चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई निःशुल्क सीप विकास तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिंदै महानगरस्तरीय तथा वडा स्तरमा वैदेशिक रोजगार बोर्डको सहकार्यमा सञ्चालन गरिएका तालिममा पुरुष २ हजार ५९१ र महिला ४ हजार ६५० जनाले सहभागिता जनाएका थिए ।
महानगरको रोजगारी शाखाका अनुसार तालिममा प्लम्बिङ, केयर गिभर, मण्टेश्वरी, फेसन डिजाइन, इलेक्ट्रिसियन, ग्राफिक डिजाइन, ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाको आन्तरिक क्षमता वृद्धि, बुटिक, पोते, कौसी खेती, पञ्चेबाजा, मादल तथा खैंजडी, झोला, जुत्ता–चप्पल, अचार बनाउनेजस्ता सीप समावेश थिए। यस्तै, कृषि, बेकरी, साबुन, सरफ, भाँडा धुने झोल, फिनेल, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेकलेस, चुरा, ड्राइभिङ, एडभान्स ब्युटी पार्लर, कुक, सेनेटरी प्याड बनाउनेलगायत तालिम पनि सञ्चालन गरिएको थियो ।
यी तालिमहरू १५ दिनदेखि ३ महिना अवधिसम्म सञ्चालन गरिएको महानगरले जनाएको छ । श्रमलाई उत्पादनसँग जोड्दै सीप नभएकालाई सीपयुक्त बनाउन, सीप भएकालाई रोजगारी तथा स्वरोजगारमा प्रवर्द्धन गर्न र सीपयुक्त भए पनि व्यावसायिक स्तर नपुगेकालाई सुदृढ बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले पूर्वाधार निर्माणसँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग बढेकाले निःशुल्क तालिमलाई प्राथमिकता दिएको बताइन् । 'यहाँका उद्योग, कलकारखाना लगायतका क्षेत्रमा भारतसहित अन्य देशबाट दक्ष जनशक्ति ल्याउनुपर्ने बाध्यता छ । त्यसलाई हटाउन हामी आफ्ना युवालाई सीपयुक्त बनाउँदैछौं,' प्रमुख दाहालले भनिन् ।
उनका अनुसार तालिममार्फत युवालाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको लक्ष्य रहेको छ । महानगरले आगामी आर्थिक वर्षमा निःशुल्क तालिम कार्यक्रमलाई अझ विस्तार गर्ने योजना बनाएको पनि जनाएको छ ।