काठमाडौं । उइ.. आज नाप माठा भैगो रैछ ब्यान्तारो हपै आइगयो (ओहो आज अलि ढिला भइसकेछ बिहानको तारा नजिकै आइसकेछ) बज्यै (हजुरआमा) को यो आवाज सुन्ने बित्तिकै निन्द्राले छोड्थ्यो । निन्द्रा भगाउन दुवै हातले बेस्सरी आँखा मिच्थें । उत्सुकताको अगाडि निन्द्रा पनि हराउँदो रहेछ । बज्यैको स्वर सुन्ने बित्तिकै हस्याङफस्याङ गर्दै तारा हेर्न मन आतुर हुन्थ्यो ।
घर भित्रबाट बाहिर निस्कन पनि कहाँ सजिलो थियो र ! न बिजुली, न टर्च । मट्टीतेल हालेर बनाइएको टुकी बाल्न पनि आगो चाहिन्थ्यो । तर सुर चलेपछि के उज्यालोको आवश्यकता हुँदो रहेछ र । बज्यैको स्वर पच्छ्याउँदै अँध्यारोमै छामछुम पार्दै कुदिन्थ्यो । अँध्यारो, राम्रोसँग नखुलेका आँखा कहिल्यै भित्तामा टाउको बज्रिन्थ्यो त कहिले दैलोमा । तारा हेर्ने अत्यासले भित्रबाट बाहिर आउँदा कति चोट खाइयो आफैलाई थाहा छैन । कहिले घैटौंभरि राखेको पानी पोखिएर आफै चिप्लियो, आफ्नै निधार ठोक्किँदै कुदेका ती दिनहरू अहिले सम्झँदा अनौठो लाग्छ ।
बिहान उज्यालो भएको आभास आकासको ताराले बताइदिन्थ्यो । न बिजुली न घडी । आफ्नै छाया हेरेर यति बज्यो भन्ने अन्दाज गरिन्थ्यो । अहिले जस्तो समय बताइदिने हात हातमा घडी कसैको थिएनन् । बज्यैले आकास, घाम हेरेर समय छुट्याएको थाहा पाउँदा अच्म्म लाग्थ्यो । आफ्नो छाया आफ्नै शरीरभन्दा सानो देखिँदा दिउँसोको १२ बजेको ठानिन्थ्यो । अँध्यारोलाई चुनौती दिँदै बाहिर निस्किसकेपछि बज्यैलाई सोध्थें, ‘ब्यान्तारो काँ छ ?’ बज्यैले आकाशतिर औंला देखाउँदै भन्नुहुन्थ्यो, ‘ऊ त्यो सबैभन्दा चम्किलो तारा छ नि, हो त्यो ब्यान्तारो हो । यो तारा जहिले बिहान आउँछ, यो आइसकेपछि उज्यालो भयो भन्ने थाहा पाउनुपर्छ ।’
बज्यैले तारा देखाउँदै ताराको बारेमा भनिसकेपछि अरू ताराको बारेमा पनि जान्ने रुचि हुन्थ्यो । कतिपय ताराको बारेमा भनेको आफै बिर्सिसकें पनि । तर, जहिले मलाई निदाउन नदिने, अनि आमालाई छिटो उठ्न संकेत दिने यो ताराले जहिले बज्यैले बिहान सुरु भएको संकेत दिइसक्थ्यो । तारा हेरिसकेपछि बज्यैको हात समाउँदै घरभित्र आइन्थ्यो । त्यो अँध्यारोमा बज्यैले कसरी देख्नुहुन्थ्यो कुन्नि घरको खुड्किलोदेखि भित्र सुत्ने ठाउँसम्म उज्यालोमा जसरी फटाफट् हिँड्नुहुन्थ्यो । न बत्ती, न टर्च, न झिरो अँध्यारोमा पनि कसरी हिँड्न सकेको । लाग्थ्यो ठूलो भइसकेपछि बज्यै जस्तै पानी नपोख्दै, भित्तामा न ठोक्किँदै म पनि यसैगरी हिँड्न सकुँला । बज्यै भित्र आइसकेपछि हत्तपत्त आमाको उठ्ने पालो हुन्थ्यो । आमा पनि म जसरी आत्तिएर उठ्नुहुन्थ्यो । तर, अत्यास फरक हुन्थ्यो । म बज्यैले भनेको तारा हेर्न उठ्थे । आमा बिहानको काम गर्न ।
मेरो बाल्यकालमा आमा भन्दा बढी संगत बज्यैसँग भयो । सुत्ने, उठ्ने खानेदेखि सबै बज्यैसँगै हुन्थ्यो । आमासँग कहिलेकाहीँ घरायसी काम गर्नुपरे मात्र गइन्थ्यो । त्यसैले पनि होला दैवले आमासँगको यात्रा यति छिट्टै टुंग्याइदिएको । आमासँगै बसेको, खाएको, हिँडेको, सुतेको खासै याद छैन । अहिले त लाग्छ- बज्यैजस्तै आमासँगै सुत्ने, उठ्ने, खाने गरेको भए अहिले पनि भगवानले आमाको साथ छुट्याइ दिँदैन थियो कि !
बिहानै उठेर चोखो पानी भर्ने, दैलो पोत्ने मेरी आमाको नियमित काम थियो । बिहान भात पकाउन चामल छैन भने धान लिएर ओखल पुग्नुपर्थ्यो । चामल छ भने बिहानको नास्ता चिया, पकाएर भात पकाइ अध्यारोँमै सक्नुपर्थ्यो । जुन काम अनिवार्य जस्तै थियो । आमाले यति सबै कामसकेपछि बल्ल कुखुरा (भाले)ले उज्यालो भएको जनाउ दिँदै कुखुरी काँ भन्न सुरु गर्थ्यो । भाले बास्दा अर्को तनाव । आमाको कचकच सुरु भइसक्थ्यो । भाले बासिसकेपछि छोरीले सुत्न हुँदैन । बिहानै उठ्न सिक्नुपर्छ । भोलि कस्तो घरमा परिन्छ, काम त सबै सानैदेखि सिकेको राम्रो । आमाले सानैदेखि बस्न, हिँड्न, काम गर्न सिकि राख्नुपर्छ भन्नुहुन्थ्यो ।
आमाले यस्ता कुरा सिकाउँदा बुझ्ने नै भइएको थिएन । सानै भए पनि केटाकेटी भनेर कहाँ त्यत्तिकै बस्न छुट हुन्थ्यो । घरमा सक्नेजति सबै काम सघाउनु पर्थ्यो । खाना पकाउनेदेखि, घाँस काट्ने, घरको सरसफाइ गर्ने सबै काम गर्नुपर्थ्यो । म पछिको मेरो भाइ उसलाई आनन्द थियो । किनकि मेरो भाइ छोरा थियो । छोरालाई प्रायः घरको काम गर्न आमा र बज्यैलाई मन नपर्ने । ऊ साथी खोज्दै खेल्न जान्थ्यो । सँगसँगैको भए पनि उ खेल्ने फुर्सद पाउँथ्यो । मैले काम गर्नुपर्थ्यो । घरमा आमा, हजुरआमालाई सघाइ स्कुल पढ्न जानु पर्थ्यो । विस्तारै उमेर बढ्दै जाँदा कामको जिम्मेवारी थपिँदै गयो । काम यतिसम्म गर्नुपर्थ्यो कि स्कुल जाँदा कपाल पनि बाटोमै कोर्नुपर्थ्यो । हातका नङ दाँतले टोक्नुपर्थ्यो ।
काम गर्दै पढ्दै
म ठूली भइसकेकी थिएँ । गाउँमा छोरीलाई पढाउनुपर्छ भन्ने सोचको विकास भइसकेको थिएन । मसँगका दिदी फुपूहरू पनि ठूलो भइसकेपछि बल्ल स्कुल जान सुरु गरेका थिए । तर, सानो भाइबहिनीसँग सँगै बसेर पढ्दा उनीहरू अप्ठ्यारो महसुस गर्थे । एक/दुई जनाले त पढ्नभन्दा बरु भागेर विवाह गर्नु उचित ठानेर भागेर गए । मलाई पढाउन भने न मेरो आमाले रोक्नुभयो, न त बज्यैले । मभन्दा धेरै अगाडिका दिदी फुपूहरू पनि पढेका थिए । बुवालाई पनि छोरी पढाउनुपर्छ भन्ने चेत थियो । तर, अहिलेको जस्तै अनिवार्य थिएन । कतिपय छोराहरू पनि नपढ्ने चलन थियो । बुवाले नै मलाई पढाउनुपर्छ भनेर स्कुल पठाउनुभयो ।
तर, स्कुल पठाउनुपर्छ भन्ने चेत मात्र भएर गाउँमा नपुग्ने रहेछ । खेतबारीको काम नगरी हातमुख जोर्न नपाइने, हातमुख जोर्न दश नङ्ग्रा खियाउनै पर्ने । खेतबारीको काम गर्दा घरमा काम नगरी बस्न छुट थिएन । बिहान कति बजेको हुन्थ्यो थाहा हुँदैनथ्यो । तर, आमाले घरको सबै काम सकेर मलाई सँगै लिएर जंगल पुग्नुहुन्थ्यो । स्याउला, दाउरा घाँसको लागि भएपनि आमासँगै नाम्लो र हँसिया बोकेर जंगल जानु पर्थ्यो । जंगलबाट घर फर्कन ९ बजिसक्थ्यो । हातमुख धोइवरी खाना खाँदा स्कुल लाग्ने बेला भइसक्थ्यो । कक्षा तीनसम्म गाउँमै स्कुल भएपनि कक्षा चार कक्षापछि भने आधा घण्टा हिँडेर स्कुल पुग्नुपर्थ्यो । घरको कामले समयमा स्कुल पुग्न पनि गाह्रो ।
समयमै स्कुल नपुग्दा सरले पिट्ने डर, घरको काम नगरेर स्कुल आउँदा काम छुट्ने । यस्तो दोहोरो भूमिकामा स्कुले दिनहरू बिताउनुपर्यो । यो मेरो मात्र बाध्यता थिएन प्रायः गाउँका केटीहरूको बाध्यता थियो । यो बाध्यता कतिपयलाई अहिले पनि छ । बिहान उठेर किताब पढ्नु, दिउँसो स्कुल जान पाउनु, साँझ घरमै ट्यूसन पढ्न पाउनेहरू साँच्चिकै भाग्यमानी हुन् । कति दिन हातको नङ नकाटेको निहुँमा कुटाइ खाइयो, कति दिन गृहकार्य नगरेको नाममा, कति दिने ड्रेस फोहोर भएको नाममा । लाग्थ्यो स्कुल जानु नै कुटाइ खान हो । घरमा न गृहकार्य गर्ने समय न सरसफाइ गर्ने फुर्सद । अहिले सम्झँदा त लाग्छ- भगवानले गाउँका महिलालाई खेतबारीको काम गर्नकै लागि जन्म दिएका हुन् ।
न पढाइ, न शिक्षक
घरको कामसँगै पढ्नुपर्ने चुनौती अर्को थियो । न घरमा पढ्ने समय न विद्यालयमा राम्रो पढाइ । शिक्षकहरूलाई विद्यालय कहरभन्दा रहर थियो । कहिल्यै विषय अनुसारका शिक्षक स्कुलमा भएनन् । अहिले पनि छैनन् । सामाजिक विषय पढाउने शिक्षक आएर विज्ञान विषय पढाउँथे, गणित विषय पढाउने शिक्षक आएर स्वास्थ्य विषय पढाउँथे । बाध्यता अहिले पनि उस्तै छ । विषय अनुसारका शिक्षक भएपनि कक्षा कोठामा महिनाको १० दिनमात्र उपस्थित हुन्थे । धेरै दिन बिदामै गएको हामीले थाहा पाउँथ्यौं । भएकै शिक्षकहरू पनि मन लागे पढाउने, नभए आज तिमीहरू आफै पढेर कक्षा कोठाबाट बाहिरिने अभ्यास थियो ।
गाउँमा गणित, विज्ञान, अंग्रेजी विषय पढाउने शिक्षक प्रायः तराई मधेशकै हुन्थे । उनीहरू विदा लिएर घर आउजाउ गर्दा एक महिना त्यत्तिकै जान्थ्यो । परीक्षाको मिति आइसक्दा कहिल्यै पनि सबै विषयको पढाइ पूरा भएको अनुभव छैन । न घरमा पढ्ने फुर्सद न स्कुलमा पढाउने गतिला शिक्षक । परीक्षाको नतिजा कस्तो आउँथ्यो सम्झँदा अहिले दुःख लाग्छ । समस्या मेरो पालामा मात्र समिति रहेन अहिले पनि उस्तै छ । अहिले पनि गाउँका स्कुलमा विषयगत शिक्षक छैनन् । भएकाहरूको पनि कक्षा उपस्थित त्यही महिनाको १०/१२ दिन मात्र हो । यो विषयमा न त्यहाँका विद्यार्थी आवाज उठाउँछन्, न त्यहाँका अभिभावक ।
दुई वर्ष अगाडि मेरो कान्छो भाइले एसईई दियो । अंग्रेजीमा केही कमजोर भएपनि गणित लगायत अरू विषयमा राम्रो थियो । तर समस्या जस्तो मैले भोगेको थिएँ, उसले पनि उस्तै भोग्नुपर्यो । न विषयगत शिक्षक, न सबै विषयको पढाइ पूर्ण । उसले एसईई दिँदा पनि पुरा विषय पढ्न पाएको थिएन । अवस्था अहिलेको पनि उस्तै छ ।
पालिकाको अनुदान कोटामा, निजी स्रोतमा राखिएका शिक्षकहरू पनि पहुँचको आधारमा राखिएका छन् । न उनीहरू विषय अनुसारको विज्ञ आफै छन्, न विद्यार्थीलाई सिकाउन सक्ने क्षमता छ । सुदूरपश्चिम होस् या सुदूर पूर्व वा तराईका गाउँमा सबै विद्यालयमा प्रायः विषयगत शिक्षकहरू छैनन् । निजी स्रोत वा अनुदान कोटामा राखिएकाहरू कि विद्यालयको प्रधानाध्यापकका आफन्त, पालिकाको अध्यक्षका आफन्तहरू छन् । पहाडका विद्यार्थीले एसईईको समयमा तराई गएर ट्युसन पढेर एसईईको परीक्षा दिनुपर्ने बाध्यतामा छन् । काठमाडौं वा धनगढीमा आएर आईएस्सी पास गरेर गाउँ फर्केकाहरू निजी कोटाबाट शिक्षक बनेर विद्यार्थीलाई पढाइरहेका छन् ।
मौलाएको राजनीति
नेपालको संविधानले विद्यालय तहको शिक्षालाई स्थानीय तह अन्तर्गत राखेको छ । अहिले कक्षा ८ मा हुने परीक्षाको नतिजा पालिकाले नै सार्वजनिक गर्छ । यो वर्षको कक्षा ८ को नतिजामात्र हेर्ने हो भने अधिकांश विद्यालय शून्यमा झरे । अर्थात् कक्षा ८ मा एकजना विद्यार्थी पास हुन नसकेको लाजमर्दो नतिजा सार्वजनिक भयो । यस्तो अवस्था हुँदा समेत विद्यालयको पढाइ कसरी सुधार्ने भन्ने विषय न त्यहाँको पालिकाको मुख्य विषय बन्न सक्यो न त विद्यालयको । बरु एउटा रमाइलो कुरा के भने अछामको एउटा पालिकाले कक्षा ८ मा पालिका भित्रका जुन विद्यालयले राम्रो नतिजा ल्याउन सक्यो उसलाई पुरस्कार दिने नीति ल्याएपछि त्यहाँ गत वर्षदेखि चिट चोराउन प्रतिस्पर्धा नै चल्यो ।
२०८० सालमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयले पालिकाबाट पुरस्कार पाएपछि २०८१ सालमा पालिका भित्रका विद्यालयले राम्रो नतिजा ल्याउन यतिसम्म गरे कि प्रश्नपत्र समेत आउट गरे । यो विकृतिमा स्वयं शिक्षक नै सहभागी थिए । गाउँका अभिभावकमा अहिले पनि राजनीति भन्दा बाहिरको चेतना आउन सकेको छैन । विद्यालयको शिक्षा कसरी राम्रो बनाउने, विद्यार्थीलाई कसरी सीपमूलक शिक्षा दिने भन्दा पनि प्रधानाध्यापक कसलाई बनाउने, कुन शिक्षकको सरुवा कहाँ गर्ने भन्नेमै सीमित छ ।
अस्थायी शिक्षकलाई स्थायी बनाउनु पर्ने, बाल शिक्षाका शिक्षकहरूको तलब बढाउनुपर्ने लगायत माग राख्दै गाउँका शिक्षकको समय घर्किरहेको छ । गाउँका सरकारी विद्यालयमा पढ्ने गरिब, किसानका छोराछोरीमाथि अझ पनि यो स्तरको खेलबाड गरिरहने हो भने अझै हामीले भनेको गुणस्तरीय शिक्षा पाउन जुग कुर्नुपर्छ । जसरी मेरो बज्यैले ब्यान्तारो हेरेर उज्यालो भएको अन्दाज लगाउने समयको अन्त्य भयो । त्यसरी हामीले शिक्षक नहुँदा अधुरा छोडेका पाठहरू कहिले पूर्ण होलान् ?