सिमलताल बस दुर्घटनाको एक वर्ष : जोखिम उस्तै, रोकथामका लागि बनाइए ९ वटा चेक ड्याम

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डस्थित सिमलतालमा दुईवटा बस बगाएर ६५ जनाको ज्यान गएको आज ठ्याक्कै एक वर्ष पुगेको छ । २०८१ साल असार २८ गते बिहान भएको त्यो त्रासदीपूर्ण घटनाको एक वर्षपछि सडक डिभिजन भरतपुरले उक्त स्थानमा पहिरो र डेब्रि फ्लो ९लेदोसहितको बाढी) नियन्त्रणका लागि विभिन्न संरचना निर्माण गरेको छ । यद्यपि, यो सडकखण्डका अन्य १७ स्थान अझै पनि पहिरोको उच्च जोखिममा रहेको स्वीकार गरिएको छ ।

गत वर्षको घटना सम्झँदै सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले भने, 'त्यो बेला कल्भर्टको आकार सानो थियो र माथिबाट सडक खन्दा निस्किएको माटो खोल्सामा थुप्रिएको थियो । पानी परेपछि त्यही माटो लेदो बनेर आयो र कल्भर्ट थुनियो । बाटो अवरुद्ध भएपछि एकतर्फी सञ्चालन गरिएको थियो, तर एक बसले ओभरटेक गर्न खोज्दा दुईवटा बस एकै ठाउँमा अड्किए । त्यही बेला माथिबाट आएको लेदोले दुवै बसलाई बगाएर लग्यो ।'

उक्त घटनापछि सडक डिभिजनले जोखिम न्यूनीकरणका लागि गत कार्तिक महिनादेखि काम थालेको थियो । इन्जिनियर घिमिरेका अनुसार, पहिरोको स्रोत मानिएको २७० मिटर माथिसम्म नौवटा फरक-फरक स्थानमा चेक ड्याम निर्माण गरिएको छ । करिब ३० देखि ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिएका यी ड्यामले माथिबाट आउने लेदो र पानीको गतिलाई कम गर्ने तथा डेब्रि (गेग्रान) लाई रोकेर राख्ने काम गर्छन् । 'यी संरचनाले पहिलाको जस्तो बस नै बगाउने गरी आउने बाढीलाई रोक्नेछ भन्ने हाम्रो विश्वास छ,' घिमिरेले भने ।

१७ स्थान पहिरोको उच्च जोखिममा

सडक डिभिजनले नारायणगढ-मुग्लिन सडकखण्डको १८ किलो (गाईघाट) देखि ३४ किलोमिटरको क्षेत्रभित्र १७ वटा स्थान पहिरोको उच्च जोखिममा रहेको पहिचान गरेको छ । तीमध्ये मौरी खोला, तुइन खोला र नाम्सी खोला पुल वरपरको क्षेत्र अत्यन्तै जोखिमपूर्ण मानिएको छ ।

'मौरी खोलामा पनि सिमलतालमा जस्तै डेब्रि फ्लोको जोखिम छ, त्यहाँ पनि हामीले चेक ड्याम निर्माण गरिसकेका छौं,' घिमिरेले जानकारी दिए । 'त्यस्तै, तुइन खोलामा खस्नै लागेको चट्टानको ठूलो ढिस्कोलाई हामीले गत असार १२ गते चार घण्टा सडक बन्द गरेर पन्छायौं ।'

यसबाहेक, २६ किलो (भालु ढुङ्गा) नजिक सडक भासिएको ठाउँमा अस्थायी रूपमा नौ तहको ग्याबियन वाल लगाएर एकतर्फी बाटो सञ्चालनमा ल्याइएको छ। त्यसलाई स्थायी समाधान दिन सोइल नेलिङजस्ता प्रविधि प्रयोग गर्ने गरी डिजाइनको काम भइरहेको छ।

चालकको लापरबाही र धैर्यताको कमी मुख्य चुनौती

इन्जिनियर घिमिरेले सडक सुरक्षाका लागि भौतिक संरचना निर्माण गरे पनि चालक र सडक प्रयोगकर्ताको व्यवहार सबैभन्दा ठूलो चुनौती रहेको बताए । गत वर्षको सिमलताल दुर्घटना पनि एकतर्फी सञ्चालन भइरहेको सडकमा चालकले धैर्य गुमाएर ओभरटेक गर्न खोज्दा भएको उनले स्मरण गराए ।

'हामीले जोखिमयुक्त क्षेत्रमा चेतावनीमूलक ट्राफिक चिह्न राखेका छौं, तर त्यसको पालना हुँदैन । तीव्र गति अर्को ठूलो समस्या हो,' उनले भने, 'सडकमा कुनै निर्देशन दिइएको छ वा लाइनमा बस्न भनिएको छ भने कृपया त्यसको पालना गरिदिनुहोला । ओभरटेक गर्ने र जवर्जस्ती गरेर अगाडि बढ्ने प्रवृत्तिले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।'

एक वर्षअघि त्रिशूलीमा खसेका बस र यात्रुहरू अझै फेला पर्न सकेका छैनन् । नदीको तीव्र बहाव र चट्टानी पिँधमा रहेका दरारहरू (क्रिभास) मा बस फसेको हुन सक्ने अनुमान गरिएको छ ।

सडक डिभिजनले आगामी दिनमा जोखिमयुक्त क्षेत्रको अध्ययन गरी थप रोकथामका कामहरू गर्दै जाने बताएको छ, तर यात्रा सुरक्षित बनाउन चालक र यात्रु स्वयं पनि उत्तिकै सचेत हुनुपर्नेमा जोड दिएको छ ।

null
 

Share News