नाइमा एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको व्यवसायीको दाबी, बुकिङ र अवलोकनकर्ताको ‘रेस्पोन्स’ ले मक्ख

काठमाडौं । शनिबारको मुसलधारे पानीले राजधानीको सडक अस्तव्यस्त बनाइरहँदा भृकुटीमण्डपभित्र भने अर्कै रौनक थियो । विगतका वर्षहरुमा पानी पर्नेबित्तिकै बिथोलिने प्रदर्शनी यस पटकको नाइमा मोबिलिटी एक्स्पोमा भने कुनै असर परेन । 

स्थापनाको पहिलो वर्षमै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२५ ले अपेक्षाभन्दा निकै माथिको सफलता पाएको अवलोकनकर्ताहरु बताउँछन् ।

अवलोकनकर्ताको उर्लंदो भीड र सहभागी व्यवसायीहरूको मागलाई सम्बोधन गर्दै आयोजक नाइमाले एक्स्पोको अवधि एक दिन थपेर ६ दिनको कायम गरेको छ । 

विगतका अटो शोहरूमा पानी पर्नासाथ हिलो र अव्यवस्थाको सामना गर्नुपर्ने अनुभव संगालेका अवलोकनकर्ताहरूका लागि यो पटकको नाइमा एक्स्पो नितान्त फरक रहेको अनुभव सुनाउँछन् । नाइमा मोबिलिटीमा अवलोकन गर्न पुगेका  प्रवेश कुवंरका विगतका नाडा अटो शोहरुमा पानी पर्दा पुरै खुट्टा हिलै हिलोले पुरिन्थ्यो । तर यसपटक त्यस्तो अवस्था नभएको उनी सुनाउँछन् । 

उनले भने,  ‘यसपटको अटो शो धेरै व्यवस्थित छ । पानी परेर पनि हामी भिजेनौं । स्टलभित्र छिर्ने बाटोहरुमा जताततै कार्पेट ओछ्याएको छ । माथि पालको छानो छ । ठाउँठाउँमा पंखाहरु छन् । भित्रछिर्ने बाटोका दुई लेन छन् । खाजा खानेदेखि प्रत्येक स्टलहरुमा पानीको व्यवस्था छ । यसपटको अटो शो विगतका भन्दा व्यवस्थित छ ।’

फराकिलो र आकर्षक स्टल, हलहरू जोड्ने र ढाकिएका बाटा र हिलोमुक्त परिसरले आगन्तुकलाई सहजता प्रदान गरिरहेको नाइमाले दाबी गरेको छ । 

नाइमाकी अध्यक्ष तथा वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्री एण्ड ट्रेडिङ हाउसकी प्रबन्ध निर्देशक रितु सिंह वैद्यका अनुसार यसपटक स्टलहरू ठूला छन् र व्यवस्थापन उत्कृष्ट छ ।

‘यो प्रदर्शनी ह्वीलचेयरमैत्री पनि छ । अशक्तता भएका व्यक्तिहरू पनि सहजै घुम्न सक्नुहुन्छ । एकै छानामुनि ५० वटा ब्रान्ड भएको यस्तो प्रदर्शनी अहिलेसम्म भएको थिएन,’ उनले भनिन् ।

null

एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको उनको भनाइ छ । उनले ग्राहकको रेस्पोन्सले आफूहरु खुसी भएको सुनाइन् । उनले एक्स्पोमा सवारी साधन बुकिङको आधिकारिक तथ्यांक आइनसकेको भएपनि एक हजार बढी सवारी साधन बुकिङ भएको अनुमान रहेको सुनाइन् । 

जी अटोमोबाइल्सका सञ्चालक आकाश गोल्छाले स–सानो कुराले गर्दा एक्स्पो फरक र उत्कृष्ट बनेको बताए ।

यसपटकको एक्स्पोमा घुम्न र रमाइलो गर्न आउनेभन्दा पनि गाडी किन्ने वा बुझ्ने मनसाय बोकेका गुणस्तरीय ग्राहकको उपस्थिति बाक्लो देखिएको लक्ष्मी ई–मोबिलिटीका प्रबन्ध निर्देशक दीपक थपलियाले बताए । 

‘यसपटकका ग्राहकहरू पहिलादेखि नै गाडीबारे अध्ययन गरेर, बुझेर आएका छन् । धेरै कुरा इन्टरनेटमा हेरेर थाहा पाइसकेका हुन्छन् । त्यसैले उहाँहरूसँग कुरा गर्न पनि सहज भएको छ,’ थपलियाले थपे ।

नाडाका पूर्व अध्यक्ष धु्रव थापा पनि विगतको तुलनामा यस पटक उत्कृष्ट भएको बताउँछन् । ‘पहिले विद्यार्थीहरूको भीड बढी हुन्थ्यो, तर अहिले साँच्चिकै सवारीसाधनमा रुचि राख्ने र खरिद गर्न चाहनेहरूको उपस्थिति बढेको छ । यसले बुकिङमा समेत सकारात्मक प्रभाव पारेको छ,’ उनले भने । विशेषगरी विद्युतीय सवारी (इभी) प्रति मानिसहरूको आकर्षण बढेको उनको अनुभव छ । 

यस्तै, यार्डियाका सेल्स एन्ड मार्केटिङ प्रमुख भिजन कोइरालाले पनि शनिबार ‘पोटेन्सियल बायर’ हरूको फ्लो निकै राम्रो रहेको र १०/१५ वटा स्कुटर नगदमै बुकिङ भएको बताए ।

एक्स्पोको उद्देश्य तत्काल गाडी बेच्नु मात्र नभएर ब्रान्डिङ गर्ने, सही जानकारी दिने र ग्राहकसँग सम्बन्ध स्थापित गर्नु पनि हो । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले भने, ‘यो सेलिङ स्पट मात्र होइन । यो मानिसहरूलाई सबै उत्पादन एकै ठाउँमा हेर्ने, तुलना गर्ने, अध्ययन गर्ने र भविष्यका लागि निर्णय लिने प्लेटफर्म हो । ’

यो एक्स्पोले दशैंको माहोललाई समेत अगाडि नै भित्र्याएको छ । ‘हाम्रो ट्यागलाइन नै दशैंको सुरुवात नाइमाबाट भन्ने थियो । शिथिल अर्थतन्त्रमा यसले एउटा सकारात्मक भाइब्रेन्सी ल्याएको छ,’ नाइमा आयोजक समितिका सदस्य तथा एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने । 

null

नाइमाका मार्केटिङ तथा मिडिया कन्सल्टेन्ट प्रतिक अर्यालले भने, ‘हाम्रो होडबाजी यति बेच्यौँ वा यति बुकिङ भयो भन्नेमा हुँदै होइन । हाम्रो मुख्य लक्ष्य उपभोक्ताले यहाँ आएर दुःख होइन, रमाइलो अनुभव गरेर फर्कनुहोस् भन्ने हो ।  हामीले टिकटको लाइन, पार्किङ, पानीको समस्या जस्ता विगतका पीडालाई समाधान गर्न खोजेका हौं ।’

एक्स्पो भव्य रूपमा सफल भए पनि यसले काठमाडौंको कमजोर प्रदर्शनी पूर्वाधारलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ । अधिकांश सहभागी र आयोजकहरू भृकुटीमण्डपको पुरानो संरचना अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीका लागि अपर्याप्त भएको स्वीकार्छन् ।

‘सबैभन्दा ठूलो चुनौती नै प्रदर्शनी स्थल हो, यहाँ न राम्रो पार्किङ छ, न त वातानुकूलित हल नै । हामीले जसोतसो टालटुल गरेर व्यवस्थापन गरेका हौं, ’ उनले सरकारलाई आग्रह गर्दै हात जोडेर बिन्ती छ, नेपाली ग्राहकलाई सुहाउँदो पूर्वाधार सरकारले उपलब्ध गराइदिए अझै राम्रो हुन्थ्यो,’ निर्देशक शारडाले भने ।

यद्यपि, अर्थमन्त्री विष्णु पौडेलले बजेट छुट्याएर तीन वर्षभित्र नयाँ हल बनाउने घोषणा गरेकाले व्यवसायीहरू आशावादी छन् । पहिलो प्रयासमै नाइमा मोबिलिटी एक्स्पो २०२५ ले नेपाली अटोमोबाइल क्षेत्रमा एउटा नयाँ मानक स्थापना गरेको व्यवसायीको दाबी छ । 

Share News