काठमाडौं । सिंगापुरका अर्बपति गोह चेंग लियाङ अहिले संसारमा छैनन् । उनले आफ्नो निधनअगाडि ठूलो निर्णय गरे । गोहले आफ्नो सम्पत्ति आफ्ना छोराछोरीलाई नभई आफ्ना ६ नाति–नातिनीलाई दिए । यसबाट उनका नाति–नातिनीहरू एकै रातमा अर्बपति बनेका छन्।
गोह चेंग लियाङ निप्पन पेन्टका संस्थापक थिए । उनले किन आफ्ना सन्तानलाई नदिई नातिरनातिनिलाई किन दिए भन्नेबारे अहिले विश्वभर चासो र चर्चा पैदा गरेको छ ।
गोह चेंग लियाङ निप्पन पेन्टका दक्षिणपूर्व एसियाका संस्थापक थिए । गत अगस्टमा ९८ वर्षको उमेरमा उनको निधन भएको थियो । उनले आफ्ना १३.२ अर्ब डलर (१८६४३३.६ करोड रुपैयाँ) बराबरको सम्पत्ति आफ्ना ६ नाति–नातिनीलाई सिधै दिएका हुन् । आफ्ना छोराछोरीलाई भने यस सम्पत्तिबाट अलग राखेका छन् । यस निर्णयले उनका नाति–नातिनीहरू एकै रातमा अर्बपति बने ।
उनीहरूलाई निप्सी इन्टरनेशनलमा हिस्सेदारी दिइएको छ । यद्यपि दोस्रो पुस्ताका परिवारका सदस्यहरूले मतदान अधिकार भने आफ्नै हातमा राख्नेछन् । यसरी कम्पनीमा नियन्त्रण कायम रहनेछ र उत्तराधिकार योजना व्यवस्थित रूपमा अगाडि बढ्नेछ ।
गोह चेंग लियाङ सिंगापुरका ठूला व्यापारी थिए । उनले निप्पन पेन्टलाई एसियामा ठूलो कम्पनी बनाएका थिए । उनको निधनपछि सम्पत्ति कसरी बाँडिने भन्ने विषयमा धेरै अड्कलबाजी भएको थियो । तर उनले सम्पत्ति बाँड्ने तरिकाले धेरैलाई चकित पार्यो ।
सामान्यतया एसियाली व्यवसायमा सम्पत्ति दोस्रो पुस्तालाई दिइन्छ । तर गोह चेंग लियाङले त्यसो गरेनन्। उनले आफ्ना नाति–नातिनीलाई सिधै सम्पत्ति दिएका छन् । यसबाट उनका ६ नाति–नातिनी अर्बपति बनेका छन् । उनीहरूले निप्सी इन्टरनेशनलमा १ अर्ब डलरभन्दा बढीको हिस्सेदारी पाएका छन् । यो कम्पनी एशिया–प्यासिफिक क्षेत्रमा पेन्ट उत्पादन गर्ने सबैभन्दा ठूलो कारोबार गर्ने कम्पनी हो।
गरिबीबाट अर्बपतिसम्मको यात्रा
गोह चेंग लियाङको कथा गरिबीबाट अर्बपतिसम्म पुग्ने यात्राको कथा हो । उनले धेरै कम स्रोतसाधनबाट आफ्नो यात्रा सुरु गरेका थिए । उनले वुथेल्म होल्डिङ्स स्थापना गरेका थिए । यो कम्पनी निप्पन पेन्ट होल्डिङ अफ जापानको सबैभन्दा ठूलो सेयरधनी बन्यो । उनको नेतृत्वमा निप्सी एसियामा पेन्ट उद्योगको ठूलो शक्ति बन्यो ।
एक समयमा निप्पन पेन्ट होल्डिङ जापानको सबैभन्दा ठूलो पेन्ट कम्पनी थियो । यो एसियाकै सबैभन्दा मूल्यवान कम्पनीहरूमध्ये एक थियो । यद्यपि पछिल्ला वर्षहरूमा बजारमा उतार–चढावका कारण परिवारको सम्पत्ति केही घटेको थियो । तर गोह चेंग लियाङ आफ्नो मृत्यु हुँदासम्म सिंगापुरका दोस्रो सबैभन्दा धनी व्यक्ति बने रहे ।
वुथेल्म होल्डिङ्सले गत डिसेम्बरमा निप्पन पेन्ट होल्डिङ्समा रहेको ५५ प्रतिशत हिस्सेदारी गोहका ६ नाति–नातिनीलाई ट्रान्सफर गर्यो । यसले एकैपटक धेरै अर्बपति बनायो । अप्रिल गोहलाई सबैभन्दा ठूलो हिस्सा प्राप्त भयो । यसको मूल्य करिब ३.४ अर्ब डलर छ ।
अप्रिल कोलम्बिया विश्वविद्यालयको चाइना सेन्टर फर सोसल पोलिसीका फेलो हुन् । उनले वित्त (फाइनान्स) अध्ययन गरेकी छिन् । लैंगिक हिंसाविरुद्ध काम गरेकी छिन् । उनले आफ्ना दाजुभाइ–बहिनीको सम्पत्ति पनि व्यवस्थापन गर्छिन्। यसले परिवारको सम्पत्तिमा उनको भूमिका अझै महत्त्वपूर्ण बनाउँछ ।
शार्लोट, हेनरिटा र भिक्टोरिया– जो गोह हप जिनकी छोराछोरी हुन् – तिनीहरूले पनि करिब १.१ अर्ब डलर बराबरका सेयर पाएका छन् । शार्लोटले बालीमा एउटा फाउन्डेशन सह–स्थापना गरेकी छिन् । यो फाउन्डेशनले गरिब बालबालिकालाई छात्रवृत्ति, स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउँछ ।
गोहकी छोरी चियाट जिन लामो समयदेखि गोह फाउन्डेशनसँग संलग्न छिन् । यो फाउन्डेशन १९९५ मा शिक्षा र मेडिकल अनुसन्धानलाई सहयोग गर्नका लागि स्थापना गरिएको हो । उनका छोरा मार्टिन युएन–आन लाउ सस्टेनिर एग्रिकल्चरका सह–संस्थापक हुन् । यो एक भर्टिकल फार्मिङ स्टार्टअप हो जसलाई टेमासेकको समर्थन प्राप्त छ ।
छोराछोरीलाई प्रत्यक्ष रूपमा केही पनि दिएनन्
यस सम्पत्ति ट्रान्सफरको सबैभन्दा विशेष पक्ष भनेको गोह चेंग लियाङका छोराछोरीलाई प्रत्यक्ष रूपमा हिस्सेदारी नदिइनु हो । यसको सट्टा उनीहरूले केही मतदान अधिकार र प्रभाव भने कायम राखेका छन् । गोह हप जिनसँग निप्सी इन्टरनेशनलमा ९१ प्रतिशत मतदान अधिकार छ । यसले सुनिश्चित गर्छ कि तेस्रो पुस्ताले सम्पत्ति पाएपछि पनि कम्पनीमा नियन्त्रण दोस्रो पुस्ताकै हातमा रहिरहनेछ ।
विशेषज्ञहरूका अनुसार यो उत्तराधिकारको राम्रो योजना हो । यसले कम्पनीमा नियन्त्रण कायम राख्छ र सम्पत्ति बाँडफाँट पनि सुनिश्चित हुन्छ । परिवारका सम्पत्ति विज्ञहरूका अनुसार एसियाली परिवारहरूमा प्रायः सम्पत्ति परिवारका प्रमुखसँगै बाँधिएको हुन्छ ।
नाति–नातिनीलाई प्रत्यक्ष रूपमा सम्पत्ति दिने चलन बिरलै देखिन्छ । यस्तो प्रायः त्यही परिवारमा हुन्छ जहाँ छोराछोरी पहिले नै आर्थिक रूपमा सुरक्षित हुन्छन् वा परिवारका प्रमुखले आफ्नो सम्पत्ति सिधै तेस्रो पुस्तामा हस्तान्तरण गर्न चाहन्छन् ।
गोह चेंग लियाङ एक साधारण जीवन बिताउने व्यक्ति थिए । उनी आफ्नो निजी जीवनलाई सार्वजनिक दृष्टिबाट टाढा राख्थे । उनी मिडियामा पनि कमै देखिन्थे । उनलाई बोटिङ र माछा मार्ने रुचि थियो । उनको लग्जरी याचको ठूलो कलेक्शन थियो । ८४ मिटरको ‘ह्वाइट र्याबिट गल्फ’ उनको सबैभन्दा विशेष याच थियो । उनको परिवारका अन्य सदस्य पनि प्रायः मिडिया इन्टरभ्यू र सार्वजनिक बयानहरूबाट टाढा रहन्छन् ।