तेल्या इँटा बिछ्याए पछि पाटन दरबार क्षेत्र थप आकर्षक, लागत डेढ करोड रुपैयाँ

काठमाडौं । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्य पूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याए पछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ ।

महानगरपालिकाले करिब १ करोड ५२ लाख रुपैयाँ लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीयस्तरमै उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याउने कार्य सम्पन्न गरेको हो । यो इँटा मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको इँटा हो, जुन बलियो, टिकाउ र सौन्दर्य पूर्ण मानिन्छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनका अनुसार तेल्या इँटा रैथाने इँटा हो, यो निकै चम्किलो र बलियो हुन्छ । पुरानो इँटा काम नलाग्ने भएकाले सम्पदा संरक्षणका लागि नयाँ तेल्या इँटा बिछ्याएका उनले बताए ।

नगर प्रमुख महर्जनका अनुसार तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो । त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ, जसले पानी जम्न नदिने र सफा देखिन्छ । इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्लो भएको छ ।

स्थानीय उपेन्द्रकुमार श्रेष्ठले महानगरपालिकाले अत्यन्त सकारात्मक काम गरेको प्रतिक्रिया दिए । 

‘पुरानो इँटाका कारण पाटन दरबार क्षेत्र फोहर देखिन्थ्यो । अहिले त निकै चम्किलो र सफा देखिन्छ । सफा गर्न पनि सजिलो छ, पानी जम्ने समस्या पनि छैन । निकै राम्रो काम भएको छ,’ उनले भने ।

महानगरले यस किसिमका कार्यमार्फत ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय आकर्षण बढाउने प्रयास गरेको देखिन्छ । दरबार क्षेत्रको मर्मत र पुनर्निर्माणलाई निरन्तरता दिइरहेको महानगरले भविष्यमा पनि यस क्षेत्रको मौलिकता जोगाउने प्रतिबद्धता जनाएको छ । 

Share News