काठमाडौं । नेपाली अटोमोबाइल बजारमा नयाँ उत्साह र रौनक थप्दै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ को आयोजना गर्दैछ । आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने यो महामेलामा दुई पाङ्ग्रे सवारीसाधनका १७ भन्दा बढी ब्राण्डहरूले सहभागिता जनाउनेछन् ।
विशेषगरी दुई पाङ्ग्रे सवारीको व्यापार तुलनात्मक रूपमा बढिरहेको समयमा हुन लागेको यो एक्स्पो कम्पनीहरूका लागि आफ्नो व्यापार विस्तार गर्ने र ग्राहकहरूका लागि नयाँ प्रविधि र मोडलहरू एकै छानामुनि हेर्ने अवसर बनेको छ ।
यस पटकको एक्स्पोको मुख्य आकर्षण पेट्रोल इन्जिन र विद्युतीय सवारी (ईभी) बीचको प्रतिस्पर्धा र सहयात्रा हुने देखिन्छ । केही कम्पनीहरूले पेट्रोल सेगमेन्टमा नयाँ मोडल ल्याउँदैछन् भने अधिकांशको ध्यान विद्युतीय सवारीमा केन्द्रित छ ।
पहिलो पटक हुन लागेको एक्स्पोमा १० वटा ब्राण्डका करिब २४ वटा मोडेलका विद्युतीय स्कुटर र मोटरसाइकलले प्रदर्शनीमा राखिनेछ । केही बहुप्रतिक्षित नयाँ मोडलहरू यही एक्स्पोमार्फत पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछन् ।
मेलामा सहभागी प्रमुख कम्पनीहरूले नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने योजना बनाएका छन् । वैद्य इनर्जी प्रालिले भारतमा सर्वाधिक बिक्री भएको र अत्यधिक चर्चामा रहेको ‘एथर रिज्ता’ ईभी स्कुटरलाई यही एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । १५९ किलोमिटरसम्मको रेन्ज, ४.३ किलोवाटको शक्तिशाली मोटर र ३४ लिटरको ठूलो स्टोरेज क्षमता भएको यो स्कुटरले बजारमा नयाँ तरंग ल्याउने अपेक्षा कम्पनीको छ ।
वैद्य इनर्जी प्रालिका मार्केटिङ प्रमुख सलमान खानका अनुसार यो स्कुटर भारतमा निकै सफल भएको र पारिवारिक प्रयोजनका लागि उत्कृष्ट विकल्प हो । नेपालमा सार्वजनिक हुनुअघि नै यसको ३० देखि ४० प्रतिशत युनिट बुक भइसकेको उनले जानकारी दिए ।
यसका साथै कम्पनीले आफ्ना पुराना र सफल मोडेलहरू ४५० एक्स र ४५० एस पनि प्रदर्शनीमा राख्नेछ । वैद्य इनर्जीले हालसम्म नेपालमा १ हजार ५ सय भन्दा बढी एथर स्कुटर बिक्री गरिसकेको पनि खानले बताए ।
यसैगरी नवीनतम् प्रविधिका लागि चिनिएको गोगोरो नेपालले एक्स्पोमा आफ्ना उत्पादनभन्दा पनि प्रविधिलाई मुख्य आकर्षण बनाउने जनाएको छ । कम्पनीका मार्केटिङ प्रमुख चिरञ्जिवी साहका अनुसार अवलोकनकर्ताले गोगोरोको ‘ब्याट्री स्वापिङ टेक्नोलोजी’ को प्रत्यक्ष अनुभव गर्न पाउनेछन् । उनीहरूले आफैले ब्याट्री स्वाप गरेर यसको सहजता र उपयोगिता बुझ्न सक्ने गोगोरोले जनाएको छ ।
यसका साथै, गोगोरोले जेगो, क्रसोभर र पल्स गरी तीन भेरियन्टमा ल्याउने जनाएको छ । यी मोडेलका अपग्रेटेड भर्सन र देशभर रहेका ४५ वटा ब्याट्री स्टेसनबारे विस्तृत जानकारी पनि प्रदान गर्नेछ भने बजाजले यस पटक आफ्नो एकमात्र नयाँ इलेक्ट्रिक स्कुटर ‘चेतक ३५०१’ लाई मुख्य आकर्षण बनाउने छ ।
बजाजले पनि आफ्नो एकमात्र नयाँ मोडलको रूपमा ’चेतक’ स्कुटर प्रदर्शन गर्नेछ । कम्पनीका मार्केटिङ प्रमुख अमित चालिसेका अनुसार यो ३५०१ मोडलको नयाँ चेतक हुनेछ र यो पूर्ण रूपमा नयाँ हुनेछ । कम्पनीले यसपटक एउटा मात्र नयाँ मोडेलमा ध्यान केन्द्रित गरेको छ । यो मोडेल भारतमा निकै लोकप्रिय छ ।
यस्तै, सुजुकीले भने यस पटक कुनै नयाँ मोडल सार्वजनिक नगर्ने भएको छ । सुजुकीका मार्केटिङ प्रमुख समित सिंहका अनुसार एक्स्पोमा कम्पनीले आफ्ना स्थापित र लोकप्रिय मोडलहरू ‘भी–स्ट्रम एसएक्स २५०’, ‘जिक्सर १५०’ र ‘एभिनिस’ स्कुटर प्रदर्शनीमा राख्नेछ । नयाँ ‘एक्सेस’ स्कुटर आउने चर्चा चले पनि त्यो हाललाई निश्चित नभएको उनले स्पष्ट पारे ।
टीभीएसल ‘कस्टम मोडल’, ‘रेसिङ मोडल’ र हाल चलिरहेका स्कुटरहरूको ‘नयाँ कलर भेरियन्ट’ ल्याउने सम्भावना रहेको बताएको छ । तर, चर्चित इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ भने प्रदर्शनीमा नहुने निश्चित भएको छ । कम्पनीले एक-दुई दिनमा आफ्नो अन्तिम योजनाबारे जानकारी दिने बताएको छ ।
यस्तै, कुजु नेपालले नाइमा एक्स्पोमा आफ्नो पहिलो ईभी मोटरसाइकल ‘याडिया कीनीस’ सार्वजनिक गर्दैछ । १०० किमी/घण्टाको उच्च गति र १५० किलोमिटरको रेन्ज भएको यो बाइकसँगै कम्पनीले ई८एस प्रो, एम६ र भेलक्स स्कुटर पनि प्रदर्शनमा राख्नेछ ।
हुलास अटोक्राफ्टले बजाजको लोकप्रिय ‘चेतक’ स्कुटरलाई विद्युतीय अवतारमा प्रस्तुत गर्नेछ । १५३ किलोमिटरको रेन्ज र ३५ लिटरको स्टोरेज भएको ‘चेतक ३५०१’ ले क्लासिक डिजाइनका पारखीहरूलाई आकर्षित गर्नेछ ।
यसैगरी आइहब प्रालिले दुइटा नयाँ ईभी स्कुटर (ई १२५ एमके २ र ई १५० एमके २) र दुईवटा अफरोड ईभी बाइक (जाइबर र छफरी) प्रदर्शन गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यी मोडेलहरूले एड्भेन्चर र सिटी राइड दुवैका लागि नयाँ विकल्प दिनेछन् ।
केडिया इन्टरनेशनलले उच्च प्रदर्शन भएको ‘अल्ट्राभोइलेट एफ७७ म्याच २’ मोटरसाइकल प्रदर्शन गर्नेछ । ३२३ किलोमिटरको विशाल रेन्ज र ३० किलोवाटको शक्तिशाली मोटर भएको यो प्रिमियम बाइकले सबैको ध्यान खिच्ने पक्का छ ।
यसका साथै, रिभोल्टले आरभी ४०० सिरिज, जीहोले एई ६ प्लस र एई ८ प्लस, तथा एनआईयूले गोभा, एनक्यूआई लगायतका चार मोडेलहरू प्रदर्शनीमा राख्नेछन् । यी सबै ब्राण्डहरूले विद्युतीय सवारीको बढ्दो बजारमा आफ्नो बलियो उपस्थिति देखाउनेछन् ।
एड्भेन्चर र स्पोर्टी बाइकमा विशेष आकर्षण
विद्युतीय सवारीको चर्चा चुलिँदै गर्दा पेट्रोल इन्जिनका पारखीहरूलाई पनि नाइमा एक्स्पोले निराश बनाउने छैन । स्थापित ब्राण्डहरूले आफ्ना लोकप्रिय मोडलका नयाँ र अपग्रेटेड भर्सनहरू ल्याउँदैछन् ।
हंशराज हुलाशचन्द एण्ड कम्पनीले बाइक प्रेमीहरूको लागि ‘केटीएम एड्भेन्चर’ र ‘केटीएम ड्युक’ को नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भारतमा केही महिनाअघि मात्रै सार्वजनिक भएको यी मोडेलहरूले नेपाली बजारमा पनि उत्साह थप्ने विश्वास कम्पनीको छ ।
एक्स्पोमा केटीएम ब्राण्डले आफ्ना ५ वटा नयाँ मोडल ल्याएर ठूलो ’सप्र्राइज’ दिने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एक्स्पोमा सार्वजनिक गरिने मोडलहरूमा ’नयाँ जेनेरेसन ड्युक’ र ’एड्भेन्चर’ सिरिजका बाइकहरू रहनेछन् । यद्यपि, ग्राहकहरूमाझ उत्साह कायम राख्न कुन–कुन मोडल आउँदैछन् भन्नेबारे कम्पनीले गोप्य राखेको छ ।
कम्पनीका अनुसार यी सबै मोडेलहरू पेट्रोल इन्जिनमा आधारित हुनेछन् । हालसम्म नेपालमा करिब २५ हजार वटा केटिएम बाइक बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
भीजी अटोमोबाइल्सले नेपालको सबैभन्दा लोकप्रिय स्कुटरमध्ये एक ‘सुजुकी एक्सेस’ को अपग्रेटेड भर्सन ल्याउनेछ । जसमा कम्पनीले ‘एक्सेस’ कै विद्युतीय (ईभी) भर्सन पनि ल्याउने तयारी गरिरहेको जनाएको छ, जसले पेट्रोल र ईभी दुवै बजारलाई जोड्ने प्रयास गर्नेछ ।
यसैगरी जगदम्बा मोटर्सले युवाहरूमाझ निकै लोकप्रिय ‘टीभीएस एन्टर्क’ स्कुटरको नयाँ मोडेल प्रस्तुत गर्ने तयारी गरिरहेकोे छ । यसबाहेक कम्पनीले रिसिङ मोडेल र न्यूकलर भेरियन्ट नाइमा एक्स्पोमा राखिने जनाएको छ ।
केटीएम इन्टरनेशनलले बनेलीको भगिनी ब्राण्ड ‘मोर्बिडेली’ का २५० सीसी र ३५२ सीसीका स्पोर्ट बाइकहरू प्रदर्शनीमा राख्नेछ । जसले रेसिङ बाइकका पारखीहरूलाई आकर्षित गर्नेछ ।
यी बाहेक होण्डा, रोयल इन्फिल्ड, महिन्द्रा जस्ता ब्राण्डहरूको उपस्थिति पनि एक्स्पोमा रहनेछ । जसले ग्राहकहरूलाई छनोटका लागि थप विकल्पहरू प्रदान गर्नेछन् ।
भृकुटी मण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो-२०२५’ भविष्यको मोबिलिटीको स्पष्ट चित्र देखाउने एउटा मञ्च बन्दैछ । जहाँ एकातिर वातावरणमैत्री विद्युतीय सवारीको पार्किङ हुनेछ भने अर्कोतिर पेट्रोल इन्जिनका आकर्षक नयाँ मोडलहरूले प्रतिस्पर्धा गर्नेछन् ।
यो एक्स्पो सवारी खरिद गर्न चाहनेहरूका लागि मात्र नभई नेपाली अटोमोबाइल उद्योगको भविष्यको दिशा बुझ्न चाहने सबैका लागि एक महत्त्वपूर्ण गन्तव्य हुन विश्वास अटो व्यवसायीको छ ।