काठमाडौं । भू-उपग्रह तस्बिरको विश्लेषणको आधारमा रसुवाको बाढीको कारण तिब्बती क्षेत्रको हिमताल विस्फोट रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ।
जलवायु परिर्वतन र मौसममा अध्ययन गरिरहेका विभिन्न संस्थाहरूले तिब्बती क्षेत्रमा रहेको ‘सुप्राग्लेसियल’ ताल विस्फोट भएका कारण बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेका हुन् । जल तथा मौसम विज्ञान विभागले बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रबल सम्भावना भएपनि कुन ताल विस्फोट भएको भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताइएको छ ।
स्वतन्त्र विज्ञहरूको अध्ययन टोलीले यसबारे पुष्टि गरेका छन् । जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले स्याटलाईट तस्बिरको प्रारम्भिक अध्ययनबाट तिब्बती क्षेत्रमा रहेको सुप्राग्लेसियल ताल विस्फोटका कारण बाढी आएको देखिने बताए ।
सो क्षेत्रमा अन्य तालहरू पनि रहेकाले ती तालको परिर्वतनको अवस्थितिको सूक्ष्म विश्लेषण भने भइरहेको पनि उनले जानकारी दिए । साथै यो ताल धेरै पुरानो पनि नभएको देखिएको उनले स्पष्ट पारे । स्याटलाईट तस्विरहरू हेर्दा सो क्षेत्रमा धेरै ताल रहेको देखिएको पनि उनले बताए ।
‘सुप्राग्लेसियल लेक विस्फोट भएर यो घटना भएको भन्ने अहिले सम्मको प्रारम्भिक अध्ययनले देखिन्छ । त्यो स्थानमा भारी बर्षा पनि नभएको र स्याटलाईट तस्बिरका आधारमा सोही ताल विस्फोट भएको देखिन्छ', उनले भने, 'विस्फोट अघि र पछिको सो स्थानको वस्तुस्थिति विश्लेषण गर्दा यो देखिन्छ। पहिला र पछिको तस्बिरमा बाढीका तहगत संकेतहरू देखापरेको छ । यो नै विस्फोटकै कारण बाढी आएको भन्ने भनाइको सत्यता नजिक छ ।’



