काठमाडौं । मुग्लिङ-पोखरा राजमार्गअन्तर्गत तनहुँको मादी नदीमा निर्माणाधीन नेपालकै पहिलो चार-लेनको आधुनिक पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । डिजाइन तथा जग्गा अधिग्रहणका केही प्रक्रियागत ढिलाइ भए पनि हालसम्म ७१ प्रतिशत प्रगति हासिल भएको र आउँदो हिउँदसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम तीव्र गतिमा अघि बढिरहेको आयोजनाले जनाएको छ ।
मुग्लिङ-पोखरा सडक आयोजना (पूर्वी खण्ड) का अनुसार ३१८ मिटर लम्बाइको यो पुल १ अर्ब २१ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको हो । यो पुल नेपालमा निर्माण भएको पहिलो चार-लेनको ‘नेटवर्क आर्च ब्रिज’ हो, जसले यात्रालाई सहज बनाउनुका साथै पर्यटकीय दृष्टिकोणले पनि सुन्दर देखिनेछ ।
आयोजना (पूर्वी खण्ड) का प्रमुख प्रकाशचन्द्र भण्डारीले यो पुल ‘डिजाइन-बिल्ड’ अवधारणामा निर्माण भइरहेको हो, जसमा डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै रहेको जानकारी दिए ।

‘यो पुल नेपाली प्राविधिक र निर्माण व्यवसायीका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा हो,’ भण्डारीले भने, ‘यसले हाम्रो आत्मविश्वास बढाएको छ ।’
पुलको कुल ६ स्प्यानमध्ये बीचका दुई स्प्यान काठमाडौंको बिजुलीबजारस्थित पुलजस्तै ‘नेटवर्क आर्च’ डिजाइनमा छन्, भने बाँकी चार स्प्यान आरसीसी बक्स गर्डर प्रकृतिका हुन् ।
आयोजनाको सुरुमा डिजाइन स्वीकृत हुन १३ महिना लागेको थियो, जसले गर्दा निर्माण तालिका केही पछि धकेलिएको थियो । यस बाहेक, पुलको दुवैतर्फ जग्गा अधिग्रहण र संरचना हटाउने काम मुख्य चुनौतीको रूपमा रहेको प्रमुख भण्डारीले बताए ।
आयोजना प्रमुख भण्डारीका अनुसार, पोखरा तर्फको पुलको पहुँचमार्गका लागि आठ वटा घरजग्गाको मुआब्जा निर्धारण गरी वितरण सुरु भइसकेको छ ।
त्यस्तै, दमौलीतर्फ सडक डिभिजन कार्यालयको परिसरबाटै राजमार्ग जाने भएकाले उक्त कार्यालयका भवनहरू हटाएर नयाँ बनाउनुपर्ने अवस्था छ ।

‘यी सबै प्रक्रियागत कामहरू समाधानको चरणमा छन्,’ उनले भने, ‘मनसुन सकिनेबित्तिकै बीचको स्प्यानको काम ३-४ महिनाभित्र सकिनेछ र आउँदो मंसिर-पुससम्ममा पुल सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ ।’
निर्माण कम्पनी अनक कन्स्ट्रक्सन र चिनियाँ साझेदार जेडीआईसी जेभीका तर्फबाट साइट म्यानेजर दिनेश कुमार श्रेष्ठले पनि डिजाइन स्वीकृतिमा भएको ढिलाइले सुरुमा केही समस्या भए पनि अहिले कामले गति लिएको बताए । उनका अनुसार पुलको कुल लम्बाइ र पहुँचमार्गसहित ८४५ मिटर सडकखण्ड निर्माण गर्नुपर्नेछ ।
‘जग्गासम्बन्धी समस्या समाधान हुनासाथ हामीलाई ६ देखि ९ महिनाको कार्यअवधि चाहिन्छ,’ श्रेष्ठले भने, ‘हामी अर्को आर्थिक वर्षभित्र काम सम्पन्न गर्न प्रतिबद्ध छौँ ।’
विशेषगरी पुल निर्माणका लागि आवश्यक उच्च गुणस्तरको निर्माण सामग्री (एम-५० ग्रेडको कङ्क्रिट) का लागि मादी नदीको स्रोत अपर्याप्त भएपछि सेती नदीबाट समेत सामग्री ल्याएर प्रयोग गरिएको आयोजनाले जनाएको छ ।
हाल सञ्चालनमा रहेको मादी पुल दुई लेनको छ । यसको लम्बाइ ३७० मिटर छ । कुल ८१ किलोमिटर लम्बाइ रहेको मुग्लिन-पोखरा सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु गरिएको थियो ।

२०२२ सेप्टेम्बरमा सम्झौता भएको यो पुलको निर्माण अवधि २०२५ सेप्टेम्बरसम्म भए पनि आयोजनाले निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने विश्वास लिएको छ । यो पुलको निर्माण सम्पन्न भएपछि मुग्लिङ-पोखरा राजमार्गको यात्रा थप सहज, छिटो र सुरक्षित हुनेछ ।