बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा, प्रधानमन्त्री ओलीले पनि विवादित मन्त्रीलाई विदा गर्दै

काठमाडौं । बागमती सरकारका चार जना मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका हुन् । 

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन् ।

मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना सामेल छन् । कांग्रेसभित्र आन्तरिक मनमुटटावले ती मन्त्रीहरुले राजीनामा दिएको बुझिएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउनका लागि उनीहरुले राजीनामा दिएको बुझिएको हो । 

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन् । 

कांग्रेसमा पछिल्लो समय दरार सिर्जना भएको छ । शेखर कोइराला पक्षले पछिल्लो समय गुटगत भेला राखेर यस विषयमा छलफल गर्दै आएको छ । यसको प्रभाव अहिले केन्द्रमा पनि मन्त्री हेरफेर हुने चर्चा छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न सक्ने सम्भावना रहेको स्रोतको दाबी छ । उनले एमाले र कांग्रेसका केही विवादित मन्त्रीलाई फिर्ता पठाएर नयाँ मन्त्रीहरू नियुक्त गर्ने गृहकार्य गरिरहेका छन् । 

Share News