काठमाडौं । देशको प्रधानमन्त्रीले एक व्यवसायीको खुबै प्रशंसा गरेको र ती व्यवसायी आँशु छोडेर भक्कानिएको दुर्लभ दृश्य शनिबार काठमाडौंमा देखियो । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले आमाबुवाको नाममा निर्माण गरेको भवन अस्पताललाई हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायी गुरुङको खुलेरै प्रशंसा गरे ।
सोमबार त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सवको अवसर पारेर हस्तान्तरण गरिएको भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गुरुङलाई दानवीर भन्दै प्रशंसा गरे ।
‘धेरैले धन कमाएका छन्, पैसा कमाएका छन्, कसैले अस्पताल बनाएका छन्, कसैले क्यासिनो बनाएका छन्, अस्पताल बनाउनेको प्रसंशा गर्छु क्यासिनो जाने सुध्रिउन् भन्छु,’ ओलीले भने ।
गुरुङको प्रंशसा गर्दै ओलीले असाधारण राम्रो काम गर्दै आएको र गरिरहेको भन्दै तारिफ गरे । ‘विद्यालय बनाउँदै हुनुहुन्छ, कतिपय ठाउँमा बनाएर हस्तान्तरण गरिसक्नुभएको छ बुढानिलकण्ठमा बाल अस्पताल बनाउँदै हुनुुहुन्छ,’ ओली भन्छन्, ‘यस्ता धेरै राम्रा काम गर्नुभएको छ उहाँको म मुक्त कण्ठले प्रसंसा गर्न चाहन्छु ।’
उनले व्यवसायीलाई कमाएर दान गर्न सक्ने सामर्थ्य पनि वृद्धि गर्नुपर्ने सुझाव दिए ।

व्यवसायी गुरुङले त्रिवि शिक्षण अस्पतालको प्राङ्गणमा स्वर्गीय बुवा वृष बहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा विस्तारित सेवा (ईएचएस) भवन निर्माण गरेका थिए । गुरुङले ९ करोड ५० लाख लागतमा (ईएचएस) भवन निर्माण गरेर सोमबार अस्पताललाई हस्तान्तरण गरेका हुन् । १० करोडको लागतमा निर्मी इमर्जेन्सी भवन पहिले नै हस्तान्तरण गरिएको थियो ।
भवन हस्तान्तरण कार्यक्रममा व्यवसायी गुरुङ भने भक्कानिएका छन् । उनले स्वर्गीय बुबाआमालाई स्मरण गर्दै भक्कानिए । उनले यो भवनले अस्पतालमा आउने बिरामीलाई सेवा लिन सहज हुने विश्वास व्यक्त गरे । कसरी अस्पताल निर्माणमा लागियो भन्ने प्रसंग उल्लेख गर्दै गुरुङले २०६८ सालमा टिचिङ अस्पतालका डा. अरुण सायमीसँगको भेटपछि अस्पताल बनाउने योजनामा पुगेको सुनाए ।
‘डा. सायमीज्यूले हामीसँग इमर्जेन्सी भवनको खाँचो छ बनाइदिन सक्नुहुन्छ भनेर सोध्नुभयो, एउटा नेपाली व्यवसायीले भवन बनाउन मिल्छ भनेपछि स्वर्गीय बुबाआमाको स्मृतिमा १० करोडको लागतमा भवन निर्माण गरिएको हो,’ उनले भने ।

१० करोड लागतमा भवन निर्माण गरिसकेपछि अस्पतालले फेरि पनि भवनको आवश्यकता रहेको सुनाएपछि ९ करोड ५० लाख लागतमा (ईएचएस) भवन निर्माण गरिएको उनले सुनाए ।
गुरुङको आर्थिक सहयोगमा बनाइएका इमर्जेन्सी र (ईएचएस) भवन सोमबार अस्पताललाई हस्तान्तरण गरिएको हो । उनले आगामी दिनमा पनि यस्तै कर्म गर्दै जान पाउँ भन्ने आशामा आफू रहेको बताए ।
‘सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने प्रधानमन्त्रीज्यूको जुन नारा छ, यसमा भाटभटेनी अग्रपङ्तिमा रहेर देश जनता र राष्ट्रको सेवामा लागेको छ,’ उनी भन्छन्, ‘अभियानमा लागेर देशबाट केही फाइदा पाइन्छ कि भन्ने कुनै आशा समेत हामीले राखेका छैनौं, बरु अझै नेपालमा यस्ता काम गर्ने अवसर पाउने आशा राखेका छौं ।’
अस्पतालका कार्यकारी निर्देशक सुभास प्रसाद आचार्यले गुरुङले हस्तान्तरण गरेको भवनले अस्पताललाई सहज भएको बताए । ४३औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा भवन पाउँदा यसले झन उत्साह थपेको बताए ।
उनले भने, ‘आज हामी अस्पतालको ४३औं वार्षिकोत्सब मनाउँदै छौं, हाम्रा लागि खुसीको कुरा हो, यही दिनमा भवन पाउँदा थप खुसी भएका छौं ।’

दानवीर गुरुङ
भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङले पछिल्लो समय शिक्षा र स्वास्थ्यमा पनि लगानी बढाउँदै लगेका छन् । उनी व्यवसायसँगै विभिन्न ठाउँमा दान समेत गर्दै आएका छन् । त्रिवि शिक्षण अस्पताललाई दुइटा भवन बनाएर हस्तान्तरण गरिसकेको गुरुङले बुढानिलकण्ठमा निर्माणाधीन बाल अस्पतालमा समेत दान गरेका छन् ।

काठमाडौंको ईटा भट्टामा काम गर्ने गोमा श्रेष्ठले एसईईमा४ जीपी ल्याएर पास हुँदा एमबीबीएस पढाइदिने प्रतिबद्धता पनि उनले गरेका छन् । गुरुङले दार्चुला, हुम्ला, जुम्ला, कालीकोट लगायतका १४ जनालाई एमबीबीएस तहको अध्ययन सहयोग गरिसकेका छन् ।
गुरुङले अघिल्लो वर्षमा बाढी पहिरोले क्षति पु¥याएका ठाउँमा पनि आर्थिक सहयोग गरेका थिए भने खाद्यान्न सहयोग पनि गरेका थिए । यस्तै भूकम्प र कोरोनाको समयमा पनि गुरुङले ठूलो आर्थिक सहयोग गरेका थिए भने सबैभन्दा बढी कर तिरेको भन्दै सरकारले भाटभटेनीलाई सम्मान पनि गरेको थियो ।