काठमाडौं । युनिलिभर नेपालले आफ्ना प्रमुख हेयर केयर ब्रान्ड ‘क्लियर’ मार्फत इङ्लिस प्रिमियर लिगलाई नेपाली दर्शकमाझ प्रत्यक्ष रूपमा ल्याउने रोमाञ्चक सहकार्यको घोषणा गरेको छ । यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिविम्ब हो ।
युनिलिभरको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहँदै आएको छ, जसमा २०२६ को फिफा वल्र्ड कपसहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समावेश छन् । यस्ता सहकार्यहरूले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन मद्दत पुर्याउने कम्पनीको विश्वास छ ।
इपीएल साझेदारीअन्तर्गत, क्लियरले विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको छ। अब नेपाली दर्शकहरूले कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष रूपमा रोमाञ्च अनुभव गर्न सक्नेछन् ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले नेपाली दर्शकमाझ ल्याउन पाउँदा गर्व लागेको बताए । 'फुटबल केवल खेल मात्र नभई साझा भावना हो, जसले सीमाना नाघेर मानिसहरूलाई जोड्छ,' उनले भने । कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वरले पनि यो सहकार्यलाई नेपाली दर्शकका लागि उच्चस्तरीय फुटबल मनोरञ्जन उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।