काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सत्तापक्षका मन्त्रीहरू निदाएको दृश्य सार्वजनिक भएपछि आलोचना सुरु भएको छ । प्रधानमन्त्रीसँगै पहिलो पंक्तिमा बसेका मन्त्रीहरू संसद्को बैठककै बेला निदाएको देखिएको हो ।
सभामा सांसदहरू अल्पविकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नति पछि उत्पन्न हुने अवस्थाबारे बहस गरिरहेका थिए । प्रधानमन्त्री ओली भने बहसमा चाखसहित सहभागी देखिन्थे । जवाफ दिने क्रममा उनले बहस पूरै ध्यानपूर्वक सुनेको बताउँदै राष्ट्रिय सभाको गरिमा अनुरूप सांसदहरूले सशक्त ढंगले आफ्नो धारणा राखेको भन्दै प्रशंसा गरे ।
तर, प्रधानमन्त्रीकै लहरमा बसेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई संसद् मै निदाएका थिए ।
संसद्को यस्तो संवेदनशील विषयमा बहस भइरहँदा मन्त्रीहरू निदाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्न थालेको छ ।