काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकालाई नमुना नगरको रूपमा विकास गर्ने आफ्नो संकल्प दोहोर्याएका छन् ।
शनिबार कागेश्वरी मनोहरा–९ कांडाघारीस्थित शिव सुन्दर टोल सुधार सेवा समाजको सातौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मेयर कार्कीले शिक्षा, स्वास्थ्य, खानेपानी, उद्यमशीलता र रोजगारीलाई प्राथमिकतामा राखी नगरपालिका अगाडि बढाइरहेको जानकारी दिए ।
उनले नगरकै मुख्य समस्या खानेपानी भएको उल्लेख गर्दै संघीय र प्रदेश सरकारको सहकार्यमा चालु आर्थिक वर्षमै सबै टोलमा खानेपानी पुर्याउने प्रतिबद्धता जनाए ।
शिक्षा सुधारका लागि विशेष कार्यक्रम अघि सारिएको र स्वास्थ्यतर्फ सुविधासम्पन्न अस्पताल निर्माण र दक्ष चिकित्सकमार्फत सेवा उपलब्ध गराउन पहल भइरहेको उनको भनाइ थियो । मेयर कार्कीले स्वास्थ्य बीमा अभियानलाई टोल समाजमार्फत जनस्तरसम्म पुर्याउन आग्रह पनि गरे ।
नगरमा उद्यमशीलताको प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्ने योजनाबारे जानकारी दिँदै उहाँले टोल समाजमार्फत स्टार्टअप कार्यक्रम अघि बढाउने तयारी रहेको बताए ।
नगरपालिकाले अघि सारेका आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकुदलगायतका योजनालाई सफल बनाउन टोल सुधार समाजको सक्रियता आवश्यक रहेको भन्दै उहाँले सहकार्यका लागि आह्वान गरे ।
सो अवसरमा मेयर कार्कीले समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर बुढाथोकी र संस्थापक उपाध्यक्ष भोजराज आचार्यलाई सम्मानपत्र प्रदान गरे । साथै करिब २७ जनालाई आजीवन सदस्यता प्रमाणपत्र हस्तान्तरण गरियो । संस्थाले हालसालै पाँच हजार रुपैयाँ एकमुष्ठ तिरेर आजीवन सदस्य बन्ने योजना अघि सारेपछि धेरै टोलवासी आकर्षित भएको समाजले जनाएको छ ।
कार्यक्रममा नगरपालिकाका पूर्व मेयर कृष्णहरी थापाले खानेपानी समस्याको समाधानका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए । अध्यक्ष रणबहादुर कार्कीले गत वर्ष सम्पन्न कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्दै नयाँ वर्षका योजनामा नगरपालिकाको सहयोग अपेक्षा गरे ।
सहसचिव विदुरचन्द्र लामिछानेले स्वच्छता, शिक्षा, सीप, आत्मनिर्भरता र सूचना प्रविधिको उपयोगमा समाजले जोड दिनुपर्ने धारणा राख्दै खानेपानी समस्यालाई प्राथमिकतामा राख्न आग्रह गरे ।
कार्यक्रममा विभिन्न टोल सुधार समाजका प्रतिनिधि, स्थानीय अगुवा र टोलवासीको उपस्थिति रहेको थियो ।