फार्मेसी शिक्षा : अदक्ष फार्मासिस्टकाे कारण सयौंको ज्यान जान सक्छ

नेपालमा पछिल्लो दशकमा स्वास्थ्य सेवामा भएको विकाससँगै फार्मेसी शिक्षाको महत्व तीव्र रूपमा बढ्दो छ । खासगरि कोरोना महामारीपछि औषधी व्यवस्थापन, उत्पादन, गुणस्तर परीक्षणदेखि रोग निवारणमा फार्मासिष्टहरूको भूमिका जनचेतनामा झनै प्रष्ट देखिन थालेको छ । एसईईपछि फार्मेसी पढ्ने सोच बनाइरहेका विद्यार्थीहरू अब केवल ‘पढ्न पाइन्छ भने पढौँ’ भन्ने धारणा राख्दैनन्, बरु उनीहरूले करियर, जागिर, उद्यम, अनुसन्धान, र समाजसेवाको दृष्टिकोणबाट पनि फार्मेसी रोज्न थालेका छन् । यतिखेर, चिकित्सा विज्ञानको एउटा अत्यावश्यक र प्राविधिक पक्षका रूपमा फार्मेसी अध्ययनले विद्यार्थीहरूका लागि नयाँ सम्भावना र चुनौती दुबै ल्याएको छ। तर यहि सम्भावनाले नाना प्रश्न पनि उजाएको छ –नेपालमा फार्मेसी शिक्षाको गुणस्तर कति सन्तोषजनक छ ? विद्यार्थीहरूले के–के आधारमा यो विषय रोज्छन् ? के उनीहरूको छनोट आकांक्षा, अभाव वा परम्परागत धारणा अनुसार आधारित छ ? हामीले नेपाल औषधी लिमिटेडका निवर्तमान महाप्रबन्धक एवं गाईड पोइन्टका मान्यता प्राप्त कोच विशिस्ठ फर्मासिस्ट डा. मोहम्मद सफिउल्लाहसँग कुरा गरेका छौं । 

फार्मेसी शिक्षा के हो ?

फार्मेसी शिक्षा स्वास्थ्य सेवाको एक महत्वपूर्ण आधार हो, यो एक वैज्ञानिक र प्राविधिक विषय हो । जुन चिकित्सा विज्ञानसँग घनिष्ठ रूपमा सम्बन्धित छ । फार्मेसी शिक्षा औषधिसम्बन्धी ज्ञान, सीप र व्यवहारिक प्रशिक्षण दिने एक शैक्षिक प्रणाली हो, जसको मुख्य उद्देश्य योग्य र दक्ष फार्मासिष्ट (औषधी विशेषज्ञ) उत्पादन गर्नु हो । यसले विद्यार्थीहरूलाई औषधीको अनुसन्धान, निर्माण, गुणस्तर परीक्षण, सुरक्षित वितरण, प्रयोग, परामर्श तथा औषधी व्यवस्थापनको सम्पूर्ण प्रक्रिया बुझ्न योग्य बनाउँछ । नेपालमा फार्मेसी शिक्षा तीन तहमा पाइन्छ । डिप्लोमा (फार्मेसी सहायक), स्नातक (बि फार्म ), र स्नातकोत्तर (एम फार्म)। यसका अतिरिक्त, पीएचडी, अनुसन्धान तथा अन्य तालिम कार्यक्रमहरू पनि छन् । 

फार्मेसी पढ्न के गर्नुपर्छ ?

डिप्लोमाको कुरा गर्दा एसईईपछि सीटीईभीटीका अथवा सर्टिफिकेट तहका फार्मेसी कोर्स जहाँ छन्, त्यहाँ एसईई पछि भर्ना परिक्षामा उत्तीर्ण भएपछि रैङ्क अनुसार मौका पाएको कलेजमा नाम लेखाएर पढ्न सकिन्छ । ब्याचलर पढ्नको लागि साइन्स विद्यामा बाह्रपछि पुनः भर्ना परीक्षा उत्तीर्ण हुनुपर्यो र प्राप्ताङ्क अनुसार मौका पाएको फार्मेसी कलेजमा पढ्न सकिन्छ ।

फार्मेसी अध्यन कति वर्षको हुन्छ र के-के पढ्नु पर्छ ? 

सामान्यतः ब्याचलर कोर्ष चार वर्षको हुन्छ भन्ने कुनै कुनै संस्थामा ५ वर्षको पनि हुन्छ । अध्यापनको समय युनिभर्सिटी अनुसार फरक फरक हुन्छ । सामान्यतया पहिलो वर्षमा औषधी विज्ञानको सामान्य परिचय तथा क्यामेस्ट्री, बायोलोजी, फिफ्जिक्स जस्ता साइन्सका कुराहरू पढ्नुपर्छ ।  दोस्रो वर्षदेखि फार्मेसी तथा फर्मास्युटिकल्स टेक्नोलोजीसंग सम्बन्धित विषयहरू पढ्नुपर्छ।  यसको मुख्य उदेश्य भनेको औषधीका स्रोतहरु के के छन्? औषधि कसरी बन्छ?, यसको प्रयोग र प्रयोग संग सम्बन्धित बिषयहरु, संचय तथा बिक्रि वितरण गर्ने, गुणस्तरलाई कसरी निर्धारण गर्ने भन्ने विषयमा जान्नु हो। औषधिको सुरक्षा को विषयमा पनि पढाइ हुन्छ । जस्तै एस्प्रीन भनेको हामीले बुझ्ने दुखाइको औषधी हो । तर त्यही औषधीलाई ७५ मिलीग्राममा दिइयो भने मुटुको रोगीले प्रयोग गर्ने औषधी हो । औषधी एउटै हो तर मात्रा फरक हुनेबित्तिकै काम फरक हुन्छ ।  यसमा औषधिसंग सम्बन्धित ऐन कानुनका कुराहरू पनि पढ्नुपर्छ ।

फार्मेसी पढ्न कति मिहिनेत गर्नुपर्छ ?

फार्मेसी भनेको विज्ञान र कलाको मिश्रण हो । आर्ट भन्ने बित्तिकै सेन्सको कुरा आउँछ । सबै किताबमै पढेका कुरा यहाँ लागू हुन्छ भन्ने छैन । यो विषय पढ्न मानसिक र शैक्षिक तयारी दुइटा तयारी हुन आवश्यक छ । शैक्षिक तयारीमा फार्मेसी पढ्नको लागि साइन्स पढेको हुनैपर्छ र अझ रोचक त के छ भने फार्मेसी पढ्न भौतिक शास्त्र, रसायन शास्त्र, गणित र जीव बिज्ञान चारवटा नै पढ्नु पर्छ । औषधीले कसरी काम गर्छ भन्ने बुझ्न बायोलोजी पढ्नुपर्यो, औषधी कसरी बन्छ क्यामेस्ट्री पढ्नुपर्यो, औषधी बनाउने मेसिन बुझ्नलाई पिफ्जिक्स पढ्नुपर्यो,र क्याल्कुलेसन, बनावट, डोज निर्धारणका लागि गणित पढ्नुपर्यो । यो सबै चाहिन्छ । चारवटा बिषय आवश्यक भएपनि मेजर बायोलोजी र क्यामेष्ट्रि लिएको छ भने फार्मेसी पढ़नकोलागी  सहज हुन्छ । त्यसैले अबु बिषय भन्दा फार्मेसी अलि कठिन बिषय मानिन्छ । 

कस्तो व्यक्तिले फार्मेसी पढ्ने ?

फार्मेसी विषय पढ्न रुचि गरेर मात्र हुँदैन । जसलाई भित्रैबाट यो विषय पढ्ने र काम गर्ने रहर छ । मिहिनेत गर्छु भन्ने इच्छा छ उहाँहरूले यो विषय पढ्न सक्नुहुन्छ । बिज्ञान विशेषतः रसायन र मानव शरीरसंग ज्ञान मोह भएकाले यो बिषय पढ्दा राम्रो हुन्छ । अर्को यो पढाइ तुलनात्मक रुपले महंगो पनि हुन्छ । नेपाल मै  ब्याचलर पढ्नको लागि ७ देखि १० लाख सम्म लाग्छ भन्ने बिदेशमा धेरै नै महँगो मानिन्छ । त्यसैले यो विषय पढ्न आर्थिक रुपले सबल पनि हुनुपर्छ  । अर्को रुचि संगै जिम्मेवारीलाई बुझ्न सक्ने व्यक्तिले पढ्न सक्छ । सैधान्तिक (थ्योरी) र प्रयाक्टिकलमा पनि मिहिनेत गर्न सक्नुपर्छ ।

फार्मेसी शिक्षाको तथा पेशाको भविष्य नेपालमा र नेपाल बाहिर कस्तो छ ?

बिदेशमा फार्मेसी शिक्षाको माग पहिले देखि नै उच्च रहेपनि हाल आएर नेपाल मै पनि धेरै राम्रो छ । सुरुमा नेपालमा यो शिक्षा त्यती आइसकेको थिएन र शिक्षकको रुपमा देखिए पनि अहिले सरकारी देखि गैरसरकारी संस्था समेतमा माग बढेको छ । यायस्रोत र सामाजिक प्रतिष्ठाको हिसाबले पनि यसको अवस्था राम्रो छ।  बिदेशमा त घण्टाको ४० देखि ८० डलर सम्म आर्जन हुन्छ। संख्याको हिस्सब्ले अहिले ७ हजार हाराहारी ग्राजुएट र  करिब १५ हजार डिप्लोमा गरेका भए पनि उनीहरू कही न कहीँ आवद्ध छन् । ति मध्यका मुख्य हिस्सा आफ्नै औषधि पसल तथा स्वास्थ्य सेवामा लागेको पाईन्छ ।

नेपालमा जसरी फार्मेसी शिक्षा पढाइ हुने शैक्षिक संस्थाहरू खुल्दै गएका छन् । ती संस्थामा गुणस्तर र दक्ष जनशक्तिको अभावको कुरा सुनिरहेको छ, यहाँले कस्तो पाउनुभएको छ ?

अहिले त पहिला जस्तो छैन, विद्यावारिधीसम्मको पढाइ पनि नेपाल मै हुन्छ र पनि दक्ष जनशक्तिको कुरा गर्दा निकै चुनौतीपूर्ण छ । अझै भएको जनशक्तिलाई संस्थामा थामेर राख्न त्यो भन्दा ठुलो चुनौती हो।  यो किन भएको हो भन्दा माइग्रेसन एउटा मुख्य फ्याक्टर हुन सक्छ । नेपालमा पढ्यो र जो रिजल्टमा अलि राम्रो छ आर्थिक रुपमा सक्षम छन् भने उनीहरू पलायन भएका छन् । 

अर्को दक्षता आउने भनेको पढाईको गुनस्तरियताले पनि हो र यसमा अध्यापन गराउने शिक्षकको ज्ञान गुणस्तर, पठाउने शैली तथा मौजुद स्रोत साधनहरु भूमिका महत्वपूर्ण हुन्छ । विद्यार्थीमा दक्षता र गुनास्तरियता आउने एउटा पक्ष यो पनि हो।  इन्स्च्यिुट छन् प्रयाक्टिकल गर्ने डिभाइस छैन, भने कसरी हुन्छ? । शिक्षक छन् उनीहरू पढाउनमा पनि राम्रा छन् तर विद्यार्थीलाई प्रयाक्टिल गराउनसक्ने अवस्था छैन । यस्ता कुराले पनि शिक्षाको गुणस्तरमा असर गर्छ। धेरै यस्ता बिषयहरु पनि छन् जसको विज्ञ शिक्षकको अभाव यहा देखिन्छ । गुणस्तरलाई प्रभाव पार्ने अर्को मुख्य बिषय भनेको शिक्षा प्रणाली र त्यसको मापदण्ड को व्यवस्था पनि हो।  गुणस्तर निर्धारणमा फार्मेसी काउन्सिलले अहिले धेरै महत्वपुर्ण भूमिका खेलेको देखिन्छ । विद्यार्थीको पढाई प्रतिको रुचि बिकाश पनि उतिकै जरुरि छ। आजकालका बिद्यार्थीहरुमा मन लागे पढ्नलाई आयो, मन लागेन आएन जस्तो परिपाटी पनि देखिएको छ । समग्रमा भन्दा सिस्टम, विद्यार्थीको रुचि, रिसोर्स र शिक्षकको गुणस्तर यि कुराले विद्यार्थीको  गुणस्तरलाई निर्धारण गर्ने हो ।

निम्न गुणस्तर वा गुणस्तरहीन शिक्षाले फार्मेसी पढिरहेका विद्यार्थीमाथि कस्तो असर पर्ला ?

गुणस्तरीय शिक्षा नहुँदा फार्मेसी पढिरहेका विद्यार्थीमात्र नभई देशको भविष्यमा ठूलो असर पर्छ । कलेजबाट विद्यार्थीले आशा गरेको भनेको ज्ञान र प्रतिस्पर्धामा क्षमता अभिवृद्धि नै हो । र यसको लागि चाहिन्छ प्रयाप्त ठाउँ, शिक्षक र शैक्षिक सामाग्री र त्यसको उच्च व्यवस्थापन । हामी कहाँ  त यस्ता कलेज पनि छन् जहाँ एक जना फार्मासिस्ट भएर पनि चलाइरहेका छन् । किन त भन्दा यसको पछाडी धेरै कारण छन् । कहिलेकाँही शिक्षकले पाउने सेवा सुविधा पनि हुन्छ, लोकेशन पायक नपरेर पनि यो समस्या हुन सक्छ । शिक्षकलाई शिक्षककै रुपमा हेर्ने हो भने आजको जमानामा शिक्षकले किताब पढाइ राख्न आवश्यक छैन । सबै कुरा गुगलमा भेटिन्छ, एआईले पनि धेरै कुरामा सहयोग गर्छ । अहिलेका शिक्षकले प्रायाक्टिल आधारमा कसरी पढ्ने भन्ने विषयमा सिकाइदिन आवश्यक छ । 

विद्यार्थीको आवश्यकता र उसको रुचिलाई म्याच गराउन सक्ने अवस्था छ भने शिक्षकको गुणस्तरमा अरु केही चाहिँदैन । यसका लागि शिक्षक आफै पनि सो विषयमा विज्ञ हुनुपर्यो । तर व्यबहारमा यस्तो कमै देखिएको छ । शिक्षकको पनि आफ्नै बाध्यता होलान्, बिहान ७ बजे पढाउन जाने ९ बजेसम्म पढाएर पछि आफ्नो अर्को ड्युटीमा जानुपर्ने, साँझ ६ बजे घर फर्किने त्यसपछि परिवारसँग घुलिमल भोलिको दिनचर्या पनि यसरी बित्दा उसले आफु सिक्ने मौका पाएको खोइ ? शिक्षकले त एउटा कक्षा पढाउन एक हप्ताको तयारी गर्नुपर्छ । तर यस्तो कमै देखिन्छ आफुमा लगानी गरेको ।  कुनै बेला एउटाले बनाएको नोट पढेर बिद्यार्थी पास हुन बाध्य, प्रतिस्पर्धी ज्ञान कहाँबाट आउँछ । गुणस्तरीय शिक्षाको लागि शिक्षकको सेवा सुविधाको ख्याल राख्नु पनि जरुरी छ । 

यस्तो अवस्थामा कसरी गुणस्तर हुने ?

हामीले अहिले बोलिरहेको गुणस्तरको परिभाषा बुझ्न नेपाल फार्मेसी काउन्सिलको परीक्षालाई लिन सकिन्छ । गुणस्तरीय भनेको सय जनामा १०० वा ५० जना पास हुने वा सबै फेल हुने होइन । र पनि आज फार्मेसी लाईसेन्स परीक्षामा १३ प्रतिशतसम्म विद्यार्थी पास भइरहेका पनि छन् । यस पछाडीको कारण विद्यार्थी मात्र कमजोर भन्न मिल्दैन । कहिलेकाँही कम्प्युटराइज सिस्टमले छानेको प्रश्नपत्र पनि हुनसक्छ । जब हामी प्रश्न छनोट गछौं त्यसमा सोध्ने स्टक्चर पनि नमिलेर हुन सक्छ । कहिलेकाँही विद्यार्थीलाई पढाइएको कुरा र लाइसेन्स परीक्षामा सोधिने प्रश्नको तालमेल नमिल्दा पनि यस्तो समस्या आउन सक्छ । त्यस्तै सिलेबसका कुरा पनि आउलान्, नेपाल बाहिर पढेका विद्यार्थीहरुको लागि नेपालको औषधी ऐन कानुनको ज्ञानमा कमि हुन सक्छन् ।  यस्ता विविध विषय छन्, जसलाई गुणस्तरसँग प्रत्यक्ष जोड्न मिल्दैन । र, पनि सामानान्तर गुणस्तर प्रणालीको विकास गरि शिक्षाको गुणस्तरियतालाई कायम राख्न सकिन्छ । 

अदक्ष फार्मासिस्टले दिने सेवाले कस्तो असर पार्छ ?

ठूलो असर पार्छ । दक्षता भनेको सेवा गुणस्तरीयताको आधार हो । कहीँकहिँ दक्षताको कारणले पनि छिमेकी मुलुक बंगलादेश, थाइल्याण्ड र भारतमा पनि कफ सिरप खाएर कति बिरामीको मृत्यु भएको छ र मेरो बुझाइमा यो पनि फार्मासिस्टले गरेको गल्तीको परिणाम हो । एउटा डाक्टरले भुल गर्दा एउटा बिरामी मर्छ तर एउटा फार्मासिस्टले औषधी बनाउँदा उसले कुनै त्रुटी गर्यो भने त्यो ब्याचमा निस्कने जती औषधी छन् खाने जति सबैको ज्यान जोखिममा पर्छ । बायोलोजिकल सेफ्टीको हिसावले फार्मेसी पेशा निकै संवेदनशील विषय हो । औषधीमा स–साना कुराहरू धेरै छन् । एउटा औषधी पुरुषले खान मिल्छ महिलाले खान मिल्दैन, एउटा औषधी सामन्य महिलाले खान मिल्छ तर गर्भवतीले खान मिल्दैन यस्ता औषधी धेरै हुन्छन् । सामान्य दुखाइको कुरा मात्र गर्ने हो भनेपनि कलेजोको समस्या भएको व्यक्तिलाई प्यारासिटामोल दिन मिल्दैन । औषधीका यस्ता सुक्ष्म विषय छन्, जसलाई फर्मासिस्टले हेर्नुपर्ने हुन्छ ।  त्यसैले अदक्ष फार्मासिस्टले दिने सेवाले कस्तो असर पार्छ ।
 
रोग अनुसारको फरक फार्मासिस्ट हुन्छ ?

फार्मेसीका धेरै विधाहरु हुन्छन्, रोग अनुसारको फरक फार्मासिस्ट त हुदैनन् ज्ञान त विज्ञता फरक हुनसक्छ । विदेश तथा नेपालमा पनि के छ भने फार्मेसी नपढेकालाई औषधी बेच्ने लाइसेन्स दिन बन्देज गरिएको छ, पहिला ३० दिनको तालिम उपरान्त सो अनुमति दिने गरिन्थ्यो । यही विज्ञता पनि एउटा कारण रह्यो जसको कारणले यो व्यवस्था बन्द गर्नुपर्ने भयो किन कि ३० दिनको तालिमले बैज्ञानिक ज्ञान पुग्ने देखिँदैन । समाजमा के एउटा छाप परेको छ भने औषधी व्यापार भनेको नाफामुलक व्यापार हो । यसो हुँदा चार वर्ष पढेर एउटा औषधी पसल सञ्चालन गर्न मिल्छ भन्ने हेतुले पनि फार्मेसी पढ्ने गरेको पाइयो । यो भनेको सामुदायिक फार्मेसी हो । त्यही विषयलाई अस्पतालमा स्थापित गर्यो भने अस्पताल फार्मेसी भयो । तर, ती पÞmार्मसिस्टले अर्बुद रोग, मुटु रोग जस्ता विषेश जटिल रोगमा प्रयोग हुने विशेष किसिमका औषधीको लागि विशेषतः काम गर्ने पनि हुन्छन् ।  तिनीहरुलाई विशेषज्ञ पÞmार्मासिस्ट पनि भन्ने गरिन्छ । 

फार्मासिस्टले फार्मेसी लाइसेन्स प्राप्त गर्न के गर्नुपर्छ ?

प्रणाली वा सिस्टमको कुरा गर्दा नेपालमा विस्तारै लागू हुँदैछ । नेपाल फार्मेसी काउन्सिल र मेडिकल एजुकेसन काउन्सिलले यस्ता विषमा संवेदनशील भएको देखिन्छ । फार्मेसी पढ्नुभन्दा पहिले प्लसटु गरिसकेपछि विद्यार्थीले भर्नाको लागि एम ई सी को भर्ना परीक्षा दिनुपर्छ । फार्मेसी पढ्न पाउने नपाउने भन्ने विषयमा दिइएको परीक्षामा पास भइसकेपछि मात्र फार्मेसी पढ्न पाइन्छ । त्यसपछि फार्मेसी पढेर पास भइसकेपछि फार्मेसी काउन्सिलको परीक्षा दिनुपर्छ । काउन्सिलले लिएको रेजिस्ट्रेसन परीक्षा पास भए पछि बल्ल के काम गर्न चाहेको हो त्यो काम गर्न सकिन्छ । तर, औषधी पसल खोल्नुपर्यो भने औषधी व्यवस्था विभागमा काउन्सिलले दिएको सर्टिफिकेटको आधारमा औषधि व्यवस्था विभागबाट अर्को लाइसेन्स प्राप्त गर्नुपर्छ । त्यसपछि औषधीको व्यापार गर्न पाइन्छ । यस बाहेक आन्तरिक राजस्व कार्यालयमा तथा सम्बन्धित अन्य निकायमा पनि दर्ता गर्नु पर्ने हुन सक्छ । 

औषधी पसल खोल्ने नै बढी किन ?

हो, नेपालमा फार्मेसी पढेकाहरूको ध्यान लाइसेन्स प्राप्त गरेर औषधी पसल सञ्चालन गर्ने भन्नेमा बढी छ । थोरै लगानीमा प्रतिष्ठित र नाफामुलक तथा सजिलो व्यवसाय भएकोले हुनसक्छ, यो आकर्षणको मुख्य कारण हुनसक्छ । नेपालमा फार्मेसी पढेकाकोलागि थुप्रै सम्भावना छ किनकि नेपालमा जनशक्ति आवश्यकताको आधारमा फार्मासिष्टको दरबन्दी निकै कम छ ।  सरकारले आज नभएपनि भोलि यो आवश्यकता पुर्ति गर्न दरबन्दी ल्याउनै पर्छ । यसो हुँदा अहिले हामीसँग जतति जनशक्ति छ । पछि  त्यो भन्दा बढी आवश्यकता पर्न सक्छ । सेवासुविधाको हिसावले देश बाहिर राम्रो छ र अवसर पनि धेरै छ । नेपालमा फार्मेसी पढेका विद्यार्थी बेरोजगार अहिले पनि छैनन् तर सेवा सुविधा निकै कममा काम गर्नुपर्ने बाध्यता छ । 

फार्मेसी शिक्षालाई राम्रो बनाउन तीन वटा पक्षले काम गर्नुपर्छ । नेपाल सरकार, सम्बन्धित संस्था र विद्यार्थी । सरकारले शिक्षा सँग सम्बन्धित ऐन, नियम कानुन बनाएको छ । तर, त्यसको कार्यान्वयन हुन सकेको छैन । अर्को, विद्यार्थीलाई फार्मेसी शिक्षा दिइरहेका शैक्षिक संस्थाहरूले आवश्यक संसाधनसहित दक्ष शिक्षकको माध्यमबाट पठन पाठन गराउने व्यवस्था मिलाईदिनु पर्यो । सम्भव भएसम्म एउटा कलेजले एउटा एउटा बिषय विज्ञता अध्यापनको पहिचान बनाउनु पर्छ ।  विषयविज्ञता पढाइले नया क्षेत्रसँगै पहिचान बनाउन पनि मद्दत गर्छ ।
 

Share News