काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि नेवार समुदायको ३ सय वर्ष पुरानो सांस्कृतिक पहिचानको रुपमा रहेको बर्खे नाच मङ्गलबारदेखि सुरु भएको छ । पहिलो दिन लाखे नाच प्रदर्शन गरिएको छ । करिब ३ सय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृतिको अभिन्न अङ्ग मानिएको वर्षे नाच भित्रिएको जानकारहरु बताउँछन् ।
यसरी बेनीमा भित्रिएको बर्खे नाच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ । नेपाल भाषा मंकाखलको आयोजना तथा यूवा सङ्गठन ल्यामपुचको व्यवस्थापनमा सदरमुकाम बेनीबजारमा लाखे नाच सुरु गरिएको हो ।
घण्टा कर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टा कर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा बर्खे नाच भएको हो । पति वियोगमा विक्षिप्त बनेकी घण्टा कर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूलठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी स्वरूपकी घण्टा कर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर प्रदर्शन गरिने यो नाच बेनीमा प्रसिद्ध छ ।
हरितालिका तीजको दिनसम्म देखाइने विभिन्न नाचलाई बर्खे नाच भनिन्छ । साउन १३ गतेदेखि सुरु भएको बर्खे नाच अन्तर्गत भदौ १० गते हरितालिका तीजको दिनसम्म विभिन्न नाच देखाउने तयारी भएको नेपाल भाषा मंकाः खलः अन्तर्गतको ल्यामपुचःका पूर्व अध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताए । यही साउन ९ गते घण्टा कर्ण चतुर्दशीका दिन दानवको प्रतीक घण्टा कर्णको प्रतिमालाई कालीगण्डकी नदीमा विसर्जन गरेपछि बर्खे नाचका लागि तयारी सुरु गरिएको थियो ।
बेनीमा लाखे नाच, जोगी नाच, नागनागिनी नाच, श्रीकृष्ण रथ यात्रासहित विविध नाच देखाइने गरिन्छ । जनशक्तिको अभाव हुन थालेपछि रोपाइँ नाच, हनुमान नाचलगायत धेरै जनशक्ति भएका नाचहरु भने नियमित हुन सकेका छैनन् । बर्खे नाचको सुरुवात लाखेको पति अर्थात् घण्टा कर्ण नामक राक्षसको पुतला दहन गरेर हुन्छ भने तीजको दिन साँझमा दानवीय स्वरूपको लाखेलाई भगवान श्रीकृष्ण रुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ ।
हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुण कामदेवले सुरु गरेको बताइए राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाले बताएका छन् ।
बर्खे नाच अन्तर्गत लाखे नाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र रथयात्रासहित विविध नाच देखाइने नेपाल भाषा मंका खलःका उपाध्यक्ष कुबिरकुमार श्रेष्ठले बताए । बर्खे नाच अन्तर्गत जनै पूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात नागानागीनी नाच निकाल्ने चलन छ । बेनी बजारमा बस्ती बसेदेखि नै नेवार समुदायको सक्रियतामा बर्खे नाच देखाउँदै आएको पाइन्छ ।
ऐतिहासिक महत्व बोकेको यो नाचमा पछिल्लो समय बेनीका युवाले सक्रियता पूर्वक सहभागिता जनाउने गरेका छन् । घण्टा कर्ण पर्वको अवसरमा बेनी स्थित संगम चोकमा घण्टा कर्णको आकृति बनाएर बजार परिक्रमा गरी म्याग्दी र कालीगण्डकी नदीको दोभानमा लगेर विसर्जन गर्ने परम्परा छ ।
तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच सकिने प्रचलन रहेको नेपाल भाषा मंका खलःका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।