'सेयर बजारको सुधारले अर्थतन्त्रलाई गति दिन्छ'

काठमाडौं । नेपाली अर्थतन्त्रमा सेयर बजारको प्रभावबारे छलफल गर्न मोरङ उद्योग व्यापार संघको आयोजनामा विजटक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर फ्युजन र रोटरेक्ट क्लब अफ विराटनगरको सहकार्य तथा शुभकामना सेक्युरिटिजको प्रायोजनमा आयोजित कार्यक्रम संघको कार्यालयमा सम्पन्न भयो ।

कार्यक्रमको संयोजन मोरङ उद्योग व्यापार संघका कार्यकारिणी सदस्य ओम प्रकाश शर्माले गरेका थिए । प्यानलमा मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाई, विशाल मैदा मिलका प्रबन्ध निर्देशक विकास कुमार बेगवानी, शुभकामना सेक्युरिटिजका प्रोमोटर निखिल अग्रवाल सहभागी थिए । कार्यक्रमको मोडरेसन केतन बोहराले गरे ।

स्वागत मन्तव्यका क्रममा संयोजक शर्माले नेपालको सेयर बजार विकासको चरणमा भए तापनि अस्थिर रहेको बताए । उनले अस्पष्ट नीतिहरू, नियमनको अभाव र लगानीकर्ताको विश्वास घट्नुले बजारमा अस्थिरता ल्याएको उल्लेख गरे । साथै, उनले आईपीओ प्रक्रिया सरल बनाउने, निजी क्षेत्रको सहभागिता प्रोत्साहन गर्ने र नीतिगत स्पष्टता ल्याउने खालका सुधारबाट दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न सकिने धारणा राखे ।

प्यानलमा सहभागी वक्ताहरुले पनि सेयर बजारको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे आफ्ना विचार राखे । सहभागीहरुद्वारा उठाइएका जिज्ञासामा प्यानल सदस्यहरुले प्रस्टिकरण दिएका थिए ।

कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीसहित पदाधिकारी, कार्यसमिति सदस्य, युवा तथा महिला उद्यम समिति, विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी, सेयर लगानीकर्ता, सञ्चारकर्मी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम मकालु टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

Share News