काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताएका छन् । बिहीबार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा अहिले भएका रंगशालाहरु साना भएको र अब बन्ने रंगशाला ५० हजार दर्शक क्षमता भन्दा माथिका हुने दाबी गरे । आफूले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा रंगशालाहरु अब साना भए । अहिलेका रंगशालाहरु साना भए । अब हामी ठूला रंगशाला बनाउँछौँ । मैले सोचेको छु, सूर्यविनायक उतापटि जगाती, चाइनिज इँटाभट्टा भन्ने थिए । झापामा पूर्वाञ्चलका लागि पनि गहना हुने खालको रंगशाला बनाउँदैछौँ । न्युनतम २५ हजार नभए ५० हजार अट्ने रंगशाला बनाउँछौँ । १५ हजारले हेर्ने खालको रंगशाला होइन कम्तिमा ५० हजारले हेर्ने रंगशाला भन्दा सानो अब हुँदैन ।’
प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमणमा जाँदा रियल मड्रिड रंगशालाको अवलोकन गरेको र त्यहाँका खेलाडीहरुलाई आफूले नेपालको खेल क्षेत्रको सहयोगका लागि आउन आग्रह गरेको बताए । नेपाली खेलाडी र खेल क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षभित्र त्यहाँका खेलाडीहरु ल्याउनसक्ने सम्भावना रहेको जानकारी दिए ।