काठमाडौं । कुनै रोग यस्ता हुन्छन्, लाग्ने बित्तिकै त्यसको लक्षण देखा पर्छ । व्यक्ति तुरुन्त अस्पताल जाँचको लागि पुग्छ र उपचारपछि निको हुन्छ । तर, यस्ता डर लाग्दा रोग पनि छन् जसको कुनै दुखाइ नै हुँदैन । यि रोगले शरीरभित्र थाहै नदिई वितण्डा मच्चाइरहेको हुन्छन् । जब व्यक्तिलाई दुखाइ सुरु हुन्छ तबसम्म यि रोगले शरीरको अर्को भागसम्म हैकम जमाइसकेको हुन्छ । यस्ता डरलाग्दा रुपमा देखिइने यो रोग हो क्यान्सर ।
क्यान्सरमा पनि स्तन क्यान्सर र प्रोस्टेट र सर्भाइकल क्यान्सर दोस्रो, तेस्रो चरणमा पुगिसक्दा पनि कुनै दुखाइ हुँदैन । दुखाइ बिना हुने यस्तो रोगले अस्पतालसम्म पुग्दा धेरै ठाउँ फैलिसकेको हुन्छ । यसको उपचार गर्दा निको त हुन सक्छ तर समय पैसाको नास हुन्छ । यस्ता रोगबाट अहिले नेपालीहरू ग्रसित भइरहेका छन् ।
नेपालमा शरीरका विभिन्न रोगमा लाग्ने क्यान्सर रोग नराम्ररी फैलिँदै गएको छ । बदलिँदो जीवनशैली, गलत खानपानले फैलने रोगले व्यक्तिको ज्यान समेत लिइरहेको छ । अन्य क्यान्सर लाग्दा दुखाइ हुने भएपनि कतिपय क्यान्सर भने बिना दुखाइ शरीरभित्र फैलिरहेको हुन्छ । यो मध्येकाे एउटा डर लाग्दो रुपमा फैलिरहेको क्यान्सर हो स्तन क्यान्सर ।
पुरुष महिला दुवैमा स्तन क्यान्सर
नेपालका महिलाहरूमा अहिले सबैभन्दा बढी देखिइरहेको रोग हो स्तन क्यान्सर । विकसित मुलुकसहित नेपालमा फैलिरहेको यो रोग प्राय महिलाहरूमा मात्रै लाग्ने रोग भनेर चिनिन्थ्यो । तर, पछिल्लो समय पुरुषमा पनि स्तन क्यान्सर देखिन थालेको छ ।
ब्रेष्ट क्यान्सर सर्जन डा. प्रफुल्ल शाक्यले स्तन क्यान्सरको दुखाइ नहुँदा अस्पताल पुग्ने बिरामीहरू ढिलो गरी अस्पताल आउने गरेको बताए । सामान्यतया स्तन क्यान्सर भएको थाहा पाउन स्तनमा गिर्खाहरू भएको थाह हुनुपर्छ । तर, सबै गिर्खा क्यान्सर नहुने उनी बताउँछन् ।
कतिपय महिलाको महिनावारीको समय आउँदा स्तन भारी हुने र वरिपरि गिर्खाहरू जस्तै देखिन्छन् । तर, ति गिर्खाको दुखाइ महसुस हुन्छ । दुखाइ पनि छैन, गिर्खा आइरहेको छ भने एक पटक जाँच गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।
स्तन क्यान्सर ९९ सय प्रतिशत दुखाइ विहीन हुन्छ,’ डा. शाक्य भन्छन्, ‘दुखाइ पनि हुँदैन, कुनै लक्षण पनि देखिंदैन, जब दुखाइको महसुस हुन्छ, तब ढिला भइसकेको हुन्छ ।’
उनी दुखाइ नभएपनि कतिपय लक्षण भने व्यक्ति आफैले अनुमान गर्न सकिने बताउँछन् । स्तन क्यान्सर भएको छ भने स्तनबाट रगत वा पीप जस्तै तरल पदार्थ चुहिन्छ भने निप्पल पनि भित्र गएको हुन्छ । यो समस्या देखिने बित्तिकै जाँच गर्नुपर्ने उनको सुझाव छ । स्तन क्यान्सर के कारण हुन्छ भन्ने यकिन कारण छैन ।
अहिलेसम्मका बिरामीको केश अध्ययन गर्दा पनि अधिकांश वंशाणु भएको पाइएको छ । जसको आमा, हजुर आमामा यो समस्या वा यसैको कारण मृत्यु भएको छ भने त्यस्तो व्यक्तिलाई स्तन क्यान्सर हुन सक्ने सम्भावना धेरै हुन्छ ।
डा. शाक्य हरेक महिलाले महिनावारी हुँदा आफ्नो स्तन वरिपरि आफ्नो हातले छाम्न सल्लाह दिन्छन् । उनी भन्छन्, ‘चार दिन महिलाको स्तन नरम भएको हुन्छ, यो बेला आफ्नै हालको औँलाले स्तन वरिपरी छामछुम पर्दा गिर्खा भएको थाह हुन सक्छ । यदि गिर्खा भएजस्तो लाग्छ भने चिकित्सकको सल्लाह लिहाल्नुपर्छ ।’ स्तन क्यान्सर समयमै उपचार भए सतप्रतिशत निको हुन्छ ।
२०२४ सालमा गरिएको एक अध्ययनले ग्रामिण क्षेत्र भन्दा शहरी क्षेत्रका महिलामा स्तन क्यान्सर बढी देखिएको छ । महिलामा हुने अन्य क्यान्सर मध्ये स्तन क्यान्सर १९ प्रतिशत हिस्सा ओगटेको विज्ञहरू बताउँछन् । विशेषगरी ४० वर्ष पछि देखिन सक्ने भनिएको स्तन क्यान्सर आजभोलि १९÷२० वर्षका युवतीहरूमा पनि देखिन थालेको छ ।
विश्वको तथ्यांक अनुसार प्रत्येक ६ जना मध्ये एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । नेपालमा पनि प्रत्येक वर्ष २० हजार बढी व्यक्तिमा क्यान्सरको पहिचान हुन्छ भने कुल मृत्युको ११.११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरबाट हुने गरेको छ ।
प्रोस्टेट क्यान्सर
महिलामा बिना दुखाइ देखिने स्तन क्यान्सर जस्तै पुरुषमा हुने प्रोस्टेको क्यान्सरको पनि कुनै दुखाइ महसुस हुँदैन । बिना दुखाइ हुने यो रोग नेपाली युवाहरूमा पनि बढ्दै गएको छ । प्रोस्टेट भनेको एक ग्रन्थी हो । जुन पुरुषको प्रजनन् प्रणालीको रुपमा चिनिन्छ । यसले पिसाबको नलीलाई घेरेर राखेको हुन्छ । यो पिसाब थैलीको मुनिको भागमा हुन्छ । यसको काम शुक्राणुलाई पोषण दिने हो । यसले स्वस्थ वीर्य उत्पादन गर्छ भने पिसाबलाई यसैले रेगुलेट गर्छ ।
यो भागमा हुने क्यान्सलाई प्रोस्टेट क्यान्सर भनिन्छ । प्रोस्टे घटबढ भइरहन्छ । यो बढ्दैमा क्यान्सर हुन्छ भन्ने हुँदैन । छिनछिनमा पिसाब गर्न मन लाग्ने, पिसाब गर्न जाँदा नआउने, तुरुक-तुरुक चुहिरहने, सधैं टाढासम्म पर्ने पिसाब आज नजिक पनि नसक्ने वा पिसाबको धार नै परिवर्तन हुँदा प्रोस्टेटमा समस्या भएको मानिन्छ ।
कन्सलटेन्ट युरोलोजिष्ट डा. इशान मल्ल यो समस्या हुने बित्तिकै क्यान्सर हुन्छ भन्ने नहुने बताउँछन् । तर, यस्तो बेला सम्भावना भने धेरै हुनसक्ने बताउँछन् । कहिलेकाँही पिसाबको नलीमा समस्या छ अथवा पिसाबको थैलीमै समस्या छ भने पनि हुँदा यस्तो लक्षण देखिन सक्छ, जुन क्यान्सर हुँदैन । नेपालमा एक लाख व्यक्ति मध्ये करिब २.९ व्यक्तिमा यस्तो समस्या हुने गरेको छ । प्रोस्टेट क्यान्सर अहिले पहिलेको भन्दा बढ्दै गएको छ ।
स्तन क्यान्सर र प्रोष्टेट क्यान्सरको लक्षण उस्तै–उस्तै हुन्छ । प्रोस्टेट क्यान्सर हुँदा पनि दुखाइको कुनै अनुभुती हुँदैन । डा. इशान भन्छन्, ‘स्तन क्यान्सर जस्तै प्रोस्टेट क्यान्सरमा पनि दुखाइ हुँदैन तर जब पिसाबमा रगत देखिन्छ, ढाड दुख्यो, हड्डी दुख्न थाल्यो भने प्रोस्टेट भएर अरु भागमा सरिसकेको हुन सक्छ ।’
उनका अनुसार अस्पतालमा आउने प्रोस्टेटका बिरामी लक्षणदेखि सकेपछि मात्र पुग्छन् । जसको प्रोस्टेट त्यो ठाउँ भन्दा अन्य ठाउँ सरिसकेको हुन्छ । डा. मल्ले यसको एकमात्र उपाय भनेको सन्तुलित आहार र अर्लि टेष्ट रहेको बताउँछन् । ५० वर्ष पुगिसकेका पुरुषहरूले वर्षको एक पटक अनिवार्य जाँच गर्नुपर्छ । जसको परिवारमा यस्तो समस्या देखिएको ति व्यक्तिले ४५ वर्ष पछि अनिवार्य जाँच गर्नुपर्ने उनी बताउँछन् ।
प्रोस्टेट क्यान्सरमात्र नभइ परिवारमा स्तन क्यान्सर, ओभरी क्यान्सर जस्ता कुनै पनि क्यान्सर भएका व्यक्तिले जाँचमा निकै ध्यान दिनुपर्छ । क्यान्सर नसर्ने तर घातक रोग भित्र पर्ने एक गम्भीर प्रकृतिको रोग हो । जुन कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि हो । यो रोग लाग्यो भन्ने सुन्ने बित्तिकै अहिले पनि नागरिक निकै त्रसित हुन्छन् ।
फोक्सो, कलेजो, आन्द्रा, पाठेघर लगायत विभिन्न ठाउँमा क्यान्सर हुन्छ । जस्तोसुकै क्यान्सर भएपनि पैसा र शरीर दुवैलाई क्षति गर्छ । नेपालमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, फोक्सो, आन्द्रा, आमाशय लगायतका विभिन्न किसिमका क्यान्सर भएका बिरामीहरू पाइन्छन् । नेपालमा सबैभन्दा पुरुषमा फोक्सो क्यान्सर हुने गरेको छ ।
अन्क्लोजिष्ट डा. रजनी झा नेपाली महिलामा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर देखिने गरेको बताउँछिन् । अहिले पाठेघरको क्यान्सर भन्दा स्तन क्यान्सर महिलामा बढी देखिने गरेको छ ।
पाठेघरको मुखको क्यान्सर
पुरुषमा देखिने प्रोस्टेट क्यान्सर महिलामा देखिने स्तन क्यान्सर जस्तै पाठेघरको मुखको क्यान्सरको पनि सुरुवाती लक्षण थाह हुँदैन । जब फैलिसकेको हुन्छ त्यसपछि मात्र लक्षण देखिन्छ । पाठेघरको मुखको क्यान्सर गर्भाशय र यौनी बिचको भागमा हुन्छ । यो हर्मन प्यापीलोमा भाइरस (एचपिभी)को संक्रमणबाट लाग्छ । सबै प्रकारका एचपिभी क्यान्सर हुँदैनन् तर केहीले सर्भाइकल क्यान्सर गराउने सम्भावना हुन्छ । पाठेघरको मुखको क्यान्सर यौन सम्पर्कका कारण हुने रोग हो । कलिलो उमेरमै बिहे भएका महिलामा यो क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
डा. झा भन्छिन्, ‘१४,१५ वर्षको उमेरमा सम्पर्क राख्दा, हर्मोनल एक्टिभिटीज धेरै हुन्छ, यस्तो उमेरमा यो रोग लाग्ने सम्भावना धेरै हुन्छ, जसका कारण यो रोगको जोखिममा सबैभन्दा धेरै किशोरीहरू हुन्छन् ।’
अर्को जोखिममा पर्ने समूह भनेको धेरै जनासँग यौन सम्पर्क गर्ने महिलालाई हुन्छन् । एउटा महिलाले धेरै साथी बनाएर सम्बन्ध राख्दा उसलाई पनि यो क्यान्सरका सम्भावना धेरै हुन्छ भने गर्भ निरोधक चक्की पिल्स धेरै खाँदा पनि क्यान्सर हुने सम्भावना हुन्छ । प्रजनन अंग सफा नराख्ने, प्याडको प्रयोग नजान्दा पनि यो समस्या हुन्छ ।
१० जना सर्भाइकल क्यान्सर भएका महिला मध्येमा ९ जना एजपिभी संक्रमण देखिएको छ । खोप लगाउँदा ९० प्रतिशत बच्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर हुँदा पनि सुरुमा कुनै दुखाइ हुँदैन । तर रोग फैलिसकेपछि लक्षण भने देखा पर्छन् ।
सर्भाइकल क्यान्सर भएका महिलामा रगत बग्ने र फोहोर गन्हाउने पानी बग्छ । महिलाहरू प्रत्येक महिनामा महिनावारी हुन्छन् । कहिलेकाँही दुईटा महिनावारीको बीचमा पनि महिनावारी जस्तै रगत बग्यो रगत चोक्टा चोक्टा आउने, गन्हाउने छ भने सचेत रहनुपर्छ । अर्को यौन सम्पर्क गरिसकेपछि महिलामा रगत बग्छ तर रोकिएको छैन भने पनि सचेत हुनुपर्छ । महिनावारी सुकेका महिलाहरूमा पनि महिनावारी जस्तै रगत आयो भने पनि सचेत हुनुपर्छ । कहिलेकाँही तल्लो पेट दुख्ने, तौल घट्ने, खाने रुचि घट्ने लक्षण हुँदा पनि शंका गर्नुपर्ने ठाउँ हुन्छ ।
डा. झा महिलाको जति उमेर बढ्दै जान्छ त्यति क्यान्सर हुने सम्भावना धेरै हुने बताउँछिन् । यस्तो लक्षण परेको छ भने चिकित्सकको सल्लाहमा अनिवार्य गर्नुपर्ने बताउँछिन् ।
कतिपय ग्रामीण क्षेत्रका महिला दिदी बहिनी यस्तो समस्या लिएर आउनुहुन्छ,’ डा. झा भन्छिन्, ‘उहाँहरूलाई पानी कहिलेदेखि बगेको हो, रगत कहिलेदेखि बग्न सुरु गरेको हो भनेर सोध्दा चार पाँच वर्ष पहिलेदेखि भएको बताउँछन्, यस्तो अवस्थामा पनि महिलाहरू अस्पताल नआउँदा यो समस्या जटिल बन्छ ।’
नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरी गोपाल प्रधान क्यान्सर रोग उपचार गर्दा निको हुने भएपनि आर्थिक भार बढी पर्ने भएकाले समस्या हुने गरेको बताउँछन् । उनी सरकारले हरेक नागरिकलाई उपचार गर्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताउँछन् । उनि भन्छन्, ‘धेरै जसो व्यक्तिले आर्थिक अभावमै ज्यान गुमाउनुपरेको छ । हाल दिइरहेको सहुलियतलाई बढाएर पाँच लाखसम्म दिन सक्यो भने पनि धेरै राहत हुने थियो ।’
उनी क्यान्सरका बिरामीलाई सरकारले दिँदै आएको सहुलियत पाँच लाखसम्म पुर्याउनु पर्ने बताउँछन् । क्यान्सर ढिलो गरी मात्र थाह हुने भएकोले यसको उपचार निकै महँगो हुने गर्छ । लामो समय अस्पताल धाइराख्नु पर्ने अवस्थामा पैसा नहुँदा आर्थिक अवस्था विपन्न भएका नागरिकले समस्या झेलिरहेका छन् । चिकित्सकहरू भने जस्तोसुकै क्यान्सरको पनि नेपालमै उपचार सम्भव भएकाले क्यान्सर रोग देखिँदैमा डराउन नपर्ने बताउँछन् । हाम्रो समाजमा क्यान्सर लाग्यो भन्ने बित्तिकै अब बाँच्दैन भन्ने मानसिकता रहेकाले यो भ्रमबाट मुक्त हुनुपर्ने बताउँछन् ।