काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले सम्पादक समाज नेपालले शनिबार सिन्धुपाल्चोकको गुफाडाँडामा पदयात्रा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका करिब सयजना पत्रकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले गुफाडाँडाको प्रवर्द्धनमा स्थानीय सरकार अग्रसर भएको जानकारी दिए । उनले गुफाडाँडाको हरियाली, शान्त वातावरण र हिमशृङ्खलाको दृश्यावलोकनलाई प्राकृतिक सम्पदाको अद्वितीय संयोजनका रूपमा उल्लेख गरे ।
मेलम्ची–९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडालाई जलवायु अध्ययन केन्द्र बनाउने लक्ष्यसहित प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना सुनाए । उनले स्थानीय स्रोतसाधनमा आधारित होमस्टे प्रवर्द्धनको आवश्यकता पनि औँल्याए ।
सम्पादक समाजका महासचिव श्याम डोटेलले गुफाडाँडा क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दो रहेको भन्दै त्यसको न्यूनीकरण तथा स्थानीय उत्पादन र परिकारहरूको पहिचान निर्माणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले क्षेत्रको विकास र समृद्धिका लागि पत्रकारहरूको सदैव साथ रहने प्रतिबद्धता जनाए ।
पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइराला, महासचिव श्याम डोटेल लगायत पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो ।
पदयात्राका क्रममा शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश स्थापितले पत्रकार टोलीलाई एक समारोहकाबीच स्वागत तथा सत्कार गरेका थिए ।