अन्तिम सोमबार चन्द्रागिरी भालेश्वरमा महाआरती आयोजना हुने, केवलकार टिकट ४ सय मात्र

काठमाडौं । साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा भक्तिमय उत्सव तथा महाआरती आयोजना हुने भएको छ । साउन महिनाको पवित्रता र महादेवको महिमा उजागर गर्ने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा भजन–कीर्तन सञ्चालन हुनेछ भने साँझ ६ः३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ । भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै चन्द्रागिरी हिल्सले सोमबारका लागि केबलकारमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । साथै साँझ ४ बजेपछि टिकट मूल्य मात्र ४०० रुपैयाँ रहने आयोजकले जनाएको छ ।

यसअघि साउन महिनाका तीनै सोमबार विशेष कार्यक्रम र महाआरती सम्पन्न भइसकेका छन् । भक्तजनहरूको उत्साहजनक सहभागिताका कारण अन्तिम सोमबारलाई भक्तिमय उत्सवका रूपमा मनाउने निर्णय गरिएको हो । चन्द्रागिरी हिल्सले सबै श्रद्धालुहरूलाई समयमै उपस्थित भई दर्शन, भजन र महाआरतीमा सहभागी भई अध्यात्मिक ऊर्जा प्राप्त गर्न आमन्त्रण गरेको छ ।

Share News