नेपालमा तीव्ररूपमा बढ्दै मानसिक समस्या, ४ जनामध्ये १ जोखिममा

काठमाडौं । स्वास्थ्यलाई मानसिक र शारीरिक गरी दुई क्षेत्रमा वर्गीकरण गरिन्छ । शरीरका अंगहरूसँग सम्बन्धी विभिन्न रोगहरूलाई शारीरिक स्वास्थ्य समस्याका रूपमा चिनिन्छ भने मानसिक स्वास्थ्य भनेको मनभित्रको समस्या हो । बाहिरबाट हेर्दा न कुनै समस्या भएको जस्तो देखिन्छ, न कुनै अंग दुखेको हुन्छ । तर पनि मान्छेमा यो समस्या आजभोलि तीव्र रूपमा बढ्दै छ । 

कुनै पनि व्यक्तिले आफ्नो बौद्धिक क्षमता प्रयोग गरेर हरेक काम गर्ने गर्छ । व्यक्तिले बौद्धिक क्षमता प्रयोग गरी पारिवारिक जीवन, सामाजिक जीवन र व्यक्तिगत अन्तरसम्बन्धका कुराहरूलाई प्रभावकारी ढंगमा आफ्नो भूमिका निर्वाह गर्ने र समाजलाई पनि योगदान दिन सक्ने क्षमता भनेर मानसिक स्वास्थ्य समस्यालाई बुझिन्छ । मानसिक स्वास्थ्यमा समस्या भइसकेपछि विभिन्न पक्षमा असर पर्छ । 

शारीरिक समस्यामा लक्षण पहिचान गर्न सजिलो हुन्छ । कुन ठाउँमा समस्या भएको हो भन्ने थाहा पाउन सकिन्छ । तर मानसिक समस्यामा कहिलेकाँही लक्षणको बारेमा जानकारी नै नहुने हुन्छ । तर यो भन्दै गर्दा यसमा लक्षण बुझ्नै नसकिने, थाहै नहुने भन्ने हुँदैन । सामान्यतया मानिसले आफ्नो दैनिकीमा केही परिवर्तन भएको छ र सधैको भन्दा यो फरक छ भने किन यस्तो भयो कतै मलाई मानसिक स्वास्थ्य समस्या त भएन भने सम्झनुपर्छ ।

यो परिवर्तनलाई पनि दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो आफैले थाहा पाउन सकिने अवस्था जस्तै मेरो जीवनशैलीमा के परिवर्तन भइरहेको छ, त्यसले मलाई कस्तो कठिनाइ बनाइरहेको छ भनेर जान्न सकिने अवस्था हुन्छ जसलाई न्यूरोसिस पनि भनिन्छ । अर्को आफ्नो अवस्थामा जानकारी नै नहुने । कतिपय अवस्थामा मान्छे विक्षिप्त अवस्थामा पुगेको हुन्छ । आफू कहाँ छु, के गरिरहेको छु भन्ने नै थाहा हुँदैन जसलाई साइकोसिस पनि भन्ने गरिन्छ । 

null

डा. सुनिल रेग्मी

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको दैनिक जीवनको कुरा गर्दा सबैभन्दा पहिले उसको भोक निन्द्रा प्रभावित हुन्छ, जस्तै हामीले गर्ने काममा जसरी दत्तचित्त भएर ध्यान दिन्छौं त्यो हराउँदै जान्छ । पहिले हामीलाई जे–जे कुरा गर्न मन लाग्थ्यो, जुन चिजमा रुचि हुन्थ्यो यो एकाएक हराउने हुन्छ । यो समस्याको कुरा गर्दा धेरै चरणहरू हुन्छन् । एन्जाइटी, डिप्रेसन इत्यादि । 

कुनै पनि व्यक्तिलाई एन्जाइटी हुँदा अत्यधिक चिन्ता हुने, त्रासको विचार आउने, विभिन्न शारीरिक लक्षणजस्तो छातीसम्बन्धी समस्या हुने, मुटु ढुकढुक हुने, हातहरु काँप्ने, पसिना आउने जस्ता केही शारीरीक लक्षणहरू हुन्छन् । यस्ता लक्षणहरूलाई मध्यनजर गरेर मलाई केही समस्या भयो कि भन्नेबारे अन्दाज लगाउन सकिन्छ । 
जीवन भनेको सधै एउटै लाइनमा चलिरहँदैन । उतार–चढावहरू आइरहन्छन् । यो सामान्य जीवनको अंग हो । यसलाई जीवनको सामान्य फेरबदल भनेर बुझ्न सक्छौं । तर यो समस्या लामो समयसम्म रहिरह्यो अथवा अधिक मात्रामा अचानक देखिन थाल्यो  यसले गर्दा हाम्रो जीवनमा मुख्य जिम्मेवारीमा दीर्घकालीन असर पार्दै जान थाल्यो भने मलाई समस्या भयो भनी हेक्का राख्नुपर्ने हुन्छ । 

कतिपय बिरामीहरूमा देखिने लक्षण सामान्यतया जीवनयापनमा अथवा सामान्य जीवनमा पनि महसुस गर्ने भइरहेकै हुन्छ । त्योभन्दा बढी बिरामी नै भएको हुँदैन । यो सामान्य अवस्थामा, सामान्य जीवनयापनमा देखिएका लक्षणदेखि लिएर आफ्नो वास्तविकताबाटै बाहिर पुग्ने अधिक अवस्थामा विक्षिप्तताको जुन अवस्था हुन्छ, त्यहाँ आफ्नो परिचय, आफ्नो सामाजिक जीवन, आफ्नो पारिवारिक जीवन, व्यवसायिक जीवनभन्दा मानिस अलग हुन्छ।

डिप्रेसन अलग खालको समस्या हो भने एन्जाइटी अर्कै खालको हो । साइकोसिससम्बन्धी समस्या अर्कै हुन्छ । जसरी हामीले शारीरिक स्वास्थ्यमा ब्लडप्रेसर, डाइबिटीज, थाइराइडजस्तै भन्छौं, त्यस्तै डिप्रेसन, एन्जाइटी पनि मानसिक स्वास्थ्य भित्रको फरक–फरक समस्या हुन् । कहिलेकाँही लक्षण समान किसिमको देखापर्न सक्छन् तर यी फरक-फरक हुन् । हरेक प्रकारको  आफ्नै किसिमको गम्भीरताको चरणहरू हुन्छन् । 

मानसिक स्वास्थ्य समस्या के कारण लाग्छ ?

मानसिक स्वास्थ्य समस्याको यही कारण भन्न सकिँदैन । यसलाई खासगरी तीन प्रकारमा वर्गीकरण गरिन्छ । एउटा व्यक्तिको आफ्नो जैविक कारण- जुन हर्मोनल र वंशाणुगत कारणले हुन्छ । अर्को वातावरणीय कारण । जस्तै व्यक्तिको वरिपरिको समाज कस्तो छ ? परिवारको अवस्था कस्तो छ, वरिपरीको वातावरण कस्तो छ, व्यक्तिले त्यो समाजभन्दा आफूलाई के फरक पाउन सक्छ भन्ने हुन्छ । अनि अर्को रहेको छ– मनोवैज्ञानिक कारण । कसैमा धेरै हिनताबोध हुँदा, धेरै नकारात्मक भावना उत्पन्न हुँदा मनोरोगको समस्या देखिन सक्छ ।

नेपालमा भएको पछिल्लो अध्ययनले १० देखि १५ प्रतिशत व्यक्तिलाई तत्कालै मानसिक स्वास्थ्यको उपचारको आवश्यकता भएको देखाएको छ । धेरै मात्रामा डिप्रेसन एन्जाइटीको समस्या भएको पाइएको छ ।

null

समयमै पहिचान गर्न सक्यो भने निको हुन्छ

यो रोग निको हुन्छ कि हुँदैन भन्ने प्रश्नमा व्यक्तिमा निर्भर रहन्छ । अर्को कुरा रोगलाई वर्गीकरण गरेर हेर्नुपर्ने हुन्छ । व्यक्तिको रोगसम्बन्धी गम्भीरता कस्तो किसिमको छ, अरू जोखिमका कारणहरू के कति छन् ? रोगकै कुरा गर्दा एन्जाइटी अथवा डिप्रेसनका बिरामीहरूमा एउटा निश्चित समयमा औषधी खाएपछि यो समस्याबाट बाहिर निस्कन सक्छन् र बाँकी आफ्नो नर्मल जीवनयापन गर्न सक्छन् । सिजोफेर्निया जस्ता बिरामीहरूले जीवनभर औषधी खानुपर्ने हुन्छ । एउटा राम्रो पक्ष भनेको औषधी डोज मिलाएर नियमित खायो भने नर्मल जीवनयापन बिताउन सक्ने सम्भावना हुन्छ । 

मानसिक समस्याले आत्महत्याको सम्भावना उच्च 

मानसिक बिरामीमा रोगकै कारण कुनै शारीरिक जटिलता आएर मृत्यु हुनेभन्दा पनि आत्महत्याको सम्भावना उच्च हुन्छ । यसका कारण मृत्यु हुने सम्भावना जहिले पनि बढी रहन्छ । अहिले पनि विश्वभरिको रेकर्ड हेर्यो भने चौंथो पाँचांै नम्बरमा आत्महत्याको कारण मृत्यु हुने संख्या बढ्दै गएको छ ।  रोगलाई बेलैमा निदान गर्यौ, बेलैमा उपचार गर्यौं भने यस्तो परिवेशबाट बचाउन सकिन्छ । बिरामीको विचारमा भावनामा सोच्ने शैलीमा परिवर्तन हुँदा यस्तो निर्णयमा व्यक्ति पुग्न सक्छ । आफ्नो परिवेशलाई आफ्नो अवस्थालाई सही पहिचान नगर्दा यस्तो कदम उठाउने परिवेशमा मान्छे पुग्न सक्छ । यो पनि रोगको प्रकार हेरेर हुन्छ । 

नकारात्मक भावनाबाट उत्प्रेरित हुँदा मान्छे अन्तिममा के गर्दा मैले मुक्ति पाउँछु भन्ने अवस्थामा आइपुग्दा आत्महत्याको बाटोमा पुग्ने गर्छन् । रोगको उचित उपचार नहुँदा पनि समस्या आउँछ अनि मान्छे यस्तो निर्णयमा पुग्न सक्छन् । कहिलेकाहीँ बिरामीको बिकारको अवस्थाले गर्दा थाहै नपाइ आफ्नौ ज्यान फालेको अवस्था पनि देखिन्छ । 

अस्पताल पुग्ने न्यूरोसिसका बिरामी धेरै

अहिले धेरै संख्यामा न्युरोसिसकै बिरामीहरू उपचारको लागि अस्पताल पुग्ने गर्छन् । निन्द्रामै समस्या भइसकेपछि अब देखाउनुपर्छ, मलाई केही समस्या भएको हो कि भन्ने हुन्छ । अत्यधिक डर लाग्ने, आत्तिने जस्ता लक्षणले पनि बिरामीहरू उपचारका लागि आउँछन् । सामाजिक जिम्मेवारी, आफ्नो काम कर्तव्य पुरा गर्न नसकेको अवस्थामा पनि किन यस्तो भयो भने बिरामीहरू उपचारको लागि आउँछन् । यो समस्या जुनसुकै उमेरका बालबालिका, युवा वयस्क, वृद्धवृद्धालाइ पनि समस्या देखिन्छ । तर सेवा लिन बढी युवा वर्ग आइरहेका छन् । बालबालिका, वयस्क पनि आउनुहुन्छ ।

जोगिने कसरी ?

जैविक कुरालाई भने हामी परिवर्तन गर्न सक्दैनौं । परिवर्तन गर्न सकिने वातावरणीय कारण परिवर्तन गर्न सकिन्छ । आफू कसरी आफ्नो वातावरणसँग जोडिने, अरुसँग कसरी सम्बन्ध गाँस्ने, नकारात्मक विषयबाट टाढा रहने कुरा मनोविज्ञानमा पर्छन् । मुख्य कुरा हामी सकारात्मक हुनुपर्छ । सकारात्मक बनौं, सकारात्मक सोचौं । यदि गर्दा हामी मजाले जोगिन सक्छौं । 

व्यायाम, योगा खानपानदेखि अरू जीवनशैलीले मानसिक स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भूमिका खेलेको हुन्छ । स्वथ्यकर जीवनशैलीको जुन सिद्धान्त छ त्यो मानसिक स्वास्थ्यका लागि पनि फाइदा हुन्छ भने हामीले अपनाउने जीवनशैली, हामीले राख्ने सोच, व्यक्तिहरूसँग गर्ने भावनाको आदानप्रदान राम्रो हुनुपर्छ । यसकै पृष्ठभूमिबाट यो समस्या आएको हुन्छ ।

हामीले कति महत्वाकांक्षा राख्ने, हाम्रो क्षमताको सही पहिचान कसरी गर्ने, हाम्रो वरिपरिको परिवेशमा कसरी अन्तरसम्बन्ध कसरी राख्ने भन्ने विषयमा पनि ध्यान दिनुपर्छ । 

तथ्यांकले नेपालमा हरेक ४ जनामध्ये एक जनालाई कुनै न कुनै किसिमको मानसिक समस्या भएको देखाएको छ । कति पहिचानमा आएका छन् त कति छैनन् । अहिले बहुआयामिक  परिवर्तन हुँदैछ । नेपालकै कुरा गर्ने हो भने हरेक परिवारको संरचना परिवर्तन भएको छ, हामी आधुनिक युगमा आउँदै गर्दा सामाजिक अन्तक्रिया, अरू सम्बन्धमा पनि अन्तरसम्बन्धमा पनि बहुआयामिक परिवर्तन हुँदैछ । यसले गर्दा यसको पृष्ठभूमिमा मनोरोगको जोखिम थपिएको छ । 

अहिले सूचनाको लागि हामीसँग सुविधा छ । योसँग सम्बन्धित स्वास्थ्यकर्मीहरू, सीपयुक्त परामर्शकर्ताहरू हुनुहुन्छ । अझ काठमाडौं उपत्यकालगायत सहर बजारमा उहाँहरूको उपलब्धता सहज छ । तर दूरदराजमा अहिले पनि केही समस्या छ । तर पनि हरेक जिल्ला, प्रदेशमा केही मात्रामा मनोपरामर्शकर्ताहरू उपलब्ध छन् ।
 
आफ्नो नजिकको स्वास्थ्यसंस्था वा स्वास्थ्यकर्मीसँग गएर पनि हामीले आफ्नो समस्याबारे भन्न सक्छौं ।  यो परिवेशलाई पहिचान गरेर यसमा काम गर्न स्थानीय, प्रदेश केन्द्र सबै सरकारले लाग्नुपर्ने आवश्यक्ता छ । तर आजभोलि केही पहल भइरहेको छ तर त्यो पर्याप्त छैन । स्वास्थ्य संस्थामा मानसिक समस्याका बारेमा जानकारी गराउने परामर्शदाता हुनुपर्ने कुराहरू पनि आइरहेको छ भने स्थानीय तहमा पनि केही प्रयासहरू भइरहेको देखिन्छ । (मनोचिकित्सक डा. सुनिल रेग्मीसँग गरिएको कुराकानीमा आधारित)

Share News