काठमाडौं । पछिल्लो समय नेपाली अटोमोबाइल बजारमा विद्युतीय गाडी (ईभी) प्रतिको आकर्षण ह्वात्तै बढेको छ । बदलिँदो विश्वव्यापी परिवेश र इन्धनको बढ्दो मूल्यका बीच ईभीहरू सहरी उपभोक्ताका लागि एक स्मार्ट विकल्प बनिरहेका छन् । अझ भन्नुपर्दा नेपालमा दशकौंदेखि टाटा मोटर्सका गाडी सबैतिर गुडिरहेका देखिन्छन् । यही दौडमा, पञ्च ईभीले नेपाली बजारमा आफ्नो बलियो उपस्थिति जमाएको छ । यो ईभी हाल नेपालमा सबैभन्दा बढी बिक्री हुने ईभी मध्ये एक बनेको छ ।
हुन त कुनै पनि उत्पादनको सफलताको पछाडि कम्पनीको विरासत र ग्राहकको विश्वासले महत्त्वपूर्ण भूमिका खेल्छ । टाटा पञ्च ईभीको हकमा पनि यही लागू हुन्छ । सिप्रदी ट्रेडिङ प्रालिका उप-प्रबन्धक सुजन कार्की भन्छन्, ‘सफलताको एउटा प्रमुख कारण टाटा ब्रान्ड प्रतिको विश्वास हो । हामीले लगभग २० वर्षभन्दा बढी समयदेखि पेट्रोल-डिजेल गाडी र विगत ५ वर्षदेखि ईभी गाडी नेपालमा ल्याइरहेका छौँ ।’
४० वर्षभन्दा पुरानो सिप्रदीको आफ्नै विश्वसनीयता र टाटाको बलियो ब्रान्ड छविका कारण ग्राहकहरूले सजिलै भरोसा गर्ने वातावरण बनेको हो । अटो मोबाइल बजारमा एक किसिमले नेतृत्व नै गरिरहेको टाटाले पन्च ईभी नेपाली बाटो र माटोमा सुहाउँदो रहेको कम्पनीको भनाइ छ ।

तर, यसमा विश्वास मात्रै पर्याप्त छैन । कम्पनीले ईभीका लागि आवश्यक पूर्वाधारमा गरेको लगानी अर्को महत्त्वपूर्ण पक्ष हो । कम्पनीले छुट र अफरमा मात्र केन्द्रित नभई चार्जिङ स्टेसन र सर्भिस सेन्टरको सञ्जाल विस्तारमा समेत जोड दिएको छ । आधिकारिक वितरक रहेको सिप्रदीको यो ईभी तीन भेरिएन्टमा उपलब्ध छ । टाटा पन्च ईभी प्लस एस एमआर, एलआई र प्लस एलआर गरी तीन भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्लस एस एमआरको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ, पन्च ईभी इम्पावर्ड एलआईको मूल्य ३७ लाख ९९ हजार र पञ्च ईभी इम्पावर्ड प्लस एलआरको मूल्य ३९ लाख ९९ हजार पर्ने गरेको छ । कम्पनीले अफर अन्तर्गत ग्राहकहरूलाई एक पन्च ईभीमा १ लाख रुपैयाँसम्मको नगद छुट दिने गरेको जनाएको छ ।
नेपाली सडक सुहाउँदो डिजाइन र फिचर
कम्पनीका उप-प्रबन्धक कार्कीका अनुसार टाटा पञ्च ईभीलाई एक ‘कम्प्याक्ट एसयुभी’ को रूपमा डिजाइन गरिएको छ । जुन सरहरको भीडभाडदेखि हल्का अफ–रोडसम्मका लागि उपयुक्त छ । यसको १९० एमएमको ग्राउन्ड क्लियरेन्सले नेपालका खाल्डाखुल्डीयुक्त सडकमा गाडी ठोक्किने चिन्ता कम गर्छ ।
‘यो गाडी सिटी एरिया र अफ-रोड दुवैलाई सुट हुन्छ,’ उनले थपे, ‘साइजमा धेरै ठूलो नभए पनि यसमा एसयुभीका गुणहरू छन् । यसबाहेक, गाडीको ढोका ९० डिग्रीसम्म खुल्ने हुँदा उमेर ढल्केका र बिरामी मानिसहरूलाई पनि गाडीभित्र पस्न र निस्कन निकै सहज हुन्छ ।’
टाटाले आफ्ना गाडीहरूमा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । पञ्च ईभीले भारत एनक्याप ( नयाँ कार मूल्याङ्कन कार्यक्रम) बाट ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जसले यसलाई आफ्नो सेगमेन्टमा सबैभन्दा सुरक्षित गाडीहरूमध्ये एक बनाउँछ ।
यसको बेस मोडेलदेखि नै ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम (इएसपी ), हिल होल्ड कन्ट्रोल जस्ता सुरक्षा फिचरहरू उपलब्ध छन् । यसका साथै, ३६०–डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ र इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता प्रिमियम फिचरहरूले ड्राइभिङलाई थप सुरक्षित र सहज बनाउँछ ।
चार्जिङ र सर्भिसको चिन्ता मुक्ती
ईभी खरिदकर्ताको सबैभन्दा ठूलो चिन्ता ‘रेन्ज एन्जाइटी’ र चार्जिङ पूर्वाधारको अभाव हो । यसलाई समाधान गर्न सिप्रदीले देशव्यापी रूपमा एक बलियो चार्जिङ सञ्जाल स्थापना गरेको छ ।
‘अहिले हामीसँग १८५ भन्दा बढी चार्जिङ स्टेसन छन्, जसमा ३० भन्दा बढी फास्ट चार्जरहरू छन्,’ उपप्रबन्धक कार्कीले भने, ‘ग्राहकले पूर्वको बिर्तामोडदेखि पश्चिमको धनगढीसम्म ढुक्क भएर यात्रा गर्न सक्नुहुन्छ ।’ कम्पनीले ‘सजिलो चाजर्’ नामक मोबाइल एप पनि उपलब्ध गराएको छ, जसबाट ग्राहकले नजिकको चार्जिङ स्टेसनको अवस्था (खाली छ वा व्यस्त) र लोकेसनबाटै सजिलै हेर्न सक्छन् ।

त्यसैगरी, कम्पनीका अनुसार देशभर २० भन्दा बढी ईभी-डेडिकेटेड सर्भिस सेन्टरहरू छन्, जहाँ तालिम प्राप्त प्राविधिकहरू उपलब्ध छन् । यसले गाडीको मर्मतसम्भारका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता हटाएको छ ।
ब्याट्रीको चिन्ता र समाधान
ईभीको सबैभन्दा महँगो पार्टस् ब्याट्री हो, र यसको मर्मत वा प्रतिस्थापन महँगो हुने चिन्ता ग्राहकमा हुन्छ । यसलाई सम्बोधन गर्न सिप्रदीले नेपालमै ब्याट्री डाइग्नोस्टिक एन्ड रेस्टोरेसन फ्यासिलिटी स्थापना गरेको छ । ‘हामी ब्याट्रीसँग सम्बन्धित समस्या नेपालमै समाधान गर्न सक्छौँ, जसले गर्दा ग्राहकलाई भोलि लामो समयसम्म आउने खर्च कम हुन्छ,’ उनले भने ।
कम्पनीले ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ । जसले ग्राहकलाई थप विश्वस्त पारेको छ । कम्पनीले अहिलेसम्म १२ सयभन्दा बढी पञ्च ईभी बिक्री गरिसकेको छ । ग्राहकहरूले विशेषगरी यसको न्यून मर्मत खर्च, पेट्रोल-डिजेल भर्नु नपर्ने झन्झटबाट मुक्ति र चलाउन सहज भएकोमा सन्तुष्ट छन् । अटोमेटिक गियर सिस्टमले गर्दा सहरको ट्राफिकमा ड्राइभिङ निकै आरामदायी हुने कम्पनीको भनाइ छ ।
एक ग्राहकले अर्कोलाई सिफारिस गर्ने क्रम (रिफरेन्स सेल्स) बलियो हुनुले पनि बजारमा यसको सकारात्मक प्रभाव परेको देखिन्छ । टाटा पञ्च ईभीको सफलता कुनै एक कारणले मात्र सम्भव भएको होइन । यो टाटा र सिप्रदीको बलियो विश्वास, नेपाली सडक सुहाउँदो उत्पादन, सुरक्षामा दिइएको प्राथमिकता, र सबैभन्दा महत्त्वपूर्ण, चार्जिङ र सर्भिसको देशव्यापी सञ्जालको संयुक्त परिणाम रुपमा लिन सकिन्छ । ग्राहकको चिन्तालाई बुझेर त्यसको समाधानसहित बजारमा प्रस्तुत भएका कारण नै पञ्च ईभीले नेपाली बजारमा दमदार ‘पञ्च’ स्थापित गर्न सफल भएको छ ।