तीव्र रूपमा फैलिँदै हेपाटाइटिस, बर्सेनि १३ लाख बढी व्यक्तिको मृत्यु

२० लाखभन्दा बढी व्यक्तिमा संक्रमण

काठमाडौं । रोगहरू फरक-फरक किसिमका हुन्छन् । केही रोगले तुरुन्तै लक्षण देखाउँछन् अनि उपचार गर्दा निको हुन्छन् भने कतिपय रोगहरूको लक्षण नै देखा नपरी भित्रभित्र शरीरको आधा भाग बिग्रिसकेपछि मात्र थाहा हुन्छ । यस्तो अवस्थामा व्यक्ति अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छ । अन्तिम समय अस्पताल पुग्दा रोग निको हुँदैन । यस्ता खालका रोगले व्यक्तिको ज्यान र पैसा दुवै नष्ट गरिदिन्छ । 

आजभोलि धेरै व्यक्ति आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेको छन् । नियमित जाँच गर्नेदेखि शारीरिक व्यायाममा पनि उत्तिकै ध्यान दिइरहेका हुन्छन् । व्यक्ति स्वास्थ्यप्रति सचेत रहँदा पनि कतिपय रोगले मौन संकट पारिरहेका हुन्छन् । नेपालमा यस्तै मौन संकटका रूपमा हेपाटाइटिस बी र सी देखिँदै आएको विज्ञहरू बताउँछन् । 
यो रोग लागेको कतिपय व्यक्तिलाई थाहै नभइ कलेजो खराब भइसकेको हुन्छ । मेडिसिटी अस्पतालमा कार्यरत हेपाटो सर्जन डा. रामबाबु शाह हेपाटाइटिस बी र सी नेपालमा डरलाग्दो रूपमा देखिरहेको बताउँछन् । 

उनका अनुसार यो रोगले सुरुमा लक्षण नै नदेखाएर एक्कासि असहज हुने अवस्थाको सिर्जना गर्छ । बिरामी जसोतसो अस्पताल पुग्दा कलेजो सबै खराब भइसकेको हुन्छ । उनले हेपाटाइटिस बी भएर कलेजो खराब भएका तीन जनामा आफैले कलेजो प्रत्यारोपण गरिसकेको जानकारी दिए । 

मेडिसिटीले केही समय अगाडि पहिलो कलेजो प्रत्यारोपण गरेको बिरामी पनि एक्कासि समस्या भएर अस्पताल आउँदा कलेजो अन्तिम अवस्थामा पुगिसकेपछि मात्र लक्षण देखिएको शाहले बताए । 

जेठ ८ गते पोखराका ५६  वर्षका ईश्वर कार्कीलाई एक्कासि बान्ता आउने, रिंगटा लाग्ने समस्या देखिँदा परिवारले मेडिसिटी अस्पताल पुर्याएको थियो । जाँच गर्दा उनको कलेजो पुरै खराब भइसकेको थियो । कलेजोमा समस्या आउँदा किड्नीमा पनि समस्या देखिन्छ । समयमै उनका छोराले कलेजो दान गर्दा कार्कीको अहिले कलेजो र किड्नी दुवैको समस्या समाधान भएको छ । 

डा. शाह हेपाटाइटिस बी निकै डरलाग्दो रोग भएको बताउँछन् । नेपाललगायत विश्वका विभिन्न देशमा फैलिरहेको यो रोगबाट लाखौं मानिस प्रभावित छन् । नेपालमा पनि यो रोगबाट थुप्रै व्यक्तिहरू प्रभावित भइरहेका छन् । तुरुन्त लक्षण देखापर्ने भन्दा लक्षण नै देखा नपरेका रोगहरूले मान्छेको ज्यान लिइरहेको छ । 

के हो हेपाटाइटिस ?

कलेजोको कोषहरूलाई हेपाटोसाइट भनिन्छ । यी कलेजोका तन्तुहरू हुन् । कुनैपनि संक्रमणका कारण हेपाटोसाइटलाई असर गर्छ अनि कलेजो सुनिन्छ । हेपाटाइटिस भनेको कलेजोमा सुजन हुने एउटा रोग हो । यो रोग प्रायः भाइरल सङ्क्रमणको कारण हुने गर्छ । रक्सी सेवन, विषाक्त पदार्थ, अटोइम्युन रोग वा औषधीको असरले पनि हेपाटाइटिस हुने गर्छ । 

हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारको हुन्छ । यी पाँचै प्रकारका रोग फरफरक किसिमले लाग्ने र लक्षण पनि फरक हुन्छ भने यसको जोखिम पनि फरक हुन्छ । नेपालमा धेरैजसो देखिने ए, ई, बी र सी हो । समयमा यसको उपचार नहुने हो भने कलेजो फेल भएर क्यान्सरसमेत हुने गर्छ ।  

हेपाटाइटिस बी र सी भाइरसजन्य संक्रमण हुने गर्छ । जुन रगत शरीरको तरल पदार्थ र संक्रमित सुईको प्रयोगले सर्ने गर्छ । बी र सी स्वास्थ्यको दृष्टिकोणले खतरनाक हुने विज्ञहरूको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वमा हरेक २० सकेण्डमा एकजना व्यक्तिको यही रोगले मृत्यु हुने गर्छ । १३ लाख बढी व्यक्तिको हेपाटाइटिसकै कारण मृत्यु हुने डरलाग्दो तथ्यांक छ भने हरेक वर्ष २० लाखभन्दा बढी व्यक्तिमा यो रोग लाग्ने गर्छ । 

ग्लोबल रिपोर्ट २०२४ अनुसार सन् २०२२ मा ३० करोड ४ लाखमा हेपाटाइटिस बी र सी संक्रमण भएको पाइएको छ । यो रोगका विषयमा दीर्घकालीन रणनीति नबनाए अझै डरलाग्दो अवस्था आउने डब्ल्यूएचओले चेतावनी दिइसकेको छ ।

 तत्काल कुनै नीति लिइएन भने सन् २०३० सम्ममा २८ लाख ५० हजार जनाको मृत्यु हुने अनुमान छ । 

कसरी लाग्छ ?

विश्वमा देखिएका पाँच प्रकारका हेपाटाइटिस फरक–फरक कारणले लाग्छ । हेपाटाइटिस ए र ई फोहोर पानी अनि फोहर खानेकुराबाट लाग्छ । यो व्यक्तिबाट व्यक्तिमा सर्दैन । तर हेपाटाइटिस बी र सी व्यक्तिबाट व्यक्तिमा सर्छ तर फोहोरका कारण यो रोग लाग्दैन । यो रोग लागेका व्यक्तिको रगत अर्को व्यक्तिलाई दिदाँ र शारीरिक सम्पर्कबाट सर्छ । 

आमा संक्रमित हुँदा बच्चामा पनि यो रोग सर्ने सम्भावना धेरै हुन्छ । हेपटाइटिसको लक्षण प्रायः अन्य रोगहरूसँग मेल खाने हुन्छन् । भोक नलाग्ने, पेट दुख्ने, ज्वरो आउने पखाला लाग्ने हुन्छ । यस्तै, पिसाब गाढा र पहेंलो हुन्छ भने आँखा र छाला पनि पहेंलो देखिन्छ । 

हरेक रोगका केही लक्षण मेल खाने हुन्छन् । यस्ता कुनै पनि लक्षण देखा परेमा तुरुन्त जाँच गर्नुपर्छ । हेपाटाइटिस ए, बी र सी जाँचका लागि यौन स्वास्थ्य क्लिनिकमा गएर रगत परीक्षण गराउन सकिन्छ भने हेपाटाइटिस एको लागि कुनै विशेष उपचार छैन । यो अधिकाशंमा आफै निको भएर जान्छ । 

हेपाटाइटिस ए र बी को रोकथामका लागि पछिल्लो समय बालबालिकालाई खोप लगाउन सुरु गरिएको छ । हेपाटोलोजिष्ट डा. उमिद श्रेष्ठ मद्यपान र धुम्रपान सेवनले यो रोगको जोखिम बढाइरहेको उनी बताउँछन् । यसैगरी, पछिल्लो समय बदलिँदो जीवनशैली पनि मुख्य कारण रहेको उनी बताउँछन् । 

भन्छन्, ‘मदिरा सेवनका कारण कलेजो खराब हुन्छ अध्ययनले भनेको छ तर अस्वथ्यकर खानपान, शारीरिक व्यायामको कमीले पनि कलेजो खराब भइरहेको छ।’

यकिन छैन तथ्यांक

विश्वमा २० सकेण्डमा एक व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक भएपनि नेपालमा यो रोगबारे यकिन तथ्यांक छैन । 

लिभर फाउण्डेसनका अध्यक्ष उमेशजंग रायमाझी जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा रहेको हेपाटाइटिस रोगबारे यकिन तथ्यांक नहुनु दुखद भएको बताउँछन् । 

विश्वको तथ््यांकको आधारमा हेर्दा नेपालमा करिब १ लाख १५ हजारमा हेपाटाइटिस सी संक्रमित रहेको हुनसक्ने अनुमान छ । हेपाटाइटिस बी ०.९ प्रतिशत र सी ०.३८ प्रतिशत रहेको पाइन्छ । यीमध्ये १८ प्रतिशतको निदान हुन्छ भने १ प्रतिशतले उपचार नपाएको अनुमानित तथ्यांक छ ।  एचआईभी संक्रमित व्यक्ति र सुईबाट लागुऔषध प्रयोग गर्ने व्यक्तिमा जोखिम धेरै रहेको पाइन्छ ।
 
डा. बाबुराम शाह जनचेतनाको अभावले हेपाटाइटिस नेपालमा समस्याको रूपमा गएको बताउँछन् । अन्य रोगजस्तो यो रोगलाई प्राथमिकता नदिँदा यसले अझ जोखिम निम्त्याउन सक्ने उनी बताउँछन् । 

शाहका अनुसार नेपालमा अहिले बढी देखिने भनेको हेपाटाइटिस बी २ प्रतिशत सम्मको संख्यालाई भएको मानिन्छ । डा. शाह हेपाटाइटिस सी पनि कहिलेकाँही नेपालमा देखिने गरेको बताउँछन् । हेपाटाइटिस ए र ई पनि नेपालमा देखिन्छ। 

डा. शाहका अनुसार सरसरफाइको अभाव अर्थात वातावरणको कारण ए र ई नेपालमा बढी देखिन्छ । उनी यसको रोकथामको एकमात्र बलियो उपाय खोप हुने चिकित्सकहरू बताउँछन् । 

पर्याप्त मात्रामा खोप

हेपाटाइटिस बी बच्चा जन्मेको ६, १० र १४ हप्तामा तीनवटा मात्रामा लगाइन्छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत राखेर अनिवार्य खोप दिइरहेको छ । 

शाखाका प्रमुख डा. अभियान गौतम ७७ वटै जिल्लामा जन्मेको बच्चाहरूलाई खोप दिइरहेको बताए । उनले बालबालिकाले सबैभन्दा बढी पाइरहेको खोप अन्तर्गत हेपाटाइटिस बी रहेको जानकारी दिए । 

‘बर्सेनि सय प्रतिशतदेखि ९९ प्रतिशतसम्मका बालबालिकाले यो खोप पाइरहेका हुन्छन्,’ डा. गौतम भन्छन्, ‘हामीले सन् २०३० सम्म सत प्रतिशत बालबालिकाले हरेक खोप पाइसक्ने लक्ष्य राखेका छौं । त्यसैले पनि खोप कार्यक्रमलाई प्रभावकारी बनाएका छौं, खोपको मात्रा पनि पर्याप्त हुँदा यो खोप लगाउनबाट प्रायः वञ्चित बालबालिका त्यति छैनन् ।’  

डा. गौतम यो खोप अभियानले पनि हेपाटाइटिसको संख्या निकट भविष्यमा कम हुने बताउँछन् । 

कलेजोका विषयमा अध्ययन गर्दै आएको लिभर फाउण्डेसन नेपालका अध्यक्ष उमेशजंग रायमाझी अव्यवस्थित सहर, रहनसहन वातावरणले यो समस्या नेपालमा बढ्दै गइरहेको बताउँछन् । 

यो रोग निवारण गर्न सकिने भएपनि विश्वभर मृत्यु हुने कारण भइरहेको बताउँदै उनी सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिन्छन् । 

‘सुरुमै ध्यान दिइयो भने यसले जोखिम रूप लिँदैन,’ उनी भन्छन्, ‘तर यसमा ध्यान दिइएन भने यसले अंग प्रत्यारोपण गर्नुपर्ने अवस्थासम्म आउँछ जुन शरीरको सबैभन्दा ठूलो अप्रेशनमा पर्छ ।’

कलेजो शरीरको यस्तो अंग हो जसले शरीरको पाँच हजार फङ्सन एकै पटक गर्छ । रायमाझी यस्तो डरलाग्दो विषयमा पनि राज्यले अनदेखा गरिरहेको आरोप लगाए । नेपालमा कतिको मृत्यु हुन्छ भन्ने यकिन डाटा नै सरकारसँग नहुनुले सरकारको लापरवाही प्रष्टै हुने उनको भनाइ छ । 

‘कलेजो स्वास्थ्यका विषयमा राज्य निकै चुकेको छ, सबैले यसमा ध्यान दिन जरुरी छ । हाम्रो काम भनेको यहाँ पुगेन यस्तो छ भनेर बाटो देखाइदिने हो । धेरै काम राज्यको नीतिगत तहमा गर्नुपर्छ,’उनले भने ।

Share News