हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले कम्पनीको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरू अनुमोदन गरेको छ । साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसमेत टुंग्याइएको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्चलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जानकारी दिएको छ ।

सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले आगामी आर्थिक वर्षको साधारणसभा समयमा नै गर्ने प्रतिबद्धता व्यक्त गर्दै सेयरधनीलाई दीर्घकालीन रुपमा उचित प्रतिफल दिन कम्पनी प्रतिबद्ध रहेको बताए । उनले सभामा उपस्थित भई सहयोग गर्ने सबै सेयरधनीलाई धन्यवाद पनि व्यक्त गरे।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत जेठ २८ गते एक दिन बुक क्लोज गरेको थियो। यस अनुसार जेठ २७ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले सभाबाट पारित भएको ८ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।

Share News