यी हुन् रोनाल्डो र मेस्सीभन्दा पनि धनी फुटबल खेलाडी

काठमाडौं । तपाईंलाई लाग्छ क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धनी फुटबलर हुन् ? वा लियोनेल मेस्सी ? फेरि सोच्नुहोस् । विश्वकै सबैभन्दा धनी फुटबलर त्यो नाम हो जुन अधिकांश प्रशंसकहरूले मैदानमा चिन्दैनन् तर मैदानबाहिर उनले तपाईंको मनपर्ने क्लब नै किन्न सक्ने हैसियत राख्छन् ।

ती फुटबलर हुन् फाइक बोल्कियाह । फुटबल करिअर तर २० अर्ब डलर बराबरको नेटवर्थ ।

को हुन् उनी ?

२७ वर्षीय बोल्कियाह ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् र हाल थाइल्याण्डको क्लब राचाबुरी एफसीका लागि खेलिरहेका छन् । उनी फुटबलमा खासै चर्चित नाम होइनन्, तर उनको अनुमानित नेटवर्थ २० अर्ब अमेरिकी डलर छ- जुन रोनाल्डोभन्दा निकै माथि पर्छ ।

किन ? किनभने उनी ब्रुनाईका सुल्तानका भतिज हुन् - जो विश्वकै सबैभन्दा धनी राजपरिवारमध्ये पर्छन् । रोनाल्डो वा मेस्सीको जस्तो फुटबल उपलब्धि नहुन सक्छ, तर उनी धनको मामिलामा अलगै लिगमा छन् । 

उनको परिवारसँग ठूला तेल र ग्यासको भण्डार, विलासी सम्पत्ति र विशाल लगानीहरू छन्, जुन द सन्डे टाइम्स रिच लिस्टले उल्लेख गरेको छ ।

क्रिस्टियानो रोनाल्डो आधिकारिक रूपमा ‘बिलियनियर’ खेलाडीको सूचीमा प्रवेश गरिसकेका छन् । उनी विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने फुटबलरमध्ये एक हुन् र अहिले साउदी क्लब अल नसर सँगको ठुलो सम्झौतासहित उनी आर्थिक इतिहासमा नाम लेखाउन सफल भएका छन् ।

सेलिब्रेटी नेट वर्थअनुसार रोनाल्डोको नेटवर्थ १ अर्ब अमेरिकी डलर छ । उनले आफ्नो करिअरमा थुप्रै ब्रान्डसँग सम्झौता गरेका छन्- नाइकसँगको जीवनभरको डिल, आफ्नै सीआरसेभेन ब्रान्ड र अहिले साउदी अरबमा पाएको रेकर्ड ब्रेकिङ तलब ।

अल नसरसँगको रोनाल्डोको सम्झौतामा के छ ?

रोनाल्डोको सम्झौताले उनलाई २ वर्षको अवधिमा ७० करोड अमेरिकी डलर दिने बताइएको छ –  जुन खेलकुद इतिहासकै सबैभन्दा ठूलो तलब हो । सम्झौतामा ४८ मिलियन डलरको साइनिङ बोनस र क्लब अल नसरमा १५ प्रतिशत स्वामित्व हिस्सेदारी पनि समावेश छ ।

साउदी अरबले २०३४ मा फिफा विश्वकप आयोजना गर्दैछ र रोनाल्डोलाई त्यसको विश्वदूतको रूपमा प्रस्तुत गरिँदैछ ।

साथै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिने व्यक्ति पनि हुन् । 

लियोनेल मेस्सी हाल अमेरिकाको एमएलएस क्लब इन्टर मियामी मा खेलिरहेका छन् । रिपोर्ट अनुसार उनको नेटवर्थ ८५० मिलियन अमेरिकी डलर रहेको छ । उनले एडिडास, एप्पल, हार्ड रक क्याफेलगायत धेरै ब्रान्डसँग सम्झौता गरेका छन् ।

Share News