बुटवल । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले थुनामुक्त गराउन माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् ।
राजनीतिक प्रतिशोधका आधारमा आफूलाई थुनामा राखिएको दाबी गर्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । निवेदनमा उनले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंकमा जमानत राखेर थुनामुक्त हुन पाउनुपर्ने उल्लेख छ ।
रास्वपाको केन्द्रीय सचिवालयका अनुसार यो निवेदन साउन १९ गते अदालतमा दर्ता गरिएको भए पनि विषयलाई तीन दिनसम्म सार्वजनिक गरिएको थिएन । पार्टीका रुपन्देही जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले बिहीबार मात्रै निवेदनबारे जानकारी पाएको बताएका छन् ।
लामिछाने हाल रुपन्देही कारागारमा चैत २५ गतेदेखि थुनामा छन् । उनलाई काठमाडौं सरुवा गराउने प्रयास भएको भए पनि गृह मन्त्रालयले रोकेको थियो ।
यसअघि जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उच्च अदालतले उक्त आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिएको थियो ।
निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार अदालतले धरौटी, जमानत वा बैंक जमानतमा अभियुक्तलाई थुनामुक्त गराई तारिखमा राख्न सक्ने कानुनी व्यवस्था उल्लेख गर्दै त्यसै आधारमा रिहा गरिनुपर्ने माग गरिएको छ ।
रविले यसअघि पनि सोही प्रकरणमा ८४ दिन हिरासतमा बसेपछि रिहा भएका थिए भने त्यसपछिका २५ दिनमात्र बाहिर बसेका थिए ।