृद्धि, स्त्री रूपमा परिवर्तन सफलता पूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ ।
विदेशी प्लाष्टिक सर्जन डा. एलीरेजा हमिदियन जोरामीको नेतृत्वमा अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख प्रा.डा. जयमान श्रेष्ठको टोलीले सबै शल्यक्रिया सफलताका साथ सम्पन्न गरेको हो ।

शिक्षण अस्पतालले जेण्डर एफर्मिङ क्लिनिक स्थापना गरेर चाहाना भएका ट्रान्स जेण्डर महिला र पुरुषको शल्यक्रिया गर्ने योजना बनाएको छ । यसले लिंग परिवर्तन गर्न चाहने ट्रान्स जेण्डर महिला र पुरुषलाई सहज बनेको छ ।
नेपाल ब्लु डाइमण्ड सोसाइटीले त्रिवि शिक्षण अस्पतालले गरेका सफल शल्यक्रियाले धेरै ट्रान्स जेण्डरलाई सहज हुने बताएको छ । अध्यक्ष युनिसा पाण्डे भन्छिन्, ‘हाम्रा धेरै साथीहरूले यसैको लागि विभिन्न देश धाउनुपर्थ्यो, पैसा पनि उत्तिकै खर्च हुन्थ्यो, शल्यक्रियासमेत उस्तै महँगो हुन्थ्यो, अब नेपालमै यो सेवा पाउँदा धेरै साथीहरूलाई राहत पुग्ने छ ।’
विश्वका अन्य मुलुक जस्तै नेपालमा पनि यौनिक अल्पसंख्यक समुदायको संख्या बढ्दै गएको छ । समाजको डरले लुकेर बसेकाहरू खुलेर आउन थालेसँगै आफ्नौ चाहनाअनुरुप आफूलाई चिनाउने प्रयासमा लिंग परिवर्तन गर्न थालेको धेरै भइसक्यो । नेपालमा अंग परिवर्तन नहुँदा करोड रुपैयाँसम्म खर्च गरेर उनीहरू विदेश जानुपर्ने बाध्यता थियो । तर अब नेपालमै अंग परिवर्तन गर्न सकिने भएको छ ।
छाला प्रत्यारोपणमा कीर्तिपुरको कीर्तिमानी
नेपालमा अन्य अंगजस्तै छाला प्रत्यारोपण पनि गरिन्छ । कीर्तिपुर अस्पतालले १२ वर्ष अगाडिदेखि नै छाला बैंक स्थापना गरे छाला प्रत्यारोपण गर्न सुरु गरेको हो । गहिरो जलनमा परेका बिरामीलाई छालाको आवश्यकता पर्ने भएकाले छाला प्रत्यारोपण सुरु गरिएको हो ।
जलनका बिरामीहरूका लागि सहजता होस् भन्ने उद्देश्यले कीर्तिपुर बर्न अस्पतालले सन् २०१४ मा अस्पतालमा छाला बैंक स्थापना गरेको थियो । जीवित र मरिसकेका व्यक्तिको छाला लिएर आवश्यकता भएका व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । जीवित व्यक्तिबाट छाला लिन समस्या हुने भएकाले मरणपश्चात दान गरिएको छाला जलनबाट ग्रसित व्यक्तिमा प्रत्यारोपण गरिन्छ ।

यसको लागि कुनै व्यक्तिको मृत्यु भएको ६ घण्टा भित्र र फ्रिजमा भए १२ घण्टाभित्र छाला झिकि सक्नुपर्ने हुन्छ । तर नेपालमा व्यक्तिको मरणपश्चात पनि छाला दान गर्नेहरूको संख्या निकै कमी भएको अस्पतालले जनाएको छ । छाला दानमा परिवार आफन्त नै हिचकिचाहट गर्ने गरेको चिकित्सकहरू बताउँछन् ।
मिर्गौला प्रत्यारोपण
नेपालका सबै अंग प्रत्यारोपणमध्ये सबैभन्दा पहिले सुरु भएको हो- मिर्गौला प्रत्यारोपण । नेपालमा २०६४ सालमा सबैभन्दा पहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रत्यारोपण सुरु भएको थियो । हाल धेरै सरकार र निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । संख्याको हिसाबले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भक्तपुर सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिएको छ भने अन्य निजी अस्पतालमा पनि प्रत्यारोपण गरिन्छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा १ सय ५३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको छ भने ५ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ३ सय १० जना बिरामीको मिर्गौला प्रत्यारोपण र २० जना बिरामीको कलेजो प्रत्यारोपण गरिएको थियो ।

बोनम्यारो प्रत्यारोपण
नेपालमा बोनम्यारो प्रत्यारोपण सुरु भएको पनि केही वर्ष भइसकेको छ । सन् २०१२ मा सिनामंगलमा रहेको नोबेल अस्पतालले पहिलो पटक बोनम्यारो प्रत्यारोपण गरेको थियो । बोनम्यारो भनेको हड्डीभित्रको नरम स्पञ्जी तन्तु हो ।
जसले रक्तकोषहरू उत्पादन गर्छ । रातो बोनम्यारो र पहेंलो बोनम्यारो गरी यो दुई किसिमको हुन्छ । यी कोषहरूले काम गर्न छोडेपछि व्यक्तिको शरीरमा रगत उत्पादन बन्द हुन्छ । यसको प्रत्यारोपण गर्दा रक्त बनाउने कोषहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सारिन्छ । अहिले नेपालमा सिभिल अस्पताल लगायतका विभिन्न अस्पतालबाट यो सेवा सुरु छ ।

प्रविधिमा पनि फड्को
अंग प्रत्यारोपणमात्र होइन अन्य विभिन्न स्वास्थ्य उपचारमा समेत नेपालले फड्को मारेको छ । अत्याधुनिक उपकरण औजार सामग्रीहरू पनि नेपालका निजी र सरकारी अस्पतालमा उपलब्ध छन् । पहिले बिरामीलाई कुनै पनि दुखाइ कम गर्ने औषधीको प्रयोग बिना शल्यक्रिया गरिन्थ्यो भने अहिले दुखाइ बिना नै ठूलो घाउ समेत नबनाइ शल्यक्रिया गरिन्छ ।
नाइलनको डोरीले बोरा सिलाएजस्तो अप्रेशन गर्नुपर्ने अवस्थाबाट दुरविनको सहायताले अप्रेसन गर्नुपर्ने अवस्थामा स्वास्थ्य क्षेत्र पुगेको उनी वीर अस्पतालको न्यूरो सर्जरी विभागमा कन्सलटेन्ट सर्जन डा. सुशीलमोहन भट्टराई बताउँछन् ।
उनी कोरोना कालपछि नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको बताउँछन् । उनी भन्छन्, ‘धेरै लामो समय भएको छैन, छोटो समयमा नेपालको स्वास्थ्य क्षेत्रले चमत्कारिक उपलब्धि हासिल गरेको छ, अब कुनै पनि रोगको उपचारका लागि विदेश जानुपर्ने अवस्था छैन ।’
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वराज राजभण्डारी पनि समयसँगै स्वास्थ्य सेवाले अपत्यारिलो फड्को मारेको बताउँछिन् ।
चिकित्सकको संख्या पनि बढ्दो
उपचारमा मात्र होइन, पछिल्लो समय चिकित्सक, विशेषज्ञहरूको संख्या समेत बढेको छ । ४० वर्ष अघि औंलामा गन्न सकिने प्रसूति रोग विशेषज्ञको संख्या अहिले निकै बढेको छ । नेपालभर ८ सयभन्दा बढी स्त्री तथा प्रसूति रोग विशेषज्ञहरू मात्र छन् । यत्तिकै संख्यामा अन्य क्षेत्रमा पनि चिकित्सक, नर्स, एएनएमहरूको संख्या पनि बढेको छ ।
२०८१ फागुनसम्म नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल परिषद, नेपाल फार्मेसी परिषद लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या ३ लाख ६६ हजार ५ सय ५ पुगेको छ ।
२०८१ फागुनसम्म यो सङ्ख्या ३ लाख २२ हजार २ सय ५४ रहेको थियो भने ३२ हजार २ सय ४७ मेडिकल चिकित्सक, ५ हजार ३ सय ४७ दन्त चिकित्सक, ११ हजार ६ सय १६ विशेषज्ञ चिकित्सक र ३ सय ९५ विदेशी चिकित्सक गरी कुल ११ हजार ६ सय १६ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् ।
नर्सिङ काउन्सिलमा १ हजार ६९५ विशेषज्ञ नर्स, ८५ हजार ७ सय ७८ नर्स, ३७ हजार ५ सय २८ अनमी ९१ मिडवाईफ र ८ सय ५५ विदेशी नर्स समेत गरी १ लाख २५ हजार ९ सय ४७ नर्स दर्ता भएका छन् भने नेपाल स्वास्थ्य व्यवसायी परिषदमा कुल १ लाख ६२ हजार ४ सय ९२ स्वास्थ्यकर्मी दर्ता भएका छन् । नेपाल आयुर्वेद मेडिकल परिषद्मा ६५४२ र नेपाल फार्मेसी परिषदमा २१ हजार ९ सय ३७ स्वास्थ्यकर्मी दर्ता भएका छन् ।
पूर्वाधार विकासमा फड्को
नेपाल भित्रैको कुरा गर्ने हो भने पनि केही वर्ष पहिलेसम्म काठमाडौं, पोखरा लगायतका ठूल-ठूला सहरहरूमा मात्र अस्पतालहरू केन्द्रित थिए । तर आजभोलि हरेक जिल्लामा ठूला अस्पतालहरू सञ्चालनमा आएका छन् ।
स्थानीय तहमा आवश्यकताअनुसार ५ शैया, १० शैया र १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने नीति अनुरूप २०८१ फागुनसम्म १ सय १३ स्थानीय तहमा अस्पताल निर्माण गर्ने कार्य भएको देखिन्छ ।
यसैगरी, ३ सय १६ स्थानीय तहमा अस्पताल निर्माण कार्य भइरहेको छ । साथै, सहरी विकास तथा भवन निर्माण विभागबाट निर्माण गरिने एक सय १९ स्वास्थ्य संस्था मध्ये १३ को निर्माण कार्य सम्पन्न भएको छ ।
विज्ञहरू नेपालमा अन्य क्षेत्रमध्ये सबैभन्दा विकासको गति लिएको क्षेत्र स्वास्थ्य भएको बताउँछन् । २०४७ साल पछि अहिलेसम्म हेर्ने हो भने स्वास्थ्य क्षेत्रले निकै फड्को मारेको उनीहरूको भनाइ छ । स्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘अहिले सबैभन्दा प्रगति केमा भएको छ भनेर कसैले सोध्दा म स्वास्थ्य क्षेत्रमा भन्छु, अंग प्रत्यारोपणदेखि जटिल रोगको उपचार पनि नेपालमै सम्भव हुनु सकारात्मक मात्र होइन निकै राम्रो हो ।’
नेपालीको औषत आयु ७२ वर्ष पुगेको छ । मातृ मृत्युदर पनि ५ सय ३९ बाट घटेर अहिले १ सय ५० मा पुगेको छ । बाल मृत्युदर पनि घटेको छ । यी गतिविधिले स्वास्थ्य क्षेत्रले राम्रो काम गरिरहेको डा. मरासिनी बताउँछन् । तर अहिलेसम्म पनि कुपोषण भने घटाउन नसकेको उनको भनाइ छ । उनका अनुसार अहिले पनि पाँच वर्ष भन्दामुनिको तीन बच्चामध्ये एक बच्चा कुपोषित रहेको पाइन्छ ।

अंग प्रत्यारोपणमा कानुन आवश्यक
स्वास्थ्य क्षेत्रमा नेपालले मारेको फड्को राम्रो भएपनि अझै कानुनी जटिलता हुँदा भने जोखिम देखिने डा. मरासिनी बताउँछन् । २०५६ मा बनेको अंग प्रत्यारोपण ऐनले अंग प्रत्यारोपण गरेको २ वर्षभित्र त्यो व्यक्तिको मृत्यु भएमा सर्जनलाई जन्मकैद गर्ने भन्ने उल्लेख थियो तर त्यो लागू भएन ।
दोस्रो शंसोधनबाट यो कुरा कानुनबाट हटाइयो । त्यसपछि नेपाल कलेजो प्रत्यारोपण सुरु भएको हो । मिर्गौला र कलेजोको कुरा कानुनमा भएपनि लिंग परिवर्तन, टेस्टट्युब बेवी लगायतका विषयमा स्पष्ट कानुन छैन । कानुन नबन्दा भविष्यमा जोखिम आउन सक्ने भन्दै चिकित्सकले ठूलो चुनौती खेप्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन् ।
‘टिचिङले लिंग परिर्वतन गर्न सक्यो, विभिन्न आइभीएफ केन्द्र छन् तिनले टेस्टट्युब बेवी बनाइरहेका छन्, सरोगेसी आमा बन्ने कुराहरू पनि छन् यसमा स्पष्ट कानुन हुनुपर्छ,’ उनले भने ।
यो गर्न हुन्छ कि हुँदैन कहाँबाट अनुमति लिइयो, कुन कानुनले त्यसलाई अनुमति दियो भन्ने कुरा आउँछ । चिकित्सकले राम्रो काम गर्यो तर, भोलि कानुनी रुपमा उनीहरू फस्न सक्ने सम्भावना आउन सक्छ,’ डा. मरासिनीले थपे । उनी अस्पताल ऐनको पनि जरुरी रहेको बताउँछन् ।