काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअर्न्तगत वैदेशिक रोजगार बोर्डले एक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै मृत्यु भएका १ हजार १८० शवलाई मृतकको घर ठेगानासम्मै पुर्याएको छ । त्यस्तै, बोर्डले आर्थिक वर्ष २०८१/८२ मा विदेशमा अलपत्र परेका ७० वटा शव नेपाल ल्याएको छ ।
बोर्डले बिहीबार सार्वजनिक गरेको आव २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा मृत्यु भएका नेपालीहरूको अलपत्र परेका शव नेपाल ल्याएको हो ।
त्यस्तै, बोर्डले एक वर्षमा एक हजार एक सय जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता गर्ने लक्ष्य राखिए पनि एक हजार २५० जनालाई सहायता प्रदान गरेको जनाएको छ ।
वैदेशिक रोजगारीको क्रममा अंगभंग/ विरामी भएका ६९८ कामदारलाई आर्थिक सहायता प्रदान गरेको बोर्डको तथ्यांक छ । यस्तै, एक वर्षमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ हजार ९९० जना वैदेशिक रोजगारीमा रहेकाहरूको सन्ततिले छात्रवृत्ति सहायता प्राप्त गरेका छन् ।
१४ हजारभन्दा बढी युवालाई निःशुल्क सीप विकास तालिम
बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आव २०८१/८२ मा वैदेशिक रोजगारमा जान चाहने १४ हजार ४५८ जना युवालाई निःशुल्क सीप विकास तथा उद्यमशीलता तालिम प्रदान गरेको छ ।
बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषअर्न्तगत तालिम प्रदान गरेको हो । बोर्डले वार्षिक १५ हजार युवालाई तालिम प्रदान गर्ने लक्ष्य राखेको थियो । बोर्डले वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवार र वैदेशिक रोजगारबाट फर्केका कामदारको लागि सीप विकास तालिम पनि सञ्चालन गर्दै आएको छ ।
बोर्डका अनुसार आव २०८१/८२ मा बोर्डले वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवार र वैदेशिक रोजगारबाट फर्केका ४ हजार ५६१ जनालाई सीप विकास तालिम दिएको जनाएको छ ।
त्यस्तै, बोर्डले वैदेशिक रोजगारीमा जान चाहने ८७८ जना महिला कामदारलाई आवासीय तालिम प्रदान गरेको छ । बोर्डका अनुसार उक्त आर्थिक वर्षमा बोर्डले २ सय जना महिला कामदारलाई आवासीय तालिम दिने लक्ष्य लिएको थियो ।
बोर्डको पुँजीगत खर्च ९१ प्रतिशत
बोर्डले आव २०८१/८२ मा २ अर्ब ३१ करोड ३४ लाख २५ हजार रुपैयाँ कुल बजेट खर्च गरेको छ । जसमध्ये पुँजीगततर्फ ९१.६० अर्थात ३६ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ । बोर्डले आव २०८१/८२ मा ४० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
यस्तै, चालुतर्फ २ अर्ब ३० करोड ९७ लाल ६१ हजार रुपैयाँ खर्च गरेको छ । यो विनियोजन बजेटको ९१.८५ प्रतिशत प्रगति हो । आव २०९८/८२ को लागि बोर्डले २ अर्ब ५१ करोड ४६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
आव २०८२/८३ का लागि २ अर्ब ११ करोड स्वीकृत
वैदशिक रोजगार बोर्डले विभिन्न कार्यक्रमको लागि २ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । बोर्डले कल्याण, पुनःस्थापना, राहत तथा आर्थिक सहायता वितरणसम्बन्धी कार्य गर्नको लागि १ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
बोर्डले अलपत्र कामदारको कल्याण, उद्धार तथा राहतको लागि ६ करोड ५ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । त्यस्तै, प्रशिक्षण, अध्ययन अनुसन्धान तथा सीप विकास तालिमको लागि ३१ करोड ५० लाख रुपैयाँ, वैदेशिक रोजगारीमा गएका परिवारको हीतमा गरिने कार्यक्रमको लागि २ करोड ८६ लाख रुपैयाँ स्वीकृत गरेको छ ।
त्यस्तै, सूचना तथा सञ्चार, समन्वय, सहजीकरण, र सहयोग प्रशासनिक तथा व्यवस्थापकीय अनुगमनसम्बन्धी कार्यक्रमको लागि बोर्डले ९ करोड ४७ लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । यस्तै, बोर्डले कन्सुलर सेवा सहयोग कार्यक्रमको लागि ८ करोड ७८ लाख रुपैयाँ, कार्यालय सञ्चालन र व्यवस्थापकीय खर्चको लागि ३ करोड ५१ लाख रुपैयाँ बजेट स्वीकृत गरेको बोर्डले जनाएको छ ।
बोर्डका आगामी नयाँ कार्यक्रम
वैदेशिक रोजगार बोर्डले चालु आव २०८२/८३ मा संघीय तथा प्रदेश सांसद्सँग बोर्डले प्रदान गर्ने सेवाहरूको विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम राखेको छ । यस्तै, बोर्डले चालु आवमा शव बहान खरिद गर्ने कार्यक्रम राखेको छ ।
यसबाहेक बोर्डले रिर्टनी उद्यमी आईडल कार्यक्रम गर्ने नयाँ कार्यक्रम राखेको छ । यसबाहेक बोर्डले वैदेशिक रोजगारी कल्याणकारी कार्यसम्बन्धमा लेखरचना, तथा प्रसारित भिडियो सामग्रीको मूल्यांकन गरी पुरस्कृत गर्ने कार्यक्रमसमेत राखेको छ ।