जनै फेरेर पशुपतिनाथमा पवित्रारोहण गरिँदै

काठमाडौं । श्रावण शुक्ल चतुर्दशीका अवसरमा आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । आराध्य देव भगवान पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ ।

पशुपति क्षेत्र विकास कोष अन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नव यज्ञोपवीत धारण गराउने गर्छ । कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए ।

पशुपति क्षेत्रमा सञ्चालन हुने सबै जात्रा, पर्वको सञ्चालन गर्ने काम पनि अमालकोट कचहरीले नै गर्ने गरेको छ ।​​​​​​भगवान पशुपतिनाथलाई आज नयाँ जनै फेरेपछि उनी गोसाइँकुण्डमा जाने विश्वास पनि पशुपति क्षेत्रका ज्येष्ठ नागरिकले सुनाउने गरेका छन् ।

आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर रक्षा बन्धन गर्ने सनातनी परम्परा रहे पनि पशुपतिनाथलाई भने त्यसको एक दिनअघि नै नयाँ जनै फेराउने गरिएको हो ।

Share News